काठमाडौं । अर्थ मन्त्रालयले ६४ जना शाखा अधिकृतसहित २ सय कर्मचारीको सरुवा गरेको छ । क्लिकमाण्डूलाई प्राप्त सरुवा गरिएका कर्मचारीको लिस्ट अनुसार मन्त्रालयले ९२ जना नायब सुब्बा, ४ जना खरिदार, ११ जना ड्राइभर र २८ जना कार्यालय सहयोगीको सरुवा गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले असोज १४ गते कर्मचारीको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । मन्त्रीको निर्णय अनुसार सचिवले कर्मचारीहरुलाई काममा खटाउन थालेका छन् ।
तत्कालिन एमाले निकट कर्मचारी संगठनको नेतृत्वमा रहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र तत्कालिन एमाले निकट कर्मचारी संगठनको उच्च नेतृत्वले थमाएको लिस्ट अनुसार नै अर्थमन्त्री खतिवडाले कर्मचारीहरुको सरुवा गरेको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।
‘यसरी ट्रेड युनियनका नेताले दिएको लिस्ट अनुसार अर्थमन्त्री खतिवडाले कर्मचारी सरुवा गर्छन् भन्ने त साचिएको सम्म थिएन,’ अर्थ मन्त्रालयका एक सहसचिवले क्लिकमाण्डूसँग भने, ‘तर, यहाँ सबै कुरा सोचेजस्तो मात्रै नहुँदो रहेछ ।’
स्रोतका अनुसार असोज १० गते अर्थमन्त्री खतिवडाले अर्थसचिब राजन खनाल, राजस्व सचिब शिशिर ढुंगाना र महालेखा नियन्त्रक ९सचिब० सुरेश प्रधानलाई सरुवा हुने कर्मचारी र उनीहरु जाने कार्यालयको नामावली सहितको विवरण दिएका थिए ।
असोज १० गते विहान करिब ९ बजे अर्थमन्त्री खतिवडाले तीनै जना सचिबहरु खनाल, ढुंगाना र प्रधानलाई मन्त्रालय बोलाएका थिए । यस्तै अर्थमन्त्रालय अन्तरगका केही विभागका महानिर्देशकहरु पनि उपस्थित थिए ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल, तत्कालिन एमाले समर्थित निजामती कर्मचारीहरुको संगठनका अध्यक्ष केदार देबकोटा र सोही संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला अर्थ मन्त्रालय पुगेर अर्थ मन्त्रीलाई सरुवा गर्नुपर्ने कर्मचारीको लिस्ट थमाएका थिए ।
अध्यक्ष ढकाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भएपनि सो अघि उनी एमाले समर्थित निजामती कर्मचारीहरुको संगठनकै अध्यक्ष थिए ।
ट्रेड युनियनका नेताले थमाएको लिष्टलाई नै अर्थमन्त्रीले अन्तिम लिष्ट मान्दै सचिब र महानिर्देशकलाई दिएका थिए । अर्थमन्त्रीले कर्मचारी संगठनका नेताले बुझाएको लिस्ट दिएपछि मन्त्रालयका सहसचिबहरुले असहमति प्रकट गरेका थिए ।
यसअघि कर्मचारी सरुवा बढुवामा ट्रेड युनियन हावी हुने गरेपनि फरक पृष्ठभूमि र स्वभावका खतिवडा अर्थमन्त्री बनेपछि पनि यो क्रम नरोकिएको भन्ने अर्थका कर्मचारीहरुको गुनासो छ ।
अर्थमन्त्रालय अन्तरगत राजस्व र लेखा समुहका कर्मचारी पर्छन् । प्रत्येक २ बर्षमा निजामती कर्मचारीको सरुवा गर्नुपर्ने निजामती कर्मचारी ऐनमै ब्यवस्था छ । सो ब्यवस्था अनुसार दुबै समुहका करिब ५० प्रतिशत कर्मचारी यो बर्ष सरुवा हुने बताइन्छ ।
राजस्व समुहमा करिब ३ हजार कर्मचारी छन् भने लेखा समुहमा ५ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ । यो संख्याको करिब ५० प्रतिशत कर्मचारी सरुवा हुदा एकै पटक करिब ४ हजार कर्मचारी सरुवा हुनेछन् ।
त्यस्तै, अर्थ मन्त्रालय अन्तरगतका विभागका कर्मचारीहरुको पनि सरुवा गरिएको छ । उपसचिवको सरुवा भने टुंगो लागिसकेको छैन ।
कर्मचारी सरुवा असोज १५ गतेभित्र गरिसक्नु पर्ने कानुनी ब्यवस्था थियो । उक्त कानूनी व्यवस्था अनुसार नै अर्थमन्त्रीले असोज १४ गते सरुवाको निर्णय गरेका हुन् ।
सरुवा गरिएकामध्ये कतिपय कर्मचारीलाई दशैंअघि र कतिपयलाई दशैंपछि सरुवा गरिएको कार्यालयमा खटाइने अर्थ मन्त्रालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS