काठमाडौं । विगतका दिनमा नेपालीको दशैं नजिकिँदै गर्दा बजारको रौनक छट्टै हुन्थ्यो । उपत्यकामा बसोबास गर्ने सर्वसाधारण र व्यवसायीको सपिङ केन्द्र मानिने न्यूरोडमा दशैं नजिकिँदै गर्दा मानिसको भीड निकै हुन्थ्यो ।
साथै, न्युरोडका पसललगायत सडकमा दशैंका लागि सपिङ गर्ने मानिसको भीडसँगै बजारको माहोल निकै रमाइलो हुन्थ्यो । तर, यो वर्ष कोरोनाले गर्दा न्यूरोडमा विगतको जस्तो रौनक छाएको छैन ।
कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र आम्दानी हुने मौसममा पनि आम्दानी नहुने चिन्ता बढेको न्यूरोडका व्यवसायीहरूले बताएका छन् । साथै, मानिसको चहलपहल निकै कम भएकाले यो क्षेत्र पूर्णरुपमा चलायमान हुन धेरै समय लाग्ने व्यवसायीहरूले बताएका छन् ।
त्यसैगरी, आयात भएको सबै सामान नाकामा रोकिएका कारण बजारमा नयाँ सामानको अभाव हुन थालेका छन् । सर्वसाधारणले बजारमा सामान किन्न आए पनि नयाँ सामानको अभावले गर्दा समस्या देखिन थालेको उनीहरूको भनाइ छ । साथै, एकातिर नाकामा रोकिएर सामान आयात भएको छैन भने अर्कोतिर बजारमा भएका सामान पनि बिक्री हुन छोडेको व्यवसायीहरूले बताएका छन् ।
बजारमा ८० प्रतिशतले चहलपहल कम
कोरोनाले गर्दा यो वर्षको दशैंको माहोलमा ५० देखि ८० प्रतिशतले व्यापारमा कम भएको व्यवसायीहरूले बताएका छन् । कोरोनाका कारण विगतको तुलनामा करिब ८० प्रतिशतभन्दा बढीले व्यापारमा कमी आएको खिचापोखरीस्थित रहेको सिउल इन्टरनेशनलका सञ्चालक पुरुषोत्तम हुमागाई बताउँछन् ।
कोरोनाले गर्दा विषेश सतर्कता अपनाउनु पर्ने भएकाले बजारमा मानिसको भीड कम भएको उनको बुझाइ छ । साथै, लकडाउन भएर बीचमा खुलेको बेलाको भन्दा कम मानिस बजारमा आउन थालेको उनले बताए ।
उनले विगत लामो समयदेखि बजारमा लत्ता, कपडाको आयात गर्दैै बजारमा बिक्री गरिरहेको थियो । तर, अहिले आयात भएका सामान लिनका लागि निकै कम व्यवसायी मात्रै सामान लिन आएको उनले बताए ।
‘हाल धेरै व्यवसायी र विद्यार्थीहरु आफ्ना गृहजिल्ला फर्केका हुनाले बजारमा मानिसको भीड कम भएको छ,’ उनले भने, ‘कतिपय व्यवसायी गृहजिल्ला गएर फर्कन नसकेकाले पनि धेरै ह्रास आएको छ ।’
विगतको दिनमा बजारमा विभिन्न प्रकारका लत्ता, कपडा तथा जुत्ता आयात गरेर व्यवसायीलाई बिक्री गर्दै आएका न्यूरोडस्थित पुखुद्यां मार्गमा रहेका आरबी रेडिमेड सपका सञ्चालक दिनेश महर्जनले भने अहिले पसलमा मात्रै बिक्री गरिरहेको बताए ।
दशैं नजिकिँदै गर्दा पनि बजारको माहोल हेर्दा दशैं आएको जस्तो महसुस नभएको उनले बताए । उनका अनुसार गत वर्षको तुलनामा करिब ७० प्रतिशतले मानिसको चहलपहल कम भएको बताए ।
साथै, मानिसको चलहलपहल केही मात्राले बढे पनि व्यापार भने हुन नसकेको उनी बताउँछन् । त्यस्तै, हाल उपत्यकामा बाहिरबाट व्यवसायीहरू आउन नसकेको थोक व्यापार गर्दै आएका बिशाल बजारको न्यू एनएस ट्रेडर्स रेडिमेड होलसेलका सञ्चालक नारायण बस्यालले जानकारी दिए ।
उनका अनुसार बजारमा उपत्यकामा बाहिरबाट व्यवसायी आउन सकेको नसकेको र उपत्यकामा रहेका स्थानीय व्यवसायी मात्रै सामान निर्यात गरिरहेको बताए । साथै, बजारमा नाकाबन्दीका कारण बजारमा सामान ल्याउन नसक्दा अर्को चिन्ता बढेको उनको भनाइ छ । गर्मी महिनाका लागि अर्डर गरेको सामान नै अहिलेसम्म आउन नसक्दा मारमा परेको उनको भनाइ छ ।
‘गर्मी महिनाको सामान ल्याउन सकेको छैन,’ उनले भने, ‘गर्मीका लागि मगाएको सामान नाकामै अड्किएकाले बजारमा सामान अभाव हुन थालेको हो ।’
गर्मीका लािग चाहिने सामान सबै त्यहाँ रोकिँदा अब जाडोको महिनाको सामान ल्याउने बेला भएकाले नाकामा अड्केको सबै सामान ल्याएर स्टकमा राख्नुपर्ने बाध्यता रहेको बताए ।
बजारमा व्यापारमा निकै घटेको फासक्यब मार्गमा रहेको न्यू आरएस इन्टरनेशनल थोकका सञ्चालक राजेश मिश्रका अनुसार बजारमा व्यापार निकैै घटेको बताए । अहिलेको समयमा पहिलो प्राथमिकता खानामा भएकाले लुगामा धेरै खर्च नगर्ने उनको बुझाइ छ ।
‘अहिले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खोलेको छ । तर, ग्राहक भने निकै कम छन्,’ उनले भने, ‘यो वर्ष १५ प्रतिशतले पनि बिक्री हुँदैन ।’
उनका अनुसार नाकामा अड्किएको सामान ल्याउनको लागि कुनै पहल नगर्दा धेरै समस्या भोगिरहेका छन् । चीनको निर्यातकर्ताले अब २०२० मा ल्याउन सम्भव नभएको र २०२१ मा सामान रिलिज हुने भएकाले व्यापारी मारमा परेको उनले बताए ।
२० अर्बको सामान नाकामा अड्किए
कोरोनाले गर्दा अधिकांश व्यवसायीहरूको अर्डर गरेको सामान नाकामा अड्किएर समस्या भइरहेको व्यवसायीहरूको गुनासो छ । दशैं नजिकिँदै गर्दा बजारमा नयाँ सामानको अभाव भएका कारण व्यवसायीहरू निकै प्रभावित भएको उनीहरू बताउँछन् । साथै, बजारमा भएका अधिकांश सामान ल्याउन नसक्दा करोडौंको घाटा भएको उनीहरूले बताएका छन् ।
अधिकांश व्यवसायीहरूले केरूङ नाकाबाट सामान आयात गर्ने भएकाले सबै सामान नाकामा अड्केको व्यवसायीहरूले बताए ।
यसैगरी हिमालपारी व्यापार संघका अध्यक्ष बच्चु पौडेलका अनुसार करिब २० अर्बको सामान नाका अड्किएको जानकारी दिए । नेपालका व्यवसायीले अर्डर गरेको करिब २० कन्टेनर नाकामा थन्किएर घाटा व्यहोर्न बाध्य भएको उनले बताए ।
‘हाल दुईवटा नाका नै बन्द अवस्थामा छन् । त्यहाँ २ हजार कन्टेनर सामान नाकामा अड्केर बसेको छ,’ उनले भने ।
‘अहिले नाका खोल्ने निश्चित छैन । केरुङ नाकामा करिब ९ महिनादेखि सामान अड्किरहेको छ,’ उनले भने, ‘बीचमा खोलेको थियो तर, एक दुई महिनापछि फेरि बन्द भयो । जसले गर्दा सामान अभाव हुन थालेको छ ।’
करिब ९ महिनादेखि बन्द भएता पनि सरकारले कुनै पहल नगरेको उनको भनाइ छ । साथै, उद्योग, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा भन्सार विभागमा जति नै पहल गरेता पनि कुनै प्रक्रिया नबढेको उनले गुनासो पोखे ।
उनका अनुसार नाकामा अड्किएका सामान आउन नसक्दा बजारमा नयाँ सामानको अभावसँगै व्यापारी मारमा परेको बताए । ‘दशैंका लागि सामानको अभाव भएको छ,’ उनले भने, ‘अब १०÷१५ दिनमा पनि नाका खुलेन भने निकै अभाव हुने देखिन्छ ।’
जहाजबाट सामान ल्याउदै व्यापारी
करिब ९ महिनादेखि बन्द भएको नाकामा अड्किएपछि बजारमा आपूर्ति गर्नको लागि सबै व्यवसायीहरूले कलकत्ताको जहाजबाट सामान आयात गर्दै आएको व्यवसायीहरुले बताएका छन् ।
नाका खुल्ने, नखुल्ने कुनै निश्चित नभएपछि जहाजबाट नै सामान दशैंको लागि ल्याइरहेको एक व्यवसायीले बताए ।
साथै केरूङ नाकाबाट सामान ल्याउँदा करिब १० दिनमा आइपुग्थ्यो भने अहिले जहाजबाट सामान ल्याउँदा करिब ४० दिन लाग्ने भएकाले समस्या भइरहेको उनीहरूको भनाइ छ । तर, बजारमा अभाव हुन नदिनका लागि महंगो भाडा तिरेर सामान ल्याइरहेको व्यवसायीहरूले बताएका छन् ।
SHARE YOUR THOUGHTS