काठमाडौं । कामना सेवा विकास बैकबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई राहत दिने उद्देश्यले ब्याजमा भारी बैंकले छुट दिँदै आएको छ ।
बैंकले यातायात व्यवसायीहरुलाई साउन महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिई कोभिड-१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरिसकेको छ ।
यो योजनामा यातायात व्यवसायीहरुले गर्नुभएको अपेक्षालाई मध्यनजर गर्दै ग्रहकको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैंकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।
साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएकोछ । साथै आफ्नो सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ ।
यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत् ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी–आश्वा, अनलाइन बैंकिङ लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
SHARE YOUR THOUGHTS