सरकारी रकम व्यक्तिगत प्रयोग गरेको आरोपमा अधिकृतसहति ४ जना विरुद्ध मुद्दा दायर « Eglish Khabarhub

सरकारी रकम व्यक्तिगत प्रयोग गरेको आरोपमा अधिकृतसहति ४ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभा जिल्ला चैनपुर नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत उत्तम रेग्मी समेत ४ जनाले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चैनपुर नगरपालिकाको कार्यकारी अधिकृत रेग्मीले विकास बजेटबाट उक्त कार्यालयमा कार्यरत कर्मचारीहरूको नाममा अनियमित रूपमा ७ लाख ६ हजार ९ सय ९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा परेको हो ।

रेग्मीसहित हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङ्कस प्रा.लि.का संचालक अन्जिता गौतमल विरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुले उक्त रकम झिकी हिनामिना गरेको, व्यक्तिगत प्रयोजनको लागि कार्यालयको कोषबाट जिन्सी सामान खरिद गरी आम्दानी नबाँधेको, झुट्टा बिल बनाइ रकम भुक्तानी लिएको, व्यक्तिगत कामको लागि कोषको रकम दुरुपयोग गरेको देखिएको आयोगले जनाएको छ ।

रेग्मीले अनियमित तवरले कार्यालय सहयोगीको नाममा विभिन्न योजनाहरूलाई भुक्तानी दिन भनी पेश्की निकाली उक्त रकम आफूले खाइमासी हिनामिना गरेपश्चात आफैंले बिल कागजातमा लेखी नक्कली बिल कागजात बनाई सोही बिल कागजात पेश्की फर्छ्यौट गरेको आयोगको भनाइ छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सजाय हुन मागदाबी लिई मिति असार १३ गते विशेष अदालत मुद्धा दायर भएको आयोगले जनाएको छ ।

Publish on: