कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाले किन खोज्छन् घर जग्गा ? « Eglish Khabarhub

कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाले किन खोज्छन् घर जग्गा ?




काठमाडौं । बैंकिङ इतिहासको शुरुआतमा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग कृषि उपजलगायत भण्डारण रहेका सामान वा (कृषि तथा गैर/कृषिजन्य वस्तु) चालु सम्पत्ति धितोको रुपमा राख्थे ।

पछिल्ला दिनमा त्यसको स्वरुप फेरिएको छ । बैंक तथा वित्तीय संस्थाले घर जग्गा नै सुरक्षणमा राखेर कर्जा दिने गरेका छन् ।

बिना धितो वा चालु पुँजीको आधारमा कर्जाका विभिन्न योजना ल्याएपनि बैंक तथा वित्तीय संस्थाले घर जग्गालाई मात्र बलियो कर्जा सुरक्षण मानेको नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाले कुल ३२ खर्ब ६६ अर्ब बढी कर्जा लगानी गरेका छन् । जसमध्ये ६५.७ प्रतिशत अर्थात् २१ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बढी घर जग्गा धितोमा कर्जा प्रवाह गरेको पाइएको छ ।

कूल कर्जाको १३ प्रतिशत अर्थात ४ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँ मात्र चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । जसमध्ये कृषिजन्य वस्तु धितोमा ३० अर्ब ६० करोड रुपैयाँ प्रवाह भएको छ ।

जुन कूल प्रवाहित कर्जाको ०.९३ प्रतिशत हो । भने, गैर कृषिजन्य वस्तु धितोमा ३ खर्ब ९४ अर्ब ३१ करोड रुपैयाँ प्रवाह भएको छ । जुन कूल प्रवाहित कर्जाको १२.०७ प्रतिशत हो ।

अघिल्लो आवको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २९ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जसमध्ये घरजग्गा धितोमा ६४.४ प्रतिशत अर्थात् १८ खर्ब ७४ अर्ब ९१ करोड रुपैयाँ र चालु सम्पती धितोमा कूल कर्जाको १३.५ प्रतिशत अर्थात् ३ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ प्रवाह भएको थियो ।

विकसित देशहरुमा हेर्ने हो भने नै कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई विश्वासका आधारमा (बिनाधितो) र धितोे मूल्यांकनका आधारमा ऋण दिने गर्दछन् ।

जनताको पैसाको बलियो सुरक्षण प्रायः बैंक तथा वित्तीय संस्थाले घर जग्गालाई नै मान्छन्

नयाँ खोज तथा नवप्रवर्तनका परियोजनालाई बिना धितो नै बैंकहरुले ऋण दिँदा त्यस्ता देशको आर्थिक विकास चाँडै भएको जानकारहरु बताउँछन् ।

जोखिम न्यूनिकरणका लागि बैंकहरुले कर्जामा धितो खोज्ने गरेको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टको भनाइ छ ।

‘बैंकहरु सर्वसाधारण जनताको निक्षेप लिएर कर्जा प्रवाह गरेका हुन्छन्,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘जनताको पैसाको बलियो सुरक्षण प्रायः बैंक तथा वित्तीय संस्थाले घर जग्गालाई नै मान्छन्।’

नेपालको परिवेशमा अहिले नै निक्षेपको सुरक्षाको प्रत्याभूति गर्ने किसिमको चालू व्यापार व्यवसाय वा वर्किङ क्यापिटलको धितोमा गर्दा दिन बैंक विश्वस्त नभएको कारणले घर जग्गा धितोमा कर्जा बढी प्रवाह भएको उनले बताए ।

बैंकहरुले धितोमा मात्रै कर्जा दिन खोज्नुको मुख्य कारण भनेको कर्जाको जोखिम कम होस भनेर नै हो ।

कर्जाकोे गुणस्तरमा सचेत हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय मुद्राकोष विश्व बैंकले समेत समय समयमा भनिरहेका छन् । त्यसैले कर्जा नडुबोस् भनेर बैंकहरु सचेत भइ धितो सुरक्षणमा नै कर्जा प्रवाह गर्ने गरेको माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको भनाइ छ ।

नेपालको परिवेशमा साना तथा मझौला कर्जा बढी प्रवाह भएको हुन्छ, जसको सुरक्षणको लागि घर जग्गा नै बढी प्रयोगमा आउँछ

‘राष्ट्र बैंकले नै धितो सुरक्षणमा कर्जा दिनुपर्ने भनेको छ,’ उनले क्लिकमाण्डूसँग भने,‘नेपालको परिवेशमा साना तथा मझौला कर्जा बढी प्रवाह भएको हुन्छ, जसको सुरक्षणको लागि घर जग्गा नै बढी प्रयोगमा आउँछ ।’

अहिलेसम्म बैंकहरुले धितोको आधारमा बढी कर्जा प्रवाह गरेका भएपनि अगामी दिनमा भने इनोभेटिभ आइडिया र प्रोजेक्ट फाइनान्सिङमा पनि लाग्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले सवारी साधन, मेशिनरी तथा उपकरण फर्निचर एण्ड फिक्चर, र अन्य सम्पती धितोमा समेत कर्जा प्रवाह गरका छन् ।

सो शीर्षकका धितोमा बैंकहरुले छुट्टै प्रयोजनका लागि नभएर धितोमा राखिएको सम्पती खरिद गर्नका लागि अर्थात् फाइनान्सिङमा प्रवाह गरेका हुन् ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले सवारी साधान धितोमा १ खर्ब ९० अर्ब ६५ करोड रुपैयाँ प्रवाह गरेका छन् । जुन कुल प्रवाहित कर्जाको ५.८३ प्रतिशत हो ।

यस्तै मेशिनरी तथा उपकरण धितोमा ८० अर्ब ३ करोड रुपैयाँ, फनिचर एण्ड फिक्चर धितोमा १ अर्ब ९० करोड रुपैयाँ, र अन्य सम्पती धितोमा ७० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट सुनचाँदीको धितोमा ३८ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । जुन कूल प्रवाहित कर्जामा १.१७ प्रतिशत हो ।

अघिल्लो आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब २४ करोड रुपैयाँ सुन चाँदी धितोमा कर्जा प्रवाह गरेका थिए ।

साथै सरकारी ऋणपत्र धितोमा ४६ करोड ६२ लाख रुपैयाँ, गैरसरकारी ऋणपत्र धितोमा ३९ अर्ब ७७ करोड रुपैयाँ र मुद्दति निक्षेप धितोमा २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

Publish on: