बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माण गर्न कार्यविधि तयार गरिने « Eglish Khabarhub

बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माण गर्न कार्यविधि तयार गरिने



काठमाडौं । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद व्यवस्थापन परिषदको बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

भूकम्पपछिको पुर्ननिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, सहरी विकास मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Publish on: