काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रका छोरीज्वाइ राजबहादुर सिंहले स्मार्ट टेलिकम छाड्ने तयारी गरेका छन् । स्मार्ट टेलिकममा सचिनलाल आचार्य र सिंहको लगानी छ ।
कम्पनीमा दुई प्रमुख लगानीकर्ताबीच विवाद भएपछि सिंहले स्मार्ट छाड्ने तयारी गरेका हुन् ।
‘दुई लगानीकर्ताबीचको विवादको कारण स्मार्टले फोरजी संचालन गर्न सकेको छैन,’ कम्पनी निकट स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘लगानीकर्ताबीच एकजना निस्कने सहमति अनुसार सिंहले आफ्नो सेयर बिक्री गर्ने सहमति भएको छ ।’
स्मार्ट टेलिकमलाई सरकारले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) संचालन गर्ने अनुमति दिएपनि तोकिएको समयमा स्मार्टले फोरजी संचालनमा ल्याउन सकेन ।
स्रोतका अनुसार सिंहले स्मार्टमा भएको सेयर बिक्री गरेर एसटिएम टेलिकममा भित्रने तयारी गरेका छन् ।
‘स्मार्ट छोडेर एसटिएम जाने कुरामा राजबहादुर सिंह लगभग सहमत भइसकेका छन्’ स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘दुवै डिल सकारात्मक भएको हुँदा केही दिनभित्र यो फाइनल हुन्छ ।’
सिंह टेलिकम क्षेत्रमा तत्कालिन मेरो मोबाइल अर्थात अहिलेको एनसेलबाट प्रवेश गरेका थिए । राजेन्द्र खेतानले स्पाइस नेपाल प्रालि अन्तर्गत लाइसेन्स लिएपनि ज्ञानेन्द्र पावरमा आएपछि खेतानले कम्पनीको सेयर सिंहलाई बिक्री गरेका थिए ।
सिंहबाट सो कम्पनी गैर आवासीय नेपाली (एनआरएन) उपेन्द्र महतोको हातमा पुगेको थियो । उपेन्द्र महतोपछि यसको स्वामित्व युरोपको टेलियाले लियो भने अहिले मलेसियाको कम्पनी आजिआटाको नाममा ८० प्रतिशत सेयर छ । बाँकी २० प्रतिशत सेयर भावना श्रेष्ठको नाममा छ । भावनाका पति शतिशलाल र स्मार्टमा सेयर भएका सचिनलाल दाजुभाइ हुन् ।
सिंहले सेयर बिक्री गरेर खरिद गर्न लागेको एसटिएम भने नेपालका एक मात्र अर्बपति विनोद चौधरीले रामेश्वर थापाको समूहलाई बिक्री गरेको कम्पनी हो । चौधरी समुहले सिजी कम्युनिकेसनको नाममा दर्ता गरेको कम्पनी थापाले खरिद गरेपछि नाम परिवर्तन गरेर एसटिएम बनाएका हुन् ।
नेपाल दूरसंचार प्राधिकरणको आधाकारिक रेकर्डमा सो कम्पनी अझै पनि सिजी कम्युनिकेसनकै नाम उल्लेख छ । कम्पनी रजिष्टारको कार्यालयबाट सो कम्पनीको नाम परिवर्तन गरिए पनि प्राधिकरणमा भने नाम परिवर्तन भएको छैन ।
एसटिएमलाई एकीकृत सेवा संचालन (युनिफाइड) लाइसेन्स दिने काम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको थियो ।
मन्त्रीपरिषद्ले युनिफाइड लाइसेन्स दिएपनि एसटिएमले करिब १५ देखि २० अर्ब रुपैयाँ थपेपछि मात्र आक्रामक बजार विस्तार गर्न सक्छ ।
‘अहिलेसम्म सिंहले कति रुपैयाँ लिएर स्मार्टबाट निक्लने भन्ने टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘अहिले सिंह पैसाको नेगोसिएसमा छन् ।’
नेपालको टेलिकम बजारमा सरकारी लगानीको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले लगभग सबै बजार हिस्सा ओगट्ने गर्छन् ।
कुनैबेला काठमाडौं लगायत सहरी क्षेत्रमा आक्रामक बजार विस्तार गरेको युटिएलको बजार पूर्ण धरासायी भएको छ । हेलो नेपालको पनि बजार हिस्सा बढेको छैन ।
SHARE YOUR THOUGHTS