काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाई हुँदा मोनोरेल कुदाउन नसकिएको गुनासो गरेका छन् ।
बुधबार वडा-३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले केही प्रतिद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकारे ।
‘त्यो मध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ,’ उनले भने, ‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण सम्पन्नको चरणमा छ । दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमाण्डप निर्माण सम्पन्नको चरणमा छ ।’
चुनाव अघिको काठमाडौंको बाटो र अहिलेको बाटोमा धेरै फरक भैसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छप्ने काम सम्पन्न भएको बताए । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ ।
सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको उनले बताए । ‘यद्यपि हामी प्रतिबद्ध छौँ, हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लाग्नेछौँ,’ उनले भने ।
कार्यक्रममा उनले मूर्त-अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण-पुर्ननिर्माणका लागि आफ्नो कार्यकाल स्वर्णयुग हुने बताए । शाक्यले शिलान्यास गरेको वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गरे ।
‘अहिले जति पनि वडा कार्यालय भवन भनेका छन् । ती मेयर वा वडाध्यक्षको होइनन् । यहिका स्थानीय जनताका हुन,’ शाक्यले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । हामी कहिले काँहीे मेयर वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौ । जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौँ भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा त स्थानीयले लिने हो नि ?’
उनले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसहमत ढंगले गर्दै आएको र कुनै पनि निर्णय विवादित नबनेको पनि खुलासा गरे । ‘चुनावी प्रतिवद्धता अनुसार काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय भवन चाँहि बनाउन सकेको छैन ।
मुद्धा हालेर रोकेपछि अर्को पटकलाई सजिलो होला भन्ने प्रवृत्तिका कारण हामीले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘जनताबाट समर्थन प्राप्त भएको छ । बजेटको समस्या छैन । बजेटका कारण अहिलेसम्म कुनै पनि काम रोकिएको छैन । तर, कहिले अख्तियार त कहिले अदालत गुहार्दा प्रतिवद्धता अनुसार काम गर्न ढिलाई भएको छ ।’
एक रोपनी ४ आना क्षेत्रफलमा निर्माण हुने उक्त भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैयाँ रहेको र कार्यादेश रकम भ्याट समेत ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन साढे तीन तलाको रहने छ ।
प्रतिक्रिया