काठमाडौं । कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७६/७८ को नाफाबाट लाभांश नपाइने हो कि भनेर चिन्तित लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले खुसीको खबर दिने भएको छ ।
मौद्रिक नीतिमार्फत् लाभांश दिन पाउने व्यवस्था मिलाउने भएको छ ।
शुक्रबार दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरिएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नगद लाभांशमा कडाइ गर्दै बोनस सेयरलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रीय बैंकले नगद लाभांशमा अधिकतम सीमा नै तोक्ने भएको छ ।
राष्ट्र बैंकको व्यवस्थापन समितिले बिहीबार सन्चालक समितिसमक्ष पेश गरेको नयाँ मौद्रिक नीतिको अन्तिम मस्यौदामा बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरेको छ ।
यदी कुनै बैंकले २० प्रतिशत लाभांश दिन सक्ने क्षमता भएमा उसले ४ प्रतिशत नगद लाभांश दिनेछ भने १६ प्रतिशत बोनस सेयर दिने छ । शुक्रबार बिहान साढे ८ बजे सन्चालक समितको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिनेछ ।
‘सन्चालक समितिले केही हेरफेर गर्न सक्छ, तर मोटामोटी यही नै हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
लाभांश बाँड्न रोक लगाउँदा बैंकिङ क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजारमा पहिरो जानसक्ने सम्भावनालाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको स्रोतले जानकारी दियो ।
‘नगद लाभांशको सीमा तोक्नुको कारण भने सिस्टममा भएको रकम व्यक्तिको हातमा पुग्दा वित्तीय क्षेत्रमा तरलता अभाव हुनसक्ने जोखिमलाई कम गर्नु हो, बोनस बाँड्दा बैंकमा भएको पैसा बैंकसँगै हुने भएकाले तरलतामा चाप पर्दैन,’ केन्द्रीय बैंक स्रोतले भन्यो ।
यस्तै सेयर लगानीकर्ताले माग गरेको सेयर धितो कर्जाको मूल्यांकन ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याउने नीति केन्द्रीय बैंकले मौद्रिक नीतिबाट लिने भएको छ ।
SHARE YOUR THOUGHTS