ब्याजदर फेरि बढेकै हो ? केही बैंकले बढाएको भन्दै सीइओहरु नै आरोप-प्रत्यारोपमा उत्रिए « Eglish Khabarhub

ब्याजदर फेरि बढेकै हो ? केही बैंकले बढाएको भन्दै सीइओहरु नै आरोप-प्रत्यारोपमा उत्रिए



काठमाडौं । केही बैंकले ब्याजदर बढाएको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरु आरोपप्रत्यारोपमा उत्रिएका छन् ।

सीइओहरुको भाइबर ग्रुपमा केही बैंकले बढी ब्याज दिएर निक्षेप तानेको भन्दै सीइओहरुले गुनासो गर्न थालेका हुन् ।

केही दिन अघि हिमालयन बैंकका सीइओ अशोक राणाले केही बैंकले बढी ब्याज दिएको सुन्नमा आएको भन्दै सीइओहरुको भाइबर ग्रुपमा म्यासेज गरे ।

त्यस्तै, माछापुच्छ्रे बैंकका सीइओ सुमन शार्माले पनि भाइबर ग्रुपमै केही बैंकले बढी ब्याज दिएको भन्दै गुनासो गरे । राणा र शर्माले भाइबर ग्रुपमा यस्तो लेखेपछि फेरि ब्याजदर बढेको भनेपछि सीइओहरुबीच यो विषयमा चर्को बहस भइरहेको छ ।

‘केही बैंकको सीसीडी रेसियो ७८/७९ प्रतिशत छ, उनीहरुलाई राष्ट्र बैंकको कारबाहीबाट बच्नकै लागि भए पनि केही निक्षेप तान्नुपर्ने अवस्था पनि देखिन्छ ।’

साढे १० प्रतिशत दिने सहमति भएको दरमा केही बैंकले ११ प्रतिशतसम्म दिइरहेको भन्ने सीइओहरुको गुनासो छ । तर, कुन कुन बैंकले ब्याजदर बढाएका हुन् भनेर चाहीँ कसैले पनि भनेका छैनन् ।

५/६ वटा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेपछि ती बैंकले बढी ब्याज दिएर निक्षेप तान्न थालेको सीइओहरु बताउँछन् । राष्ट्र बैंकको मापदण्ड अनुसार सीसीडी रेसियो ८० प्रतिशत कटाउनु हुँदैन । कटाए कारबाही हुन्छ ।

‘केही बैंकहरुको सीसीडी रेसियो ७९ प्रतिशत पुगेको छ, सीसीडी मेन्टेन गर्ने दबाबमा ती बैंकहरुले ब्याजदर बढाएको कुरा सुन्नमा आएको छ,’ हिमालयन बैंकका सीइओ अशोक राणाले क्लिकमाण्डूसँग भने, ‘दुई वटा बैंकका सीइओलाई त मैले फोनै गरेर पनि सोधेँ, उहाँहरुले होइन भन्नुभयो ।’

तर, पछिल्लो समय संस्थागत निक्षेपकर्ताहरुले अर्को बैंकले यति प्रतिशत दिएको छ, उति प्रतिशत दिएको छ भन्ने बार्गेनिङ गर्न थालेको राणाले सुनाए ।

राणाले जस्तै प्रभु बैंकका सीइओ अशोक शेरचन, ग्लोबल अँइएमइ बैंकका सीइओ जनक शर्मा पनि पछिल्लो हप्ता १० दिनदेखि संस्थागत निक्षेपकर्ताहरुले बार्गेनिङ गर्न थालेको बताउँछन् ।

‘पछिल्लो हप्ता १० दिनदेखि संस्थागत निक्षेपकर्ता (खासगरी बीमा कम्पनी)हरुले ब्याजदरमा बार्गेनिङ गरिरहेका छन्,’ राणाले भने ।

राणाले जस्तै प्रभु बैंकका सीइओ अशोक शेरचन, ग्लोबल अँइएमइ बैंकका सीइओ जनक शर्मा पनि पछिल्लो हप्ता १० दिनदेखि संस्थागत निक्षेपकर्ताहरुले बार्गेनिङ गर्न थालेको बताउँछन् ।

‘संस्थागत निक्षेपकर्ताहरु बार्गेनिङ गर्न आउन थाले,’ शेरचन र शर्मा भन्छन्, ‘यसले बजारमा फेरि क्रेडिट क्रञ्चको अवस्था आउन लाग्यो भन्ने शंकेत हो ।’

निक्षेपको तुलनामा कर्जा ह्वात्तै बढेपछि बैंकरहरु अतालिएका हुन् । साउनदेखि यता जम्मा ४९ अर्ब रुपैयाँले निक्षेप बढेको तर ९२ अर्ब रुपैयाँले कर्जा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

‘पहिलो पहिला यस्तो समयमा ४०/४२ अर्ब रुपैयाँले कर्जा बढ्थ्यो र ३०/३२ अर्ब रुपैयाँले निक्षेप बढ्थ्यो,’ ग्लोबल बैंकका सीइओ शर्माले भने, ‘अहिले त निक्षेप र कर्जाबीच ५० अर्बको ग्याप देखिएको छ । अर्थात् ९२ अर्ब रुपैयाँले ऋण बढ्दा ३९ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको छ । यो डरलाग्दो संकेत हो ।’

यद्यपि सरकारले खर्च बढायो भने निक्षेप बढ्ने र यो संभावित समस्या नआउने उनको भनाइ छ ।

‘यही बेला सरकारले खर्च बढाएन र दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा फर्किन केही समय ढिला भयो भने दशैंपछि बैंकहरु ऋण दिनसक्ने अवस्थामा रहँदैनन् ।’

यो आर्थिक वर्ष शुरु भएदेखि लगातार निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी छ । पछिल्लो एक महिनामा बैंकहरुले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

पछिल्लो हप्ताको कुरा गर्ने हो भने त अबस्था झन् डरलाग्दो छ । एक हप्तामै साढे १९ अर्ब रुपैयाँले कर्जा बढेको छ भने निक्षेप जम्मा ८ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

निक्षेपको तुलनामा कर्जा ह्वात्तै बढेपछि बैंकरहरु अतालिएका हुन् । साउनदेखि यता जम्मा ४९ अर्ब रुपैयाँले निक्षेप बढेको तर ९२ अर्ब रुपैयाँले कर्जा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

‘पछिल्ला केही दिनको तथ्यांक हेर्दा र बैंकरहरुबीच भएको बहस हेर्दा लगानी योग्य पुँजी (तरलता) टाइट हुन खोजिरहेको आभाष मिल्छ,’ प्रभु बैंकका सीइओ शेरचन भन्छन् ।

बैंकरहरुबीच भाइबर ग्रुपमै ब्याजदर बढाएको विषयमा गुनासो र बहस हुन थालेपछि यसले बजारमा केही न केही प्रभाब पार्ने सानिमा बैंकका सीइओ भुवन दाहाल बताउँछन् ।

‘अहिले त तरलता पनि सहज छ, क्रेडिट क्रञ्च पनि छैन, तर पछिल्लो समय बैंकर साथीहरु नै अतालिएको देख्दा चाहीँ समस्या आउँदैछ भनेर अनुमान लगाउन सकिन्छ,’ दाहालले भने ।

नाडा अटो शो र दशैंका कारण गाडीको आयात बढेको र पछिल्लो समय बैंकहरुको लगानी पनि गाडीमा केन्द्रित भएको उनले सुनाए ।

‘सरकारले खर्च बढाएन भने क्रेडिट क्रञ्च आउने संभावना देखिन्छ, तर त्यसका लागि दशैंतिहारसम्म कुर्नुपर्छ,’ उनले भने ।

केही बैंकले ब्याजदर बढी दिएको भन्ने हल्ला चलेपनि त्यो सत्य नहुनु पर्ने बताउँछन् सिटिजन्स बैंकका सीइओ राजनसिंह भण्डारी ।

‘केही बैंकले ब्याजदर बढाए भन्ने गुनासो आएको हो, तर बजारमा हेर्दै जाँदा कसैले पनि बढाएजस्तो देखिँदैन, बढाएको भए त थाहा हुनुपर्ने हो,’ भण्डारीले भने ।

३८ अर्ब तरलता

यतिखेर बैंकिङ प्रणालीमा ३८ अर्ब रुपैयाँ तरलता भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । ‘अघिल्ला वर्षहरुको यसै अवधिमा अलि बढी तरलता हुन्थ्यो,’ पौडेलले भने, ‘यो वर्ष अलि कम छ ।’

केही बैंकहरुले ब्याजदर बढाएको भन्ने गुनासो आफूले पनि सुनेको पौडेलले बताए ।

‘बैंकरहरुले केही समययता ब्याजदर बढ्न थालेको भन्ने गुनासो गर्नु भएको छ,’ उनले भने, ‘दशैंतिहार पछिसम्म हेरौं अवस्था के हुन्छ ।’

केही बैंकको सीसीडी टाइट भएकाले उनीहरुले निक्षेप तान्न ब्याजदर बढाएको हुनसक्ने पौडेलले बताए ।

‘केही बैंकको सीसीडी रेसियो ७८/७९ प्रतिशत छ, उनीहरुलाई राष्ट्र बैंकको कारबाहीबाट बच्नकै लागि भए पनि केही निक्षेप तान्नुपर्ने अवस्था पनि देखिन्छ ।’

Publish on: