मद्रास सेक्युरिटीको बदमासी: मास प्रिन्टर पठायो तर कार्ड पठाएन « Eglish Khabarhub

मद्रास सेक्युरिटीको बदमासी: मास प्रिन्टर पठायो तर कार्ड पठाएन




काठमाडौं । निर्धारित समयमा स्मार्ट लाइसेन्स छाप्न कार्ड नपठाउँदा अहिले लक्षित मितिमा पनि स्मार्ट लाइसेन्स छपाइ हुन सकेको छैन ।

स्मार्ट लाइसेन्सका लागि मास प्रिन्टर र स्मार्ट लाइसेन्स छपाइका लागि कार्ड पठाउने जिम्मेवारी पाएको मद्रास सेक्युरिटी प्रिन्टरले समयमै काम नगर्दा स्मार्ट लाइसेन्सको समस्या अझ बढी समय लम्बिने भएको हो ।

सम्झौता अनुसार मद्रास सेक्यूरिटीले सम्झौताको ६० दिन अर्थात गत असार २९ गतेसम्म आपूर्ती गरिसक्नु पथ्र्यो । तर निर्धारित समयमा उपलब्ध गराउन सकेन् ।

त्यसपछि यातायात विभागमा यसअघिका महानिर्देशक कुमार दाहाल हुँदै थप समय माग गरेको थियो । तत्कालिन समयमा सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्नु पर्नेमा उल्टै समय थप गरी मद्रासलाई अझ सहज बनाएको थियो ।

विभागका महानिर्देशक गोगन हमालले मास प्रिन्टर आए पनि छपाइका लागि कार्ड नआएकाले प्रिन्ट गर्न नसकिएको बताए । उनले भने, ‘मासप्रिन्टर आयो तर कार्ड आइपुगेको छैन, हामीले बारम्बार लिखित तथा मौखिक रुपमा चेतावनी दिइसकेका छौं ।’

हमालका अनुसार कम्पनीले अर्को सातासम्म ४ लाख कार्ड पठाउने भनेको छ । कम्पनीले बिहीबार नेपालमा कार्ड आइपुग्ने र सोमबारसम्म हातपर्ने सूचना पठाएको हमालले बताए ।

यसअघि असारसम्म मास प्रिन्टर र कार्ड ल्याउने र तीन महिनाभित्रमा समस्या समाधान गर्ने भनिएको थियो । तर नागरिकसँग सोझो सरोकार राख्ने काममा यसरी ढिलासुस्ती हुँदा पनि सरकारले कम्पनीलाई केही पनि गर्न सकेको छैन ।

उक्त मासप्रिन्टिरबाट दैनिक ८ हजारभन्दा बढी स्मार्ट लाइसेन्स छपाई गर्ने र तीन महिनामा पुरानो स्टक सकाउने लक्ष्य लिएको छ । अहिले ३ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छपाई हुन नसकी स्टकमा छन् । भने दैनिक ५ हजारभन्दा बढी नयाँ लाइसेन्स छपाईका लागि थप हुन्छन् ।

प्रिन्टर खरिदका लागि एसएसपीसँग ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले भएका ६ वटा मेसिनबाट दैनिक ३ हजारको हाराहारीमा कार्ड प्रिन्ट भइरहेको छ । त्यतिले माग धान्न नसकेपछि विभागले दैनिक ८ हजार कार्ड छाप्नका सक्ने प्रिन्टर खरिद गरेको हो ।

विभागका महानिर्देशक हमालका अनुसार सोमबार आइपुग्यो भने मंगलबारबाट काम सुरु हुनेछ ।

Publish on: