काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै बजारमा तरकारीको मूल्य निकै आकासिएको छ ।
सरकारले चैतमा लकडाउन गरेसँगै माग कम हुँदा तरकारीको मूल्य निकै सस्तिएको थियो । तर लामो बन्दाबन्दीपछि गत साउन ६ गतेबाट लकडाउन खुकुलो गरेको हप्तादिनमै तरकारीको मूल्यमा निकै वृद्धि भएको थियो ।
पछिल्लो समय साउनको अन्तिम साताबाट तरकारीको मूल्य बढेर साढे २ सय प्रतिशतसम्म वृद्धि भएको छ ।
हरेक वर्षझैं वर्षातको समयमा तरकारी उत्पादन कम हुने र बाढी पहिरोका कारण ढुवानीमा समस्या हुने भएकाले तरकारीको मूल्यमा वृद्धि हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यो बेला तरकारी उत्पादन कम हुने भएकाले बजारमा आपूर्ति कम र माग बढ्दो भएकाले तरकारीको मूल्य कम हुन नसकेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । दुई साताअघिको तुलनामा बजारमा हरेक तरकारीमा १० देखि २० रुपैयाँले वृद्धि भएको पाइन्छ ।
कुन–कुन तरकारीको मूल्य कतिले वृद्धि
सरकारले गत साउन ६ बाट लकडाउन खुकुलो गरेसँगै बजारमा तरकारीको मूल्य केही मात्रामा वृद्धि भएता पनि भदौमा आइपुग्दा झन तरकारीको मूल्य निकै आकासिएको छ ।
गत साउन ६ मा गोलभेडा सानोको औसत मूल्य प्रति केजी १८ थियो भने अहिले बढेर ६२ पुगेको छ ।
गोलभेडा सानो (टनेल) को औसत मूल्य अहिले बढेर ६८ पुगेको छ भनेगोलभेडा ठूलोको मूल्य ६७ पुगेको छ ।
यसका साथै नेपाली भान्सामा धेरै प्रयोग हुने रातो आलुको मूल्य प्रतिकेजी साउनमा ५५ रहेकोमा अहिले बढेर ६७ पुगेको छ । त्यसैगरी, भारतीय रातो आलु, रातो मुडेको आलुको मूल्य गत साउनमा ३१ र ४९ थियो ।
तर अहिले यी तरकारीको मूल्य क्रमशः ५७ र ६१ रुपैयाँ पुगेको छ । जसमा रातो आलु र मुडेको आलु क्रमशः २१.८२ र २४.४९ ले वृद्धि भएको छ ।
साथै, काउली, सुकेको प्याज, बन्दा, काउली स्थानीय, मूला सेतो (लोकल, हाइब्रिड), भन्टा, लाम्चो, बोडी, घिउसिमिलगायत अन्य सबै प्रकारको तरकारीमा २० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको छ ।
बजार आपूर्तीमा समस्या
हरेक वर्ष वर्षातको समयमा तरकारी आकासिने भएता पनि अहिले भने बजार आपूर्तीमा प्रभाव परेको समितिका सुचना अधिकारी श्रेष्ठ बताउँछन् ।
‘सरकारले कोरोना संक्रमण फैलिएको भन्दै जोर–बिजोर तथा आवगमनमा कडाइ गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बजार आगमन सजिलो छैन र बजार सामान्य हुन सकेको छैन जसले गर्दा मूल्य कम हुन सकेको छैन ।’
उनका अनुसार काठमाडौंमा तरकारी ल्याउन चाहेपनि तरकारी व्यावसायीहरू ल्याएपश्चात फर्कन पाउँछ वा पाउँदैन् भन्ने अन्योलताले पनि बजारमा तरकारी ल्याउन नसकेको उनले बताए । जसले गर्दा धेरै अप्ठ्यारो परिस्थिति सामाना गर्नुपरेको उनको भनाइ छ ।
साथै, आन्तरिक उत्पादन कम हुने र आयात पनि कम हुने भएकाले तरकारीको मूल्य कम नभएको उनले बताए । कोरोनाले गर्दा तीज राम्रोसँग मनाउन नपाएका कारणले पनि अझ मूल्यमा केही कमी हुन पाएको उनको दाबी छ । साथै, यो समस्या यो वर्षको मात्रै नभई हरेका वर्ष यही समयमा समस्या हुने गरेको उनले जानकारी दिए ।
कुन तरकारीको मूल्य कति ?
अधिकांश तरकारीको मूल्य बढेको छ । आइतबार समितिले तोकेको मूल्यमा प्याज सुकेको भारतीयको ३९, लोकल बन्दा ४८, काउली स्थानीयको ११५, सेतो मूला लोकल, सेतो मूला हाइब्रिड र भन्टा लाम्चोको ५८, बोडी (तने) १०५, घिउसिमी (लोकल, हाइब्रिडको) ११५, भटमासकोशा १०५ रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी परवल लोकल ९५, तितो करेला १८, लौका, चिचिण्डो र फर्सी पाकेकोको ३८, घिरौला १८, हरियो फर्सी र भिण्डीको ६५, रायो, पालुङ्गो, चमसुर सागको ८५, प्याज हरियो १४५, कागती २४५, काक्रो (लोकल) ४८, हाइब्रिड १८, खुर्सानी हरियो ९८ रुपैयाँ तोकेको छ ।
कुन तरकारीको मूल्य घट्यो
अधिकांश भान्सामा प्रयोग हुने तरकारी वृद्धि भएता पनि केही तरकारीको मूल्यमा भने गिरावट आएको छ । जसमा भटमासकोशा १६ प्रतिशतले घटेको छ ।
त्यसैगरी, तितो करेला गत साउनमा ३८ थियो भने अहिले घटेर १८ पुगेको छ । जुन ५२.६३ प्रतिशतले कमी हो । त्यसैगरी लौका , परवल लोकल, चिचिण्डो, घिरौला, झिगूनी, स्कूस, न्यूरो, तामा, काक्रो लोकल, खुर्सानी हरियो, हरियो धनिया, लसुन सुकेको चाइनिज र नेपालीको मूल्य घटेको छ
SHARE YOUR THOUGHTS