झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि एक करोड रुपैयाँको फूल आयात हुने भएको छ ।
तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक एक करोड रुपैयाँ बराबरको फूल आयात हुने जानकारी दिए ।
‘झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन,’ उनले भने, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।’
उनले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने जोड दिए।
त्यस्तै, जिल्लामा तिहारको प्रयोजनका लागि १० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको केन्द्रीय सदस्य डालमियाले जानकारी दिए।
‘चीनबाट एलइडी बल्ब भएको झिलिमिली बत्ती बढी आयात हुने गरेको छ,यसको माग बजारमा बढी छ, यो ‘युज एण्ड थ्रो’ किसिमको हुन्छ,’ उनले भने ।
भारतबाट पनि अत्यधिक मात्रामा झिलिमिली बत्ती आयात हुने गरेको छ ।
नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल र झिलिमिली बत्ती किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरु किनमेलका लागि त्यता जाने गरेका हुन् ।
यता, फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ ।
भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताइन् ।
‘लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन, बजारमा पनि फूलको मूल्य बढेको छ,’ उनले भनिन् ।
घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बतार्इन् ।
‘घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो,’ उनले भनिन्, ‘यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।’
अघिल्लो वर्ष प्रतिमाला २० देखि ५० रुपैयाँसम्म खरिद गरिएको फूल यस वर्ष ८० देखि १०० रुपैयाँसम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् ।
बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताए ।
SHARE YOUR THOUGHTS