![](https://internal.appharu.com/wp-content/uploads/2017/04/Ilam.jpg)
केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई वर्षअघिको चिया मापदण्ड कार्यान्वयन भएको/नभएको बुझ्न उद्योग गएको अनुगमन टोलीले आफूहरूको आँच आउने काम गरेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् ।
नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको/नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ ।
‘उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको’, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।
नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ ।
नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन् ।
SHARE YOUR THOUGHTS