काठमाडौं । आफना प्रतिस्पर्धी कम्पनीलाई समस्या खडा गरेको तथा ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक विरुद्ध अमेरिकामा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गर्नेले फेसबुकले गम्भीर व्यवहार गरेको भन्दै मुद्दा पनि गम्भीर नै लगाइएको बताएका छन् ।
बिबिसीका अनुसार अमेरिकाका संघीय नियामक र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने गरेको बताएका छन् । उनीहरुले फेसबुकको व्यवहार प्रतिस्पर्धालाई कमजोर पार्ने रहेको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।
उक्त सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा ठूलो र उल्लेख्य कानुनी कदममध्ये पछिल्लो एक हो । स्थानीय अधिकारीले अदालतलाई उक्त कम्पनीलाई खण्डीकरण गर्ने विषयमा समेत सोच्न आग्रह गरेको बिबिसीले जनाएको छ ।
एक दशकमा सर्वाधिक डाउनलोड हुने शीर्ष चार एप सबै फेसबुकका नै थिए । समयक्रममा नै गलत सुरक्षा फिचरका कारण करोडौँ फेसबुक प्रयोगकर्ताको विवरण चुहिएपछि हजारौँ एप निलम्बित गरिएको थियो ।
अर्बौ प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी रहेको छ । अमेरिकाका ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले त्यस कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकार सहित दुरुपयोग गरेको बताएकी बिबिसीले आफनो विवरणमा उल्लेख गरेको छ ।
उनीहरुले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई किन्ने वा सिध्याउने शैली लिएको आरोप लगाएका छन् ।
फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने कामलाई प्रतिस्पर्धी किन्ने काम भएको बताएका छन् । तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको दावी गरेको छ ।
जानकारहरुले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् ।फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको दावी गरेको छ ।
फेसबुककी एकजना बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडका अनुसार सरकारले फेरि उही कुरा दोहोर्याउन चाहेको छ । उनले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिएको बताइन् ।
फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै आफूलाई उसकै शब्दमा जोडदार तवरले प्रतिरक्षा गर्ने जनाएको छ ।
त्यस मुद्दामा फेसबुकका प्रमुख मार्क जुकरबर्गले पठाएका आन्तरिक सन्देशहरूलाई समेत उद्धृत गरिएको छ । जसमा सन् २००८ को एउटा इमेलमा उनले प्रतिस्पर्धा गर्नुभन्दा किन्नु राम्रो रहेको बताएका थिए ।
बीबीसीका उत्तर अमेरिका प्रविधि सम्वाददाता जेम्स क्ल्याटनका अनुसार फेसबुकसँग अपिल गर्नका लागि पर्याप्त अवसर हुनेछन् । त्यसैले तत्कालै फेसबुक खण्डीकरणमा जाला भनेर नसोचे पनि हुने उनको भनाइ छ । तर अदालत र नेताहरू कुन दिशातर्फ गइरहेका छन् भन्ने यो थप संकेत भएको उको भनाइ छ । बिबिसी
SHARE YOUR THOUGHTS