चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताएका छन् ।
नेकपा चितवनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताए ।
अध्यक्ष दाहालले भने, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ ।” देशभित्र र बाहिरको शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरेको बताउँदै उनले त्यसो हुन नदिने बताए ।
हजारौँको बलिदानी र लाखौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने बताउँदै उनले भने, “आफ्नो ठाउँबाट जे जस्तो त्याग गर्न परेपनि म तयार छु भनेर हामीले कम्युनिष्ट भावना देखायौँ भने कसैले परास्त गर्न सक्दैन ।”
नेपालमा विकासको युगको शुरुवात भएको भन्दै उनले आठ÷दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताए । पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको उनको भनाइ थियो । उनले भने, “पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ ।”
भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उनले भने, “छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ ।” नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताए ।
कार्यक्रममा महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताए । विकास, समृद्धि र सामाजिक न्यायका माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्नुपर्ने भन्दै उनले समाजवाद संविधानले समेत सुनिश्चित गरेको बताए । महासचिव पौडेलले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्ने बताए । विकासको गति र योजना तीब्र गतिमा अघि बढाइएको उनले बताउनुभयो । दुई महिनामा सरकारले रेल सञ्चालन गर्ने उनले बताए ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै केही समयमै जनताले अनुभूति गर्न पाउने बताए । तीन वटै सरकारको समन्वय र सहकार्यबाटै विकास र गन्तव्यमा पुग्न सकिने उनले बताए ।
कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, अमिक शेरचन, नारायण दाहाल, आनन्द पोखरेल, कृष्ण खनाल, ईश्वरी भट्टराई, कृष्णभक्त पोखरेललगायतले मन्तव्य राखेका थिए ।
SHARE YOUR THOUGHTS