काठमाडौं । बैंकहरुको आधार मूल्य (बेसरेट) घटे पनि ब्याजदर घटाउन भने आनाकानी गरिरहेका छन् । बैंकहरुले ब्याजदर नघटाएपछि उद्योगी/व्यवसायीहरु चर्को ब्याज तिर्न नसक्ने भन्दै उद्योगी/व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
बैंकले ब्याजदर घटाउनु पर्ने भन्दै बिराटनगर, बीरगञ्ज, चितवन र पोखराका व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । कर्जामा बैंकको ब्याजदर नघट्दा उत्पादनको लागत बढ्ने भएकाले त्यसको असर आम उपभोक्तालाई पर्छ ।
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये २५ वटाले चालु आर्थिक वषको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणमा अधिकांश बैंकहरुको बेस रेट (आधारम दर) केही घटेको छ ।
बेस रेट घट्दा पनि बैंकहरुले घटेको दरमा कर्जा नदिएको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् ।
‘बैंकहरुले निक्षेपमा भद्र सहमति गरेर ब्याज नियन्त्रण गरे, तर कर्जाको ब्याज घटाएका छैनन्,’ गोल्छाले क्लिकमाण्डूसँग भने ।
तर, बैंकरहरु भने आधार दर परिवर्तन गरेर मात्रै ब्याज परिवर्तन गर्ने भएकाले निक्षेपको घट्नासाथ कर्जाको ब्याजदर घटिनहालेको बताउँछन् ।
‘थप ऋण योग्य पुँजीको अभाव कारण बैंकहरु अझैपनि सहजै पर्याप्त ऋण दिन सक्ने अवस्थामा छैनन्, तरलता अभावको चापका कारण बैंकहरुले तत्काल ब्याज घटाउन नसकेका हुन्,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘हालैमात्र अधिकांश बैंकहरुले बेस रेट केही घटाएको विवरण सार्वजानिक गरेका छन्, अब त्यहीअनुसार कर्जाको ब्याजदर पनि घट्छ ।’
बैंकहरुले सार्वजनिक गरेको आधार दरमा सबै भन्दा बढी बेसरेट कुमारी बैंकको छ । कुमारीको बेस रेट ११.५५ प्रतिशत छ, जुन गत वर्षको भन्दा बढी हो । गत वर्षको सोहि अवधिमा बैंकको आधार दर ११.१७ प्रतिशत मात्र थियो ।
यो अवधिमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नबिल, सानिमा, नेपाल एसबिआई, सिद्धार्थ, माछापुच्छ्रे र सेञ्चुरी बैंकले बेस रेट बढाएका छन् । यसबाहेक बसै बैंकको आधार धर घटेको छ ।
यो पुस मसान्तमा दोहोरो अंकमा आधार धर हुने बैंक १४ वटा छन भने बाँकी ११ वटा बैंकको आधार मूल्य एकल अंकमा रहेको छ । गत वर्षको पुस मसान्तको तुलनामा यो पुस मसान्तमा १७ वटा बैंकको आधार दर घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको बेस रेटमा केही प्रिमियम थपेर ऋणीसँग ब्याज लिन्छन् । त्यसैले बढी बेस रेट हुने बैंकबाट ऋण लिने ऋणीलाई बढी ब्यजाज पर्छ भने कम बेसरेट भएको बैंकबाट ऋण लिँदा कम ब्याज पर्छ ।
बैंकको नाम | ०७५ पुसको बेस रेट (%) मा | ०७४ पुसको बेस रेट (%) मा |
मेगा बैंक | १०.८३ | १०.९६ |
जनता बैं | ११.०४ | ११.५३ |
राष्ट्रिय वाणिज्य | ५.६० | ५.९८ |
कृषि विकास बैंक | ११.१५ | ११.५३ |
एनसीसी बैंक | १०.८७ | ११.४५ |
नेपाल बंगलादेश | १०.८२ | १०.८४ |
नेपाल बैंक | ६.०६ | ६.९३ |
एनएमबी बैंक | १०.११ | १०.५३ |
हिमालयन बैंक | ९.११ | ९.३५ |
लक्ष्मी बैंक | १०.३६ | १०.८८ |
नबिल बैंक | ७.९४ | ६.९२ |
सानिमा बैंक | ९.७५ | ८.९६ |
सनराइज बैंक | १०.६३ | १०.९६ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ८.९६ | ९ |
नेपाल एसबीआई बैंक | ९.८२ | ९.५० |
सिटिजन्स बैंक | १०.७९ | ११.०२ |
ग्लोबल आईएमई बैंक | १०.०९ | १०.३१ |
प्रभु बैंक | ९.३७ | ९.७१ |
सिद्धार्थ बैंक | १०.५९ | १०.५८ |
कुमारी बैंक | ११.५५ | ११.१७ |
एभरेष्ट बैंक | ८.२२ | ७.८४ |
माच्छापुच्छे« बैंक | १०.९९ | १०.६७ |
एनआईसी एसिया बैंक | ९.३३ | १०.५५ |
राष्ट्रिय वाणिज्य बैंक | ५.६० | – |
सेञ्चुरी बैंक | ११.५० | ११.४३ |
SHARE YOUR THOUGHTS