काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने योजना केवल योजनाम नै सिमित भइरहेको बेला छिमेकी भारतमा भने प्रवद्र्धनात्मक रुपमा नै अगाडि बढाइएको छ ।
विशेष गरी भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक मात्रामा प्रदुषण बढेपछि त्यसलाई न्यून गर्नका लागि प्रदेश सरकारले विद्युतीय सवारी साधनलाई नै बढावा दिएको छ ।
यस्तै, भारतका अन्य राज्यहरुमा समेत बिजुलीबाट चल्ने सवारी साधनलाई नै प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको छ ।
एक वर्ष पहिले नै भारतका २४ राज्यका ६२ शहरमा कूल २ हजार ६३६ चार्जिङ स्टेशन निर्माण गर्ने योजना अगाडि सारिएको थियो । सो योजना समेत सम्पन्न हुने चरणमा पुगेको छ ।
सोही क्रममा भारतमा पछिल्लो दिनमा इलेक्ट्रिक स्कुटरका लागि समेत झण्डै ३ हजार स्मार्ट चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिएको छ । दुई पांग्रे सवारी साधनलाई केन्द्रमा राखेर ती चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो ।
उक्त चार्जिङ स्टेशन इन्टरनेटका आधारित आइओटी प्रविधिबाट सञ्चालन हुनेछ । मोबाइल एपले नै चार्जिङ स्टेशनको मनिटरिङ गर्नेछ । बिजुलीबाट चल्ने सवारी साधन चार्ज गर्ने गरी इ वाइक गो ले आवश्यक तयारी गरेको हो ।
इ वाइक गोले भारतका विभिन्न ५ शहरमा ३ हजार स्मार्ट चार्जिङ स्टेशन बनाउने योजना बनाएको छ । त्यसबाट दुई पांग्रे सवारी साधन चार्ज गर्न सकिनेछ । कम्पनीका अनुसार पहिलो चरणमा दिल्लीको एनसिआर, मुम्बई, बेलगुरु, हैदरावाद तथा चेन्नईमा जडान गरिनेछ ।
ती चार्जिङ स्टेशन ३ महिना भित्र जडान गरिने भएको छ । कम्पनीको योजना अनुसार पूरा देश भरमा १ वर्षमा १२ देखि १५ हजार चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।
कम्पनीका अनुसार सो चार्जिङ स्टेशनको मनिटरिङका लागि इ वाइक गो नामक चार्ज एप सार्वजनिक गरेको छ ।
सो एपले सवारी साधनको समेत मनिटरिङ गर्नेछ । प्रयोगकर्ताले सो एपबाट क्यूआर कोड स्क्यान गरेर आफनो सवारी साधन चार्ज गर्न सक्नेछन् । सो एपबाट चार्जमा प्रयोग भएको बिजुलीको मात्रा र शुल्कको बारेमा समेत जानकारी लिन सकिनेछ ।
यस्तै एपले उक्त सवारी साधनले के कति मात्रामा बिजुली खपत गर्यो र के कति मात्रामा चार्ज आवश्यक छ भन्ने बारेमा समेत जानकारी दिनेछ ।
इ वाइक गोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इरफान खानका अनुसार भारतको प्मुख शहरमा चार्जिङ स्टेशनको स्थापना गर्ने घोषणा गर्दा नै म असाध्यै खुसी भएको थियो ।
यस कदमबाट इलेक्ट्रिक सवारी साधनको बढावामा बल पुग्नेछ । साथै प्रदुषण कम गर्न तथा व्याट्रीको स्वेपिङमा रहेको समस्या समेत समाधान हुने छ ।
SHARE YOUR THOUGHTS