अध्ययन भन्छः नेप्सेको पुँजी बढाऔं, रणनीतिक साझेदार र जनतालाई सेयर दिऊँ « Eglish Khabarhub

अध्ययन भन्छः नेप्सेको पुँजी बढाऔं, रणनीतिक साझेदार र जनतालाई सेयर दिऊँ




काठमाडौं । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुँजी बृद्धि गरेर निजीकरण प्रक्रियामा जान सकिने अध्ययनले देखाएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले अर्काे स्टक एक्सचेन्ज थप्ने गृहकार्य गरिरहेको बेलामा चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेको टीमले गरेको अध्ययनले यस्तो सुझाव दिएको हो । यस्तो अध्ययन भने २ बर्ष अगाडि नै गरिएको थियो ।

अहिले नेप्सेको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । यसमा नेपाल सरकारको १७ करोड ५९ लाख रुपैयाँ (५८.६६ प्रतिशत सेयर), नेपाल राष्ट्र बैंकको १० करोड ३८ लाख रुपैयाँ (३४.६० प्रतिशत सेयर), एनआइडिसी डेभलपमेन्ट बैंकको १ करोड ८३ लाख (६.१२ प्रतिशत सेयर) र ब्रोकर कम्पनीहरुको १८ लाख ६० हजार रुपैयाँ (०.६२ प्रतिशत सेयर) छ ।

यो ३० करोड रुपैयाँको चुक्ता पुँजीलाई बढाएर १ अर्ब ३ करोड ८० लाख रुपैयाँ पुर्याउनु पर्ने अध्ययनको सुझाव छ । पुँजी बृद्धि गर्दा अहिलेका लगानीकर्ताले थप लगानी नगर्ने र नयाँ लगानीकर्तालाई लगानी गर्न दिइने सुझाव दिइएको हो ।

नेप्सेको पुँजी ३० करोड रुपैयाँबाट बढाएर १ अर्ब ३ करोड ८० लाख रुपैयाँ पुर्याउदा सरकारले लगानी थप नगर्ने हो भने सरकारको सेयर हिस्सा ५८.६६ प्रतिशतबाट घटेर १६.९५ प्रतिशत हुन आउँछ ।

यस्तै राष्ट्र बैंकले पनि थप लगानी नगर्दा अहिलेको ३४.६ प्रतिशत सेयर हिस्साबाट घटेर १० प्रतिशत हुन आउँछ भने एनआइडिसी डेभलपमेन्ट बैंकले पनि थप लगानी नगर्दा अहिलेको ६.१२ प्रतिशतबाट घटेर १.७७ प्रतिशत हुन आउछ । र, ब्रोकर कम्पनीले पनि थप लगानी नगर्दा अहिलेको ०.६२ प्रतिशत सेयरबाट घटेर ०.१८ प्रतिशत हुन आउछ ।

नेप्सेको पुँजी अहिलेको ३० करोड रुपैयाँबाट बढाएर १ अर्ब ३ करोड ८० लाख रुपैयाँ पुर्याउदा र अहिलेका प्रमोटरले थप लगानी नगर्दा उनीहरुको सेयर हिस्सा जम्मा २९.९ प्रतिशत मात्रै हुन्छ । बाँकी रहेको ७१.१ प्रतिशत सेयर रणनीतिक साझेदार तथा स्वदेशी निजी कम्पनी वा सर्बसाधारणलाई सेयर दिन सकिने अध्ययनको सुझाव छ ।

अध्ययनले नेप्सेको पुँजी बढाएर विदेशी रणनीतिक साझेदार भित्र्याउदा ५२ करोड ९३ लाख रुपैयाँ लगानी गर्न दिनुपर्ने भनेको छ । सो परिमाणको सेयर दिदा रणनीतिक साझेदारको सेयर हिस्सा ५१ प्रतिशत हुन्छ ।

बाँकी रहेको २०.१ प्रतिशत सेयर निजी क्षेत्रलाई वा सर्बसाधारणलाई दिन सकिने अध्ययनको सुझाव छ । २०.१ प्रतिशत सेयर भनेको २० करोड ८६ लाख रुपैयाँ हो ।

सरकारले सन् २०१०/११ को बजेटमा नै नेप्सेको निजीकरण गर्ने कार्यक्रम ल्याएको थियो । फेरि सन् २०१३/१४ को बजेटमा पनि यस्तै कार्यक्रम आएपछि नेप्सेले पाण्डेको कम्पनी एसआर पाण्डे एण्ड कम्पनीलाई कसरी अगाढि बढ्दा उपयुक्त हुन्छ भनेर अध्ययन गराएको थियो । सो अध्ययन प्रतिबेदन सन् २०१५ को सेप्टेम्बर महिनामा नेप्सेलाई बुझाइएको थियो ।

सो अध्ययनले पूँजी बजारको समय अनुसारको बिकास गर्ने हो भने नेप्सेले ठूलो लगानी गरेर भौतिक र प्रबिधिक क्षमताको बिकासमा गर्नुपर्ने देखाएको छ । यसैकारण नेप्सेलाई नयाँ पूँजी र रणनीतिक साझेदारको खाँचो भएको अध्ययनको भनाइ छ । साथै, राम्रो आन्तरिक ब्यवस्थापन र प्रतिष्ठा कमाएको स्वदेशी संस्थालाई पनि नेप्सेमा लगानीको अवसर दिनु उपयुक्त हुने अध्ययनको भनाइ छ ।

रणनीतिक साझेदार भित्र्याउदा साझेदारले बजारको पूर्वाधार र प्रबिधि, कारोबार सेवा, मार्केट डेटा सेयर जारीकर्ता र लगानीकर्तालाई दिइने सेवा, क्रस मार्केटिङ र प्रचार प्रसार सम्बन्धी क्रियाकलाप, सूचीकृत कम्पनीका नियमन लगायत कामहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्न मद्दत पुग्ने अध्ययनको सुझाव छ ।

यस्तै साझेदारीले क्रस लिस्टिङ, आपसी कारोबारको ब्यवस्था, संयुक्त क्लियरिङ गर्ने ब्यवस्था लगायतमा पनि सहयोग पुग्छ भनिएको छ ।

बिदेशी प्रतिष्ठित स्टक एक्सचेन्जसँगको साझेदारीले नेप्सेलाई ज्ञान, सिप, नियामन गर्ने तरीका, लगानीकर्ताको हक सुरक्षित गर्ने प्रक्रिया, डिस्क्लोजर सार्वजनिक गर्ने प्रक्रियामा सहयोग पुग्ने भनिएको छ । यसले लगानीकर्ताको संख्यामा बृद्धि गराउनुको साथै कारोबारको आकार र प्राथमिक निष्काशनको संख्या पनि बढाउँने अध्ययनको भनाइ छ । साथै नेप्सेको समग्र बित्तीय प्रर्दशन पनि राम्रो हुने भनिएको छ ।

Publish on: