रानीपोखरी पुनर्निर्माणको अनुगमनमा मेयर शाक्य, ८५ % काम सम्पन्न « Eglish Khabarhub

रानीपोखरी पुनर्निर्माणको अनुगमनमा मेयर शाक्य, ८५ % काम सम्पन्न



काठमाडौं। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।

रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न रानीपोखरी पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई समितिले यस्तो जानकारी दिएको हो ।

‘रानीपोखरी पुनर्निर्माणको काम शत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले भने, ‘लकडाउनको अवधीमा पनि हामीले पुनर्निर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’

स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा-१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिए । ‘उहाँहरुसँग समन्वय गर्दै समितिले पुर्ननिर्माणको काम सम्पन्न गर्ने चरणमा पुर्याएको छ । यो खुशीको कुरा हो,’ स्थापितले भने, ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुनर्निर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’

अुनगमनपछि मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय-सुझाव अनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए ।

‘कामलाई विवादरहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौँ,’ उनले भने, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ ।’

उनले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराए । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह-सुझाव अनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ ।’

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुर्ननिर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताए ।

‘काठमाडौँ महानगरपालिकालगायत सबैले पूर्ण सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि सबैको सहयोगको अपेक्षा गर्दै हामीले कामको थालनी गरेका थियौँ,’ उनले भने, ‘पौराणिक महत्वको पुरात्वात्कि ठाउँमा पुनर्निर्माण गर्ने काममा हामीलाई अनुकुल वातावरण प्राप्त भएकै कारण यो अवस्थासम्म आएका हौँ ।’

उनले काठमाडौँको मौलिकतालाई पुर्नर्जिवन दिने काम भैरहेको पनि जानकारी दिए । ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुनर्निर्माण गरेका छौँ,’ उनले भने, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौँ । ०७६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो । मौलिकतालाई केलाई-केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो ।’

उनले कालोमाटो राख्नु पर्ने र त्यो खोज्नका लागि पनि धेरै मेहनत गर्नुपर्ने परेको जानकारी दिए । ‘हामीले सबै प्रकारका परिक्षण सम्पन्न गरेका छौँ,’ उनले भने, ‘अब अन्तिम तयारीमा छौँ । लकडाउनका कारण केही लम्बिएको छ ।’

तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिए । उनका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ । त्यसले नपुगे बाहिरी स्रोतबाट राख्ने योजना रहेको छ ।

‘त्यसका लागि रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्ने विकल्प बारेपनि हामीले सोचेका छौँ,’ उनले भने । तुलाधरका अनुसार पोखरी पुनर्निर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौर्दर्यीकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुर्ननिर्माण भइरहेको छ ।

Publish on: