कहिले खुल्ला पृथ्वी राजमार्ग ? पहिरो पन्छाउने काम जारी « Eglish Khabarhub

कहिले खुल्ला पृथ्वी राजमार्ग ? पहिरो पन्छाउने काम जारी



काठमाडौं । अविरल वर्षाका कारण राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड खुलाउने प्रयास जारी छ ।

गत सोमबारदेखि पहिरोका कारण बन्द भएको सो राजमार्ग शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको सरकारी तहबाट जानकारी दिएपनि काम भने प्रभावकारी हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ ।

विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए । बिहिबार बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ ।

नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रमुख अधिकारीले भने ‘ थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ ।’

सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।

राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको बताइएको छ । तर स्थानीयबासीले भने काम प्रभावकारी नभएको भन्दै गति दिन आग्रह गरेका छन् ।

ठाउँठाउँमा एकतर्फी सडक खुलाइएको छ । ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए ।

यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ ।

धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन् । यही साउन ४ गतेबाट देशैभर अविरल वर्षा भइरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ ।

Publish on: