बीमा समितिका अध्यक्ष भन्छन्- कोरोना बीमालाई समय सापेक्ष बनाइएको हो « Eglish Khabarhub

बीमा समितिका अध्यक्ष भन्छन्- कोरोना बीमालाई समय सापेक्ष बनाइएको हो



काठमाडौं । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या बढ्दै गएपछि कोरोना बीमा निर्देशिका संशोधन गरेको बताएका छन् । समितिले कोरोना बीमा निर्देशिका संशोधन गरेका बारेमा प्रष्ट्याउँदै विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरेको बताए ।

‘पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ,’ अध्यक्ष चापागाँईले भने, ‘विभिन्न विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको हो ।’

यस्तै उनले कोरोना बीमाको भुक्तानीबारे स्पष्ट पार्दै बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमांक रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए ।

त्यसबाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकम सहित बिल भरपाईको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने प्रष्टपारे ।

‘कोरोना बीमाको पुरानै व्यवस्था सहित स्वास्थ्य बीमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको हो’ अध्यक्ष चापागाईंले भने ‘ कोरोना बीमा बीमा समितिले बीमितलाई कोभिड-१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरिएको छ ।’

उनले भदौ २८ गते सम्मका बीमितको हकमा पुरानै व्यवस्था लागू हुने तर भदौ २९ गते पछि बीमा गरेका बीमितका लागि मात्रै यो व्यवस्था लागू हुने बताए ।

संशोधित व्यवस्थाअनुसार बीमितले १ लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहत स्वरुप २५ हजार रुपैयाँ पाउने छ ।

तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाइ पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँ सम्म भुक्तानी हुने छ ।

साथै, ५० हजार बीमाङ्क रकम भएको पोलिसी खरिद गरेको संक्रमित व्यक्तिले भने राहत स्वस्प १२ हजार ५ सय रुपैयाँ पाउने छ । बाँकी अस्पतालको बिल भर्पाइअनुसार ३७ हजार ५ सय रुपैयाँसम्म पाउने छ ।

बीमा समितिले १ हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख रुपौयाँ बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको पोलिसि लागू गरेको छ । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम भएको थियो ।

त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रुपमा परिवारको बीमा गर्दा १ लाख रुपैयाँ बीमाङ्कका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कका लागि प्रतिव्यक्ति १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।

यसैगरी, समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भए बिमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले जानकारी दिए ।

https://www.facebook.com/clickmandu/videos/312867376676041/

Publish on: