स्याङजा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाल विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताइन् । आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब ती योजनाहरूलाई उत्पादनमा जोड्दै आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । भएका सम्भावनाहरूलाई योजनावद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्ने बताइन् ।
अब नेपाल श्रमशक्ति निर्यात नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्ने मुलुकका रूपमा विकास गर्नुपर्ने बताइन् । ‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ । तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन । विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ । नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडी बढेका छ’, मन्त्री अर्यालले भनिन् ।
नेपाललाई स्वीजरल्याण्ड बनाउँछौ भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनावद्ध रूपमा विकासका कामहरू अगाडी बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘हामीसँग धेरै सम्भावनाहरू छन् । अब योजना बनाएर अगाडी बढ्नुपर्छ ।’
कृषिप्रधान देशका जनता अब पनि भोकभोकै मर्ने अवस्था रहिरहन दिन नहुने भन्दै मन्त्री अर्यालले त्यसका निम्ती योजनावद्ध विकासका कार्यक्रमहरू ल्याउनुपर्ने बताइन् । ‘भन्दाखेरि कृषिप्रधान मुलुक, तर जनताले खान नपाएर भ्याकुर खानुपर्ने, कन्दमूल खोज्नुपर्ने अनि कृषिप्रधान मुलुकका हामी नागरिक भनेर भन्नुपर्ने’, मन्त्री अर्यालले भनिन् ‘संसारको दोस्रो जलस्रोतको धनी मुलुक तर जनता पानी खान नपाएर काकाकुल हुनुपर्ने ।’
उपलब्ध कृषियोग्य जमिनको सदुपयोग गरेर मुलुकभित्रै रोजगारी सिर्जना गर्ने कार्यमा हरेक नागरिक लाग्नुपर्ने उनको भनाइ छ । विगतमा पनि गाउँठाउँको विकासको शुरूआत कम्युनिष्ट सरकारले नै कोरेको भन्दै मन्त्री अर्यालले अब समृद्धिको खाका कसरी कोर्न सकिन्छ, मुलुकको समृद्धी कसरी गर्ने भनेर यो पाँच वर्षमा गरेर देखाउने दाबी गरिन् । भर्खरै एक वर्ष बितेको भन्दै उनले पाँच वर्षको बिचमा यो सरकारले वास्तविक रूपमा विकास गरेर देखाउने बताए ।
यसैबीच आँधीखोला गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने भैरबकुण्ड मोटरेवल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले सरकारले हरेक घरमा एकजना भएपनि मान्छे रोजगार होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको बताइन् । उनले कसलाई कसरी कहाँ जागिर खुवाउन सकिन्छ भनेर सरकारले खोजी गरिरहेको समेत बताइन् ।
फरक प्रसङ्गमा मन्त्री अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत २६ जिल्लामा गरिब पहिचान भइसकेको र ५१ जिल्लामा गरिब पहिचान कार्यक्रम सञ्चालन गर्न ४ हजार मान्छे आवश्यक भएको बताइन ।
‘५१ जिल्लामा गरिब पहिचान गर्न प्रत्येक वडामा एकजना गणक र १० जना गणक बराबर १ जना सुपरभाइजर हुनेगरी चार हजार मान्छे आवश्यक पर्छ’, मन्त्री अर्यालले भनिन्, ‘आगामी असारभित्रमा बाँकी ५१ जिल्लामा पनि गरिब पहिचान कार्य गर्नेगरी हामीले तयारी गरिरहेका छौ ।’ गरिब पहिचान गरेर गरिब लक्षित गर्ने योजनाका साथ आफु अगाडी बढेको मन्त्री अर्यालले बताइन । लामो योगदान र बलिदानी गरेर यो सरकार यहाँसम्म आएको भन्दै यो सरकार तत्काल गर्ने काम तत्काल र दीर्घकालिन लक्ष्यका साथ अगाडी बढेको उनले बताइन् ।