कुल निर्यातमा डाबर नेपालको हिस्सा साढे ६%, १० अर्बको कारोबार हुँदा ७३ करोड नाफा « Eglish Khabarhub

कुल निर्यातमा डाबर नेपालको हिस्सा साढे ६%, १० अर्बको कारोबार हुँदा ७३ करोड नाफा



काठमाडौं । नेपालले गर्ने कुल निर्यातमा डाबर नेपाल प्रालिको मात्र हिस्सा साढे ६ प्रतिशत देखिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालले ९७ करोड ११ करोड बराबरको निर्यात गरेको थियो ।

डाबर नेपाल प्रालिले गत आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ३३ करोड बराबरको निर्यात गरेको थियो । नेपालमा रहेको उद्योग प्रतिष्ठानबाट सबैभन्दा बढी रकमको निर्यात गर्ने कम्पनी डाबर नेपाल प्रालि हो ।

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ गरेर दुई आर्थिक वर्षमा डाबर नेपाल प्रालिले १२ अर्ब ७० करोड रुपैयाँ निर्यात गरेको छ । डाबर नेपाल प्रालिले आफुले उत्पादन गर्ने वस्तु भारतमा निर्यात गर्छ ।

सरकारले सबैभन्दा बढी भारत तर्फ निर्यात गरेको भन्दै डाबर नेपाल प्रालिलाई महत्वपूर्ण व्यवसायिक सम्मान(सीआईपी) दिन थालेको छ ।
डाबर नेपाल प्रालिले गत आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँको वस्तु उत्पादन बिक्री गरेको थियो । डाबर नेपाल प्रालिले आफ्नो आम्दानीमा करिब ६० प्रतिशत निर्यात व्यापारबाट कमाउने देखिन्छ ।

डाबर भित्रिएको ३० वर्षपछि राष्ट्र बैंकले खोज्यो लगानीको स्रोत, २ वर्षदेखि लाभांश रोक्का

डाबर नेपाल प्रालिले गत आर्थिक वर्षमा ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यो लेखा परिक्षण अगाडिको नाफा हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७४ मा ७६ करोड ६० लाख नाफा गरेको थियो । यो भने लेखापरिक्षणपछिको नाफा हो । आर्थिक वर्ष २०७३/७४ मा डाबरको नाफा ६८ करोड ९० लाख रुपैयाँ थियो ।

डाबर नेपाल प्रालिले ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिनको लागि गराएको रेटिङमा उत्कृष्ट रेटिङ ए प्लस पाएको छ । यो भनेको उत्कृष्ट रेटिङ हो ।
केयर नेपालले चिनीको मूल्यले भने व्यवसायलाई प्रभावित बनाउन सक्ने सुझाव दिएको छ ।

डाबर नेपाल प्रालिले अल्पकालिन अवधीको लागि वर्किङ क्यापिटल ५ अर्ब ६० करोड रुपैयाँ,यस्तै अल्पकालिन वर्किङ क्यापिटलको लागि ५० करोड र अल्पकालिन एलसीको लागि ५० करोड रुपैयाँ ऋण लिन लागेको हो ।

सन् १९८९ मा स्थापना भएको डाबर नेपालले नेपालमा व्यवसायिक उत्पादन सन् १९९२ देखि सुरु गरेको थियो । डाबर नेपाल प्रालिमा ९७.५० प्रतिशत सेयर हिस्सा डाबर इन्टरनेशनल लिमिटेडको रहेको छ । बाँकी २.५० प्रतिशत सेयर हिस्सा रुक्म शमशेर राणाको रहेको छ ।

Publish on: