काठमाडौं । नेपालको सेयर बजारमा ब्लू चिप्सको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसँग नयाँ कुनै पनि आयोजना हातमा छैन । कुनैबेला प्रतिकित्ता ३३ सय पुगेको चिलिमेको सेयर अहिले ७ सय ५८ रहेको छ ।
निर्माणको क्रममा रहेको रसुवागढी, सान्जेन, मध्य भोटेकोशीको निर्माण सन् २०१८ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
सो समयमा ती आयोजना सम्पन्न भएपछि कुनै पनि आयोजना चिलिमेको नाममा नरहनु पनि दुखद नै मान्नुपर्छ ।
कम्पनीले विभिन्न जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि विद्युत् विकास विभागमा आवेदन दिएको भएपनि चिलिमे कम्पनीलाई अनुमतिपत्र दिइएको थिएन ।
तर, पछिल्लो पटक निर्माणमा रहेका आयोजनाको कार्यप्रगति सन्तोषजनक रहेको भन्ने समाचारहरु सार्वजनिक भएपछि कम्पनीका लागि थप नयाँ खुसीको खबर पनि आउन लागेको छ ।
चिलिमे जलविद्युत् कम्पनीका लागि विभागले गोरखाको सिर्दिबास भन्दा माथि बाँध रहने गरी बुढीगण्डकी प्रोक नामक आयोजनाको सम्भाव्यता अध्ययनको अनुमतिपत्र दिन लागेको छ ।
सो आयोजनाको क्षमता ४२० मेगावाट रहेको छ । प्रारम्भिक रुमपा यसअघि नै अध्ययन सम्पन्न भएको सो आयोजनाको पूर्ण अध्ययन गर्न भने बाँकी रहेको छ । आयोजनाको अभावमा चिलिमे कम्पनीको अस्तित्व माथि नै संकट पर्न लागेको अवस्थामा सो आयोजनाको अनुमतिपत्र दिन लागिएको हो ।
चिलिमे कम्पनीले गत वैशाख चौथो साता अनुमतिपत्रका लागि आवेदन दिएको थियो । आवेदन दिने बित्तिकै अनुमतिपत्र दिन सकिने भएपनि प्रक्रियाको नाममा हालसम्म विभागले किन अनुमतिपत्र नदिएको हो भन्ने प्रश्नमा विभागका एक अधिकारीले भने अध्ययन जारी छ, हामी छिट्टै चिलिमेलाई बुढीगण्डकी प्रोकको अनुमतिपत्र दिन्छौ ।
एक सय मेगावाट क्षमता सम्मको आयोजनाको अनुमति विभागले दिने कानुनी प्रावधान रहेको छ ।
त्यसभन्दा माथि क्षमताका आयोजनाको अनुमतिपत्र ऊर्जा मन्त्रालयका सचिवले दिने प्रावधान छ ।
नेपाल विद्युत् प्राधिकरणले कम्पनी मोडलको अवधारणा अगाडि ल्याएपछि पायोनियर कम्पनीको रुपमा चिमिले स्थापित छ । चिलिमेले हाल १११ मेगावाटको रसुवागढी, १४ मेगावाटको माथिल्लो सान्जेन, ४२ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्य भोटेकाशी निर्माण गरिरहेको छ ।
ती मध्ये रसुवागढी र सान्जेनको निकट भविस्यमा नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर(आइपिओ) जारी गर्ने तयारी गरेको छ ।
SHARE YOUR THOUGHTS