काठमाडौं । नेपालको भौतिक निर्माणको इतिहासमा कालो सूचीमा धेरै परेको ठेकेदार कम्पनीको रुपमा पप्पू कन्स्ट्रक्सनको नाम अग्रपंक्तिमा नै आउँछ । सोही कम्पनीले जिम्मा लिएका अधिकाशं पुलको काम अलपत्र छ ।
लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियामार्फत अघि बढाउने तयारी थालिएको छ ।
पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेपछि अहिले नयाँ ठेक्कामा जाने तयारी थालिएको सरकारी भनाइ छ । तर, सरकारको काम गर्ने शैली र तरिका हेर्दा, त्यो तयारीको समय के कति हो भन्ने अहिल्यै भेऊ पाउन समेत मुस्किल रहेको छ ।
विसं २०७१ पुसमा सडक विभागले पप्पु कन्स्ट्रक्सनसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
पप्पूले २१ करोड ३३ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएकामा ठकेदारलाई ३ करोड ४६ लाख रुपैयाँ भुक्तानी भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दिइएको रकमले के कति काम भयो देखिएको जनाएको छ ।
आयोजनाले चालू आवभित्रै नयाँ ठेक्कामा गइसक्ने योजना बनाएको छ । अहिले पुरानो ठेक्काका कतिपय काम बाँकी रहेकाले सकाएर नयाँ ठेक्कामा कसरी जाने भनी योजना बनाइने आयोजनाका प्रमुख गुरु अधिकारीले बताए ।
उनका अनुसार पहिलेको कम्पनीले गरेका निर्माणका काममध्ये कति स्वीकार गर्ने भनी हेरिन्छ । पुरानो ठेक्काको मूल्यांकन गरेपछि गरेको कामको भुक्तानी दिइनेछ । बाँकी कामको २५ प्रतिशत पैसा तानेर नयाँ ठेक्कामा जाने तयारी छ । कम्पनीले निर्माण गरेको ४ वटा फाउण्डेशनमध्ये एउटा मात्रै स्वीकार गर्न सकिने देखिएको छ ।
‘बाँकी तीन जगको प्राविधिक परीक्षण गरेर सही देखिएमा मात्रै स्वीकार गर्न सकिन्छ, अन्यथा, त्यो फाउण्डेशन समेत भत्काउनुपर्ने हुन्छ,’ उनले भने ।
अहिलेसम्म निर्माण भएका संरचनामध्ये प्राविधिकरुपमा समस्या देखिएका संरचना भत्काउनेसम्मको खर्च कम्पनीले नै बेहोर्नुपर्ने छ । पहिले डिजाइन एण्ड बिल्ड ढाँचामा डिजाइन गर्ने कम्पनीले नै ठेक्कामा निर्माण भएकामा अब डिजाइन कसले गर्ने भनी टुंगो लगाउन बाँकी छ । इञ्जिनियरिङ अध्ययन प्रतिष्ठानलाई दिने वा निर्माण कम्पनीलाई दिने भनी विभागले नै तय गर्ने छ ।
आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोवीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई/दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि तीनकुनेको निर्माण अघि बढ्न सकेको थिएन ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले केही दिन पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका क्रममा भएको समस्यामा समाधान गर्न निर्देशन दिएको छ ।
समितिले गत वर्षको असारमा पुल निरीक्षण गरेर निर्माणका क्रममा भएका समस्या सच्याउन निर्देशन दिएको थियो । पुलमा प्राविधिक समस्या पाइएपछि सरकारले गत भदौ ३१ मा बनेको संरचना भत्काएर नयाँ बनाउन भनेको थियो ।
विभागले असोज १३ मा ठेक्का अन्त्य गर्ने सूचना प्रकाशन गरेको थियो । त्यसपछि विभागले मंसिर ८ मा ठेक्का तोडेपछि कम्पनीले कालोसूची फिर्ता गर्न र मध्यस्त नियुक्त गर्न माग गर्दै मुद्दा दायर गरेको थियो ।
कम्पनीले उच्च अदालतमा दुई र काठमाडौं जिल्ला अदालतमा दुई मुद्दा हाले पनि सबै खारेज भएको थियो ।
कोभिड–१९ को सङ्क्रमण शुरु भए पनि कालोसूचीमा राखिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । सो कम्पनीलाई सन् २०२३ को फेबु्रअरीसम्म कालोसूचीमा राखिएको छ ।
नेपालमा पहिलोपटक नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलको तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागको भनाइ छ ।
माइतीघरदेखि सूर्यविनायकसम्मको सडक ६ लेनको भए पनि यी दुई पुल ४ लेनको छ । भक्तपुरतर्फ जाने सडकमा माइतीघरबाटै सडक जाम हुने भएकाले त्यो कम गर्न नयाँ पुल विस्तार गर्न लागिएको थियो ।
SHARE YOUR THOUGHTS