काठमाडौं । नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काफ्लेले उक्त रकम गैर कानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको छ ।
काफ्लेले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाई राखेको आयोगको भनाइ छ ।
काफ्लेले गैरकानूनी रुपमा २०५४ पुस १ गतेदेखि २०७६ वैशा ३० सम्म १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ आर्जन गरेको र ७ करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेका छन् । काफ्लेको आम्दानी र खर्च हेर्दा ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बराबरको ब्यय तथा लगानीको स्रोत नखुलेको देखिएको छ ।
काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि भएको आयोगको भनाइ छ । जसले गर्दा काफ्लेले साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको छ ।
आयोगले काफ्लेलाई बिगो ५ करोड४३ लाख २७ हजार ९९ रुपैयाँ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी काफ्ले र श्रीमती सुशिला काफ्लेको नाममा रहेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत र उनीहरुको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने आयोगको भनाइ छ ।
काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती सुशिला काफ्लेको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम सुशिला काफ्लेबाट जफत गर्ने प्रयोजनको लागि काफ्लेलाई समेत प्रतिवादी कायम गरी उनको नाममा सम्पत्तिसमेत जफत गर्न मागदाबी लिई आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।
SHARE YOUR THOUGHTS