लसुनमा कोरोना भाइरसको असर, कालोबजारीले २ सातामा दोब्बर मूल्यवृद्धि « Eglish Khabarhub

लसुनमा कोरोना भाइरसको असर, कालोबजारीले २ सातामा दोब्बर मूल्यवृद्धि



काठमाडौं । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने जति ठूला गफ गरे पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न भने चुकेको छ । दशैं तिहार जस्ता चाडपर्वमा बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्ने बाहना गरे पनि अन्य समयमा भने सरकार चुकेको प्रष्ट देखिएको छ ।

यसको उदाहरण हो, पछिल्लो समय २ साताभित्रै लसुनमा भएको दोब्बरबढी मूल्यवृद्धि ।

चीनको वुहान क्षेत्रमा २ साताअघि देखिएर तीव्ररुपमा फैलिरहेको नोबेल कोरोना भाइरसका कारणले अहिले चीनबाट आयात हुने लसुन ठप्प भएको छ । जसले गर्दा बजारमा ग्राहक लसुन खरिद गर्दा दोब्बरबढी मूल्य तिर्न बाध्य भएका छन् ।

माघ १ गते कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूची अनुसार चिनियाँ लसुनको मूल्य औसतमा प्रतिकेजी २५० रुपैयाँ थियो तर माघ १८ गतेदेखि नै दोब्बरले मूल्य बढेर औसातमा प्रतिकेजी ५०० रुपैयाँ पुगेको छ । हालसम्म पनि बजारमा सोही मूल्ममा चाइनिज लसुन खरिद बिक्री भइरेको छ ।

हाल नेपालमा लसुन उत्पादनको सिजन नभएको हुँदा नेपालको माग अनुसारको आपुर्ति गर्न चीनबाट लसुन आयात भइरहेको थियो । नेपालमा लसुनको बेसिजनको समयमा भारतबाट नगन्य मात्रामा मात्र लसुन आयात हुने हुँदा त्यसको फाइदा व्यापारीहरुले लिएका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि २ साता अघिदेखि नेपाललगायतका अधिकांश देशसँगको भन्सार नाका बन्द भएको छ । नेपालको चीनसँग जोडिएका ६ वटा नाका छन् । जसमा तातोपानी र केरुङ नाकाबाट मात्र सामान आयात निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म चीनबाट १६ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरका १५ लाख ९६ हजार केजी लसुन नेपाल आयात भएको थियो, भने भारतबाट २५ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार केजी लसुन आयात भएको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सामान ढुवानी कुनै पनि कन्टेनर चीनबाट नेपाल नआएको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले क्लिकमाण्डूलाई बताए ।

‘अहिले चीनबाट कुनैपनि सामान आयात भएको नै छैन्’ उनले भने, ‘पहिले नै चलान भइसकेका केही कन्टेनरहरु बीच बाटोमा आइरहेको भएमा मात्र केही सामानव वस्तु तथा सामान मात्रै नेपाली बजारमा आउँछन् ।’

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि छुटेका कन्टेनर नेपालमा आइपुग्न अझै १ महिना लाग्ने उनको भनाइ छ । चीनमा कोरोाना भाइरसको संक्रमाण बढेको करिब २ साता बढी भयो । संक्रमण बढेपछि चीनले साम्पूर्ण आवतजावत रोकेको हो ।

त्यसअघि नेपालमा सामान्यतया नै वस्तु तथा सामान आयात निर्यात भइरहेको थियो । हाल नेपालमा बिक्री वितरण भइरहेका सबै चाइनिज वस्तु तथा सामानहरु २/३ महिना अगावै चीनबाट आयात गरिएका हुन् । जसको मूल्यमा कोरोना भाइरस संक्रमणको कुनैपनि असर पदैन् ।

व्यापारीहरुले चीनबाट ३ महिना अगाडि खरिद गरेर नेपाल भित्र्याएका वस्तु तथा सामान हाल कोरोना भाइसरको संक्रमणले गर्दा चीनबाटै मंहगो मूल्यमा ल्याएका भन्दै ती सामानहरुको मूल्यवृद्धि गरिरहेका छन् ।

अनुगमन गर्दै सरकार
बजारमा अस्वाभिक रुपमा चिनियाँ लसुनको मूल्यवृद्धि भएपछि सरकारले त्यसको बजार अनुगमन गर्ने भएको छ । व्यपारीहरुले लसुनमा अत्यधिक मूल्यवृद्धि गरेको गुनासो आएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण हित विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

‘व्यापारीहरुले स्टकमा रहेको लसुन बिक्री गरिरहेका छन्, स्टकको सामान बिक्री गर्दा माग अनुसार बजार भाऊ केही बढ्नु सामान्य हो तर सामान्य मूल्यमा नै आयातित वस्तुको मूल्य दोब्बर बनाउनु कालोबजारी हो,’ उनले भने ।

उनले गुनासो बढिरहेको कारण अब तुरुन्तै त्यसको बजार अनुगमन गरेर दोषीलाई कारवाही गर्ने बताए ।

‘कालोबजारी गरेको पुष्टि भएमा व्यापारीहरु कारबाहीमा पर्छन्, दोषी भेटिए ३ लाख रुपैयाँ जरिवाना सहित अन्य प्रमाणको आधारमा जेल सजायसम्म हुन्छ,’ उनले भने ।

अहिले विभागले भन्सारको आयात विवरण र ठूला होलसेल व्यापारीसँग विवरण माग गरी अध्यान गरिरहेको र त्यसैका आधारमा नै बजार अनुगमन गरी दोषी ठहर हुनेलाई कारबाही गर्ने उनले जानकारी दिए ।

सरकारको लापरवाहीको मारमा उपभोक्ता
विभिन्न बहानामा व्यापारीहरुले मूल्यवृद्धि गर्दा चर्को मूल्यवृद्धिको चपेटामा आम उपभोक्ताहरु परेका छन् । व्यापारीले सरकारी नीति परिवर्तन र अन्य कुनैपनि आपतकालीन अवस्थाको फाइदा उठाएर मूल्यवृद्धि गर्दा सरकारले वास्ता नगरेको कन्जुमर आई नेपालको अध्यक्ष विमला खनालले क्लिकमाण्डूलाई बताइन् ।

‘लसुनको भाउ अहिले सुन जस्तै महंगिएको छ, व्यापारीले आफूखुसी उपभोक्तालाई दादागिरी देखाएर नै मूल्य बढाएका छन्,’ उनले भने । यसरी अस्वाभिक मूल्यवृद्धि हुँदा पनि सरकारले कानमा तेल हालेर नै बसेको उनले आरोप लगाइन ।

‘बजार अनुगमन त हुन्छ तर जनता मूल्यवृद्धिले पिल्छिसकेपछि मात्रै, अनुगमन पनि सरकारले देखाउनका लागि मात्रै प्रभावकारिता भने शुन्य हुन्छ,’ उनले भनिन् ।

कुनैपनि क्षेत्रमा अथवा वस्तु तथा सामानको मूल्यवृद्धिको सम्भावनाको पहिले नै अध्ययन गरी सरकारले त्यसको नियन्त्रण र विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

Publish on: