काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि भारतका चार्ज डे अफेयर्स डा. अजय कुमारबीच भारतीय दूतावासमा भेटघाट एवं छलफल सम्पन्न भएको छ ।
छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दुतावास तथा परिसंघ मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गरेका थिए ।
चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तिब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए ।
विराटनगरमा आइसिपि निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउदै भारत नेपालमा लगानी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजिकरण गर्न सधैँ तयार रहेको बताए ।
उक्त भेटवार्तामा परिसंघका उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS