सीसीडीको तनावले दैनिक अर्बौंको अन्तरबैंक कारोबार, ब्याजदर ६ प्रतिशत « Eglish Khabarhub

सीसीडीको तनावले दैनिक अर्बौंको अन्तरबैंक कारोबार, ब्याजदर ६ प्रतिशत



काठमाडौं । पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन ।

बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर आकाशिएको हो ।

पुसको अन्तिम दिन अर्थात् ३० गते सबैभन्दा बढी ८ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको थियो । तर, माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि अपेक्षितरुपमा घट्न सकेको छैन ।

माघ लागेपछि पनि कम्तिमा ३ देखि बढीमा ७ प्रतिशतसम्ममा अन्तर बैंक कारोबार भइरहेको छ । एकैदिनमा १० अर्ब रुपैयाँसम्म अन्रतबैंक कारोबार भएको छ ।

अन्तर बैंक कारोबार भनेको एक बैंकले अर्को बैंकसँग लिने अल्पकालीन ऋण हो ।

‘अहिले पनि ५/६ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार हुनु भनेको बैंकमा लगानीयोग्य पुँजीको समस्या ज्यूँकात्यूँ हुनु हो,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘कतिपय बैंकलाई त कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्दै मुस्किल परेको छ ।’

यस्तो छ माघको अन्तरबैंक कारोबार र ब्याजदर

माघको अन्तर बैंक कारोबार र यस्तो कारोबारको ब्याजदरनेपाल राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने भनेको छ । तर, पुस मसान्तमा ७ वटा वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी थियो ।

राष्ट्र बैंकले अर्को बैंकसँग ऋण लिएर सीसीडी सहज देखाउन सक्ने व्यवस्था गरेपछि पुस मसान्तमा बैंकहरुले सीसीडी मेन्टेन गर्न नसकेका हुन् ।

बैंकहरुले राष्ट्र बैंकलाई सीसीडीको दैनिक विवरण पेश गर्नुपर्छ । र, महिनाको औषतमा ८० प्रतिशत नाघेको खण्डमा राष्ट्र बैंकले कारबाही गर्छ ।

सीसीडीमा राष्ट्र बैंकको काराबाहीबाट जोगिन बैंकहरुले अर्को बैंकसँग महंगो ब्याजदरमा ऋण लिइरहेका हुन् ।

आर्थिक वर्षको शुरुकै महिनादेखि कर्जायोग्य पुँजीको समस्या झेल्दै आएका बैंकहरु अझैसम्म यो समस्याबाट मुक्त हुन सकेका छैनन् ।

बजारमा भएको पैसा राजस्वका माध्यबाट सरकारको ढुकुटीमा थुप्रिँदै गएको छ, सरकारले विकास खर्च गर्न सकेको छैन । जसकारण् निक्षेप बढेको छैन तर कर्जा बढेको बढ्यै छ । त्यसैले महंगो ब्याज तिरेर भए पनि बैंकले बैंकसँगै ऋण लिनु परेको हो ।

राष्ट्र बैंकले गत पुस ११ गते अन्तरबैंक कारोबार गरेर भएपनि बैंकहरुले सीसीडी मिलाउन सक्ने ब्यवस्था गरेको थियो ।

राष्ट्र बैंकका अनुसार पुस ३० गते बैंकहरुको औषत सीसीडी रेसियो ७७.४५ प्रतिशत थियो। माघयता पनि औषत सीसीडी ७७/७८ प्रतिशत रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

तर, केही बैंकको सीसीडी भने अझै पनि ८२/८३ प्रतिशत छ । केही बैंकको भने ७०/७२ प्रतिशत छ । जसकारण औषत सीसीडी ठीकै देखिए पनि बैंकिङ प्रणाली समस्यामुक्त हुन सकेको छैन ।

यसरी अन्तर बैंक कारोबारको ब्याजदर आकाशिनुले बैंकिङ क्षेत्र अझै पनि संकटमा भएको प्रष्ट संकेत गर्ने बैंकरहरु बताउँछन् । यसको चरम मारमा वित्तीय क्षेत्र परेको देखिए पनि दीर्घकालमा यसले अर्थतन्त्रमै गंभीर समस्या निम्त्याउने बैंकरहरुको तर्क छ ।

पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले ३० अर्ब रुपैयाँले निक्षेप बढाएर ३० अर्ब रुपैयाँले नै कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको शुरुकै महिनादेखि कर्जायोग्य पुँजीको समस्या झेल्दै आएका बैंकहरु अझैसम्म यो समस्याबाट मुक्त हुन सकेका छैनन् ।

Publish on: