काठमाडौं । गोर्खाली र कीर्तिपुरे फौजबीच १८१४ देखि १८२२ सम्म तीनपटक युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ ।
करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी किर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भैरहेको छ ।
नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक-पटक आक्रमण गरेको इतिहास छ । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भएको थियो ।
त्यहि युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ किर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जनले भने, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलय पनि निर्माण गर्ने योजना ।’ मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्क मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि ३० बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भैसकेका छन् ।
इतिहास अनुसार पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड भई गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका करिब तीन सय सेनाले प्रतिकार गरेका थिए ।
‘त्यहि युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए थिए भने पृथ्वीनारायण शाह पनि किर्तिपुरे फौजको कब्जामा परेका थिए,’ गोर्खाली फौजबाट त्यहि युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भने, ‘पहिला किर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । शहरीकरणसँगै अब किर्तिपुरको त्यो पहिचान हरायो ।’
महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रुपमा जोड्ने योजनासहित नगरपालिका अघि बढेको जानकारी दिए ।
‘युद्ध स्मारक पार्क’ मार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित निर्माणधिन पार्क अनुगमनका लागि किर्तिपुर पुगेको टोलीलाई कालु पाण्डेको शीर छेदन गरेको खस्रे ढुंगा नजिकैबाट काठमाडौतर्फ देखाउँदै महर्जनले भन,’ ‘निर्माणाधिन पार्क त्यसैको एक आधार हो ।’
किर्तिपुरका तीन ओटा वडा-१, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पुरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।
वडा–२ का अध्यक्ष रमेशमान डंगोलले गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको र त्यहि बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको जानकारी दिए ।
उनले पार्क बन्ने यो ढिस्कोमै ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण भैरहेको जानकारी दिए । ‘विस १८२१ को भदौमा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोस्रो आक्रमण भयो । त्यस आक्रमणमा कर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर (पृथ्वीनारायण शाहका भाई) शुरप्रताप शाहको आँखा फुटाएको भनी इतिहास छ । शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज त्यो पटक पनि फर्कन वाध्य भएको थियो,’ डंगोलले भने, ‘त्यहि इतिहास अनुसार पार्कमा कालु पाण्डे र शुरप्रतापहरुको सम्झनामा स्मारक समेत निर्माण गर्ने तयारी छ ।’
SHARE YOUR THOUGHTS