तीज पर्व मनाइदै, शिव मन्दिरहरुमा भक्तजनको भीड « Eglish Khabarhub

तीज पर्व मनाइदै, शिव मन्दिरहरुमा भक्तजनको भीड



काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन् ।

यता, देशभरका महादेव मन्दिरहरुमा आज भक्तजनहरुको भीड लागेको छ । यसैक्रममा हरितालिका (तीज)मा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नका लागि आज बिहानैदेखि भक्तजनाहरुको भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।

मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ । मन्दिरमा पूजा र दर्शनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भने । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

Publish on: