काठमाण्डौ र जाजरकोटमा भएको दुर्घटनामा ३ को मृत्यु, २ घाइते « Eglish Khabarhub

काठमाण्डौ र जाजरकोटमा भएको दुर्घटनामा ३ को मृत्यु, २ घाइते



काठमाण्डौ । काठमाडौंमा आज बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । काठमाडौंको बसुन्धारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ बजे मृत्यु भएको हो । रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

त्यस्तै, आजै बिहान काठमाडौंको लैनचौरमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक २७ बर्षीय प्रकाश तामाङ र पछाडी सवार सन्जु थापा घाइते भएका हुन् ।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बिहान ६ बजे बा२ख ३०६८ नम्बरको माइक्रोले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । माइक्रोसहित चालकलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको छ ।

यता, जाजरकोटमा आज बिहान जीप पल्टिँदा २ जनाको ज्यान गएको छ । कुशे गाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे भे १ ज ५७५ नम्बरको जीप पल्टिँदा २३ वर्षीय चालक कमल परियार र २१ वर्षीय प्रविज सिद्धीकीको मृत्यु भएको हो ।

चालक परियारको घटनास्थलमै र सिद्धीकीलाई उपचारका लागि खलंगातर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Publish on: