काठमाडौं । अस्तव्यस्त बन्दै गएको काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधार देखिन थालेको छ ।
उपत्यककामा साझा यातायातको प्रवेशसँगै निजी क्षेत्रका गाडीहरुले सुविधासम्पन ठूला गाडी भित्र्याउने क्रम बढेपछि उपत्यकाको सार्वजनिक यातायात सुधार देखिन थालेको हो ।
काठमाडौंका सडकमा साझा यातायात पुनः संचालन आउँनुपूर्व चक्रपथ भित्रका सडकमा ठूला गाडीहरुको उपस्थिति थिएन । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरु सानो गाडीमा भेडा- ब्राख्रा झैं कोचिएर यात्रा गर्न बाध्य थिए ।
साझा यातायात एकलैले काठमाडौंको सबै जनतालाई यातायात सुविधा दिन सम्भव छैन, त्यसका निजी कम्पनीहरु पनि आउन आवश्यक छ ।
साझा यातायातले २०६९ चैत देखि पुनः नियमित रुपमा काठमाडौंको सडकमा यातायात सेवा दिन थालेको हो । साझाका नयाँ बस लामो, सिट संख्या धेरै र उभिएर यात्रा गर्नेका लागि पनि प्रयाप्त खाली ठाउँ भएकाले यात्रा सहज हुन पुगेको छ ।
सहकारी संस्था अन्तरगतको साझा यातायातले स्तरीय सुविधा दिन थालेपछि काठमाडौंका सडकमा निजी कम्पनीहरु पनि ठूला गाडीका माध्यमबाट सेवा दिन थालेका छन् ।
साझाको पूनः उदयपछि निजी गाडीहरुले पनि यात्रुलाई सुविधा दिएर आम्दानी गर्न बाध्य भएका हुन् ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डे काठमाडौंका जनताले सार्वजनिक यातायातमा निकै कष्टपूर्ण यात्रा गर्न बाध्य भएको महसुस गरेर साझा यातायातलाई पुनः ब्युझाउनु परेको बताउँछन् ।
‘यात्रुलाई सुविधा दिनका लागि साझा यातायात पुनः ब्युत्याँइएको हो, साझाको सफलता र लोकप्रियता देखेपछि निजी क्षेत्रबाट पनि ठूला र सुबिधासम्पन्न गाडी आउन थालेका छन्, यो राम्रो हो,’ पाण्डेले क्लिमाण्डूसँग भने ।
अहिले नेपाल यातायातको रुटमा सुविधासम्मन्न सिटी मेट्रो गड्न थालेपछि नेपाल यातायात पनि नयाँ बस थप्ने तयारीमा छ ।
‘साझा यातायात एकलैले काठमाडौंको सबै जनतालाई यातायात सुविधा दिन सम्भव छैन, त्यसका निजी कम्पनीहरु पनि आउन आवश्य छ,’ पाण्डेले थपे ।
काठमाडौंमा थपिएका नयाँ गाडीहरु
साझा यातायात पछि काठमाडौंमा सुविधा सम्पन्न गाडी थप्नेमा महानगर यातायात दोश्रो कम्पनी हो । महानगर यातायातले २०७२ चैत ३० देखि ३९ वटा गाडीका माध्यबाट चक्रपथमा सेवा सुरु गरेको छ । महानगर यातायाताको प्रवेशपछि अन्य निजी यातायात व्यवसायीले पनि सुविधासम्मन्न गाडीका माध्यमबाट काठमाडौंमा सेवा सुरु गरेका छन् ।
४२ सिट क्षमता भएको सिटी मेट्रो यातायात माघ १४ देखि सार्वजनिक यातायातमा सेवा प्रदान गरिरहेको छ । सिटी यातायातले १३ वटा बसबाट काठमाडौंको बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर, कोटेश्वर हुँदै पेप्सिकोला,काँडाघारीसम्म सेवा दिइरहेको छ ।
श्री दुप्चेश्वर यातायात अन्तरगतको ओरेन्ज बसले २०७३ मंसिर ३० देखि चक्रपथमा यातायात सेवा प्रदान गरिरहेको छ । ओरेन्जले १० वटा बसका माध्यमबाट चक्रपथको दुईतर्फी रुटबाट सेवा प्रधान गरिरहेको छ । ओरेन्जको सिट संख्या ५४ छ ।
साझा यातायात, महानगर यातायात, सिटी मेट्रो यातायात, खड्केश्वर यातायात, धुम्बराही यातायात, ओरेन्ज यातायातलगायतका नयाँ सुविधासम्पन्न गाडीहरुले काठमाडौंमा सेवा सुविधा दिइरहेका छन् ।
के भन्छन् निजी यातायात संचालक ?
सिटी मेट्रो यातायातका सल्लाहाकार माधव आचार्य प्राइभेट कम्पनीले पनि यातायातमा स्तरीय सेवा दिन सक्षम छन् भन्ने पुष्टी गर्न सिटी मेट्रो संचालनमा ल्याएको बताउँछन् ।
‘आम जनताको नजरमा प्राइभेट यातायात भनेको जनतालाई सानो साँधुरो ठाउँमा यात्रा गर्न बाध्य तुल्याएर पैसा कमाउने चोर-फटाहा हुन् कि भन्ने भान पर्न लागिसकेको थियो, प्राइभेट यातायात कम्पनीले पनि स्तरीय सुविधा दिन सक्छन् भन्ने हामीले देखाउन खोजेको हो,’ आर्चायले भने ।
नयाँ गाडी थप्ने तयारीमा नेपाल यातायात
काठमाडौंका सरकारी कार्यालय र निजी संघसंस्थाको बाक्लो उपस्थिति रहेको रुटमा केही दशकदेखि नेपाल यातायातले १८ सिट क्षमताको मिनी बसबाट सेवा दिइरहेको छ । नेपाल यातायातको यात्रा निकै सकसपूर्ण हुने जनगुनासो अधिक आउने गरेको छ । नेपाल यातायातको रुटमा अन्य गाडीको उपस्थित नभएका कारण यात्रीको गुनासोलाई नेपाल यातायातले सम्बोधन गरेन ।
अहिले नेपाल यातायातको रुटमा सुविधासम्मन्न सिटी मेट्रो गड्न थालेपछि नेपाल यातायात पनि नयाँ बस थप्ने तयारीमा छ ।
नेपाल यातायात मिनी बस सेवा समितिका महासचिव गोपाल चन्द्र गुरुङ नेपाल यातायातले नयाँ बस थप गर्ने प्रक्रियमा रहेको बताउँछन् ।
नेपाल यातायातले ३५ सिट भएको १० वटा नयाँ गाडी थप गर्न लागेको छ । नेपाल यातायातका पूराना गाडी १८ सिट क्षमता र साँधुरो भएका कारण यात्रुहरुले समस्या भोग्दै आएका गुरुङले स्विकार गरे ।
‘नेपाल यातायातले २०७३ मागदेखि नै नयाँ गाडी थप्दै बिस्तारै पुरानो गाडी विस्थापित गर्दै जाने नीति लिएको छ, प्राविधिक समस्याका कारण गाडी थप्ने प्रक्रिया लम्बिन गएको हो, चाढै नयाँ र ठूला सार्बजनिक बस संचालन गर्ने तयारीमा छौं,’ गुरुङले भने ।
विज्ञको राय के छ ?
सहरी पूर्वाधार विज्ञ डा. सूर्य आचार्यका अनुसार ठूला गाडीको आगमनसँगै काठमाडौंको सावजनिक यातायात सुधार हुँदै गएको छ ।
‘ठूला गाडीको आगमनले यात्रुहरु च्यापिएर यात्रा गर्नु पर्ने बाध्यताबाट मुक्त हुँदै गएका छन्, साना गाडीहरुको सिट क्षमता थोरैसँगै स्पेसपनि सानो हुने भएकाले यात्रुले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता थियो, ठूला गाडीमा त्यो समस्या हुँदैन’ आर्चायले क्लिकमाण्डूसँग भने ।
पाँच, छ वटा साना गाडीले बोक्ने यात्रु एउटै ठूलो गाडीले बोक्न सक्ने आर्चायको तर्क छ । त्यसो भएमा सडको क्षमता पूर्ण रुपमा उपयोग हुनेछ ।
‘काठमाडौंको सबै सडकमा ठूलो गाडीहरु सम्भव नभए पनि मूख्य सडकमा सम्भव छ, साना गाडीलाई विस्थापित गर्न सकेमा ट्राफिक चाप पनि कम हुनेछ,’ आर्चायको भनाइ छ ।
SHARE YOUR THOUGHTS