काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले आफूखुसी प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सीइओ नियुक्तिमा कडाई गर्दै बैंकका सीइओलाई राष्ट्र बैंकप्रति उत्तरदायी बनाउन लागेको हो ।
राष्ट्र बैंकले बैंकहरुले नियुक्ति गर्न लागेको सीइओको ‘फिट एण्ड प्रपोर टेस्ट’ गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यो व्यवस्था गरेपछि बैंक सञ्चालक समितिले नियुक्त गर्न लागेका ३ जना उम्मेद्वारको नाम र उनीहरुको विगतको सम्पूर्ण विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने हुन्छ ।
उम्मेद्वारहरुको बिबरण हेरेर मात्रै राष्ट्र बैंकले नियुक्तिका लागि अनुमति दिन्छ ।
‘उम्मेद्वारहरु मध्ये फिट एण्ड प्रपोर टेस्ट गर्दा जुन उम्मेद्वार अरुभन्दा बढी योग्य देखिन्छ उसैलाई सञ्चालक समितिले सीइओ नियुक्ति गर्नुपर्छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।
जनताको अर्बौं रकम चलाउने बैंकको सीइओलाई केही लगानीकर्ताहरुले आफूप्रति उत्तरदायी बनाएका कारण बैंकमा समस्या आउने गरेकाले यस्तो ब्यवस्था गर्नु परेको ती अधिकारीले बताए ।
‘जनताको पैसा चलाउने भएपछि बैंकका सीइओहरु जनताप्रति उत्तरदायी हुनुपर्छ, २/५ प्रतिशत लगानी गर्ने लगानीकर्ताप्रति उत्तरदायी हुँदा जनताको पैसाको जोखिम हुन्छ भनेर हामीले यो ब्यवस्था गर्न लागेका हौं,’ स्रोतले भन्यो ।
यसअघि सञ्चालक समितिले सीइओ नियुक्त गरेर त्यसको जानकारी मात्रै राष्ट्र बैंकलाई गराए पुग्थ्यो । अब राष्ट्र बैंकको अनुमति नलिई सीइओ नियुक्ति गर्न नै पाइने छैन ।
सीइओ नियुक्तिको पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदा उनीहरुले संस्थालाई राम्रोसँग हाँक्न सक्ने प्रोफेसनल व्यक्तिलाई भन्दा ‘यस म्यान’ रोज्ने गरेकाले राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्ट गर्नुपर्ने आवश्यकता परेको उनको भनाई छ ।
‘संसारका अधिकांश देशमा त्यहाँका केन्द्रिय बैंकले सीइओका उम्मेद्वारहरुको फिट एउण् प्रपोर टेसट गर्ने व्यवस्था छ,’ स्रोतले भन्यो, ‘नेपालमा भने किराना पसलमा कामदार राखेजसरी सीइओ नियुक्ति गरिन्छ, जसकारण बैंकका सीइओहरु नियामक राष्ट्र बैंकप्रति भन्दा नियुक्ति गर्ने सञ्चालकप्रति लोयल भएका छन् । सञ्चालकले जे भन्यो त्यही मान्न बाध्य छन् ।’
अहिले बैंकका सीइओहरु लगानीकर्ताको दबाबमा नाफा मात्रै खोज्दा निक्षेप संकलनभन्दा कर्जा बढी दिन बाध्य भएको राष्ट्र बैंकको बुझाइ छ ।
राष्ट्र बैंकले सीइओहरुसँग बिजनेश प्लान मागेको थियो । सबैले बुझाएका पनि थिए । तर, सीइओहरुले राष्ट्र बैंकमा बुझाएको भन्दा निकै एग्रेसिभ भएर बजारमा प्रस्तुत भए । त्यसपछि राष्ट्र बैंकले सीइओहरुलाई बोलाएर राष्ट्र बैंकमा एउटा प्लान बुझाउने बाहिर गएर अर्कै गर्ने भन्दै झपारेपछि सीइओहरुले धेरै नाफा कमाउनका लागि सञ्चालक समितिले तीब्र दबाब दिएका कारण राष्ट्र बैंकमा बुझाएको प्लानभन्दा एग्रेसिभ भएर जानुपर्ने बाध्यता रहेको जवाफ दिएका थिए ।
सीइओहरुको यस्तो जवाफ सुनेपछि राष्ट्र बैंकले फिट एण्ड प्रपोर टेस्टको ब्यवस्था गर्न लागेको हो ।
‘२/४ दिनमै यो ब्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ,’ स्रोतले भन्यो ।
बैंकका सीइओको नियुक्तिमा कुलिङ प्रियड लगाएको राष्ट्र बैंकले डेपुटी सीइओ र विभागीय प्रमुखहरुको नियुक्तिमा पनि कुलिङ प्रियड लगाउने भएको छ ।
‘उच्च तहका कर्मचारीहरु एउटा बैंक छाड्ने वित्तिकै अर्को बैंकमा जाँदा संवेदनशील सूचनाहरु चुहिन्छन्, त्यसैले सीइओसँगै डेपुटी सीइओ, सीओओ, सीसीओ लगायतका बैंकका सिनियर कर्मचारीलाई पनि कुलिङ पिरियड लगाउन लागिएको हो,’ स्रोतले भन्यो ।
SHARE YOUR THOUGHTS