काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गरेका छन ।
सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख महराले काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिए ।
प्रमुख सचेतक खाँणले आइतबार माइतीघर मण्डलामा धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको उपहास भएको बताए ।
“संविधान विपरीत बारम्बार विधेयक किन आउँछ ? राम्रोसँग संविधान अध्ययन गरेर विधेयक ल्याइयोस, गुठीको अस्तित्व समाप्त गर्ने नियमप्रति हाम्रो गम्भीर आपत्ति छ, सनातन धर्म संस्कृतिको संरक्षण होस”, उनले भने ।
सत्ता पक्ष नेकपाकी सांसद पम्फा भुसालले आइतबार माइतीघर मण्डलामा भएको दमनको विरोध गरिन । गुठी विधेयक फिर्ता गरी सहमतिका साथ नयाँ विधेयक ल्याउन उनको माग छ ।
“रातो मच्छिन्द्रनाथ जस्ता एक हजार ७०० वर्ष पुराना गुठीको संरक्षण हुनुपर्छ, विधेयकमा आएको व्यवस्था ठीक छैन, यसमा सहमतिको प्रयास होस”, सांसद भुसालले भनिन ।
नेपाली काँग्रेसका पुष्पा भुसालले उपत्यकामै दुई हजारभन्दा बढी गुठी रहेकाले संविधानको गलत व्याख्या गरेर गुठी जग्गामा धावा बोल्न खोजिएकामा आपत्ति जनाइन । लिच्छविकालदेखि चलिआएको धर्म संस्कृति संरक्षणका लागि गुठीको अस्तित्व मास्नु नहुने उनको भनाई छ ।
सांसदहरुको मागलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छिन। राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन, “गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।” मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पारिन ।
निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उहाँले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गरिन । आज बिहान ११ बजेर १० मिनेटमा शुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए । नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगत भएको थियो । सो घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो । सभामा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य होइन भन्दै यसले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भनी आपत्ति जनाउनुभयो । सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईँले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गरे । रासस
SHARE YOUR THOUGHTS