१५ दिनको अवधिमा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ « Eglish Khabarhub

१५ दिनको अवधिमा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौं । पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य आकाशिएको छ । असोज २५ गते छापावाला सुनको मूल्य प्रति तोला ५९ हजार २ सय ९९ रुपैयाँ रहेको थियो भने आज सुनको मूल्य ६० हजार १ सय रुपैयाँ पुगेको छ ।

यसरी १५ दिनको तुलना गर्दा प्रति तोलामा सुनको मूल्य ८ सय १ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय स्तरमा डलरको मूल्य घटेको कारण त्यसको असर सुनको मूल्यमा परेको बताए ।
‘डलर कम्जोर भयो, त्यसले गर्दा स्वतः सुनको मूल्यमा असर परेको हो, महङ्गो भएपछि सुन खपत कम हुन थालेको छ,’ शाक्यले भने ।

दशैं अघिसम्ममा सुन प्रतिदिन २५ किलो खपत हुँदै आएको थियो, तर गएको वर्ष जस्तै यो दशैंमा पनि सुनको माग नबढेको उनले बताए ।

मानिसहरुले सुन किन्दा वा सुनका गहना लगाउँदा असुरक्षित महसुस गरेकोले आकर्षण घट्दो क्रममा रहेको र महङ्गो भएपछि झन् किन्नेहरु घटेको शाक्य बताउँछन् ।

पहिले पहिले दशैंमा ४० देखि ५० किलो सुन खपत हुने गरेको थियो । तर, यो पटकको दशैंमा त्यसको आधा मात्र खपत भएको उनले बताए । शाक्यका अनुसार सुनको मूल्य अझै २-३ दिन बढ्ने सम्भावना छ ।

आजको तेजावी सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छ ।

Publish on: