काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले सहकारी-सहकारी बीच बृहत् एकीकरण अभियान संचालन गर्ने भएको छ ।
७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहत् एकीकरण अभियान संचालन गर्न लागेको जानकारी गराएको छ ।
सहकारीको २२ औं साधारणसभाले बृहत् एकीकरण अभियान संचालन गर्न अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी बनाएको छ । उक्त कमिटी मार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय गरिने छ ।
संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए ।
‘स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन’ उनले भने, ‘त्यसका लागि एक-दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहत् एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।’
अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स-सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन ।
यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए ।
संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमा पनि सहकारी संस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।
बृहत एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रह गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS