पुस १६ गते पानीजहाजको टिकट काट्न पाइने ओलीको घोषणा कहाँ पुग्यो ? यस्तो छ नालीवेली « Eglish Khabarhub

पुस १६ गते पानीजहाजको टिकट काट्न पाइने ओलीको घोषणा कहाँ पुग्यो ? यस्तो छ नालीवेली


१६ पुस २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ठिक ३ वर्षअघि आजकै दिन । संघीय संसदको प्रतिनिधिसभाको बैठक चलिरहँदा सभामुखसँग समय लिएर रोष्टममा उभिए प्रधानमन्त्री केपी शर्मा ओली ।

सभामुखसँग ओलीले समय लिएकाले नेपाली जनतालाई विश्वासमा लिने केही महत्वपूर्ण भाषण गर्लान् भन्ने धेरैको अपेक्षा थियो । मिनपचासको जाडोमा प्रतिनिधिसभाको बैठक कक्ष भरीभराउ थियो ।

प्रधानमन्त्रीले आफ्नै शैैलीमा भाषण शुरु गरे । उनले आफ्ना विरोधीमाथि प्रहार गर्न उखान टुक्का प्रयोग गर्छन् । र, राष्ट्रिय समस्या समाधान गर्न भन्दा हावादारी भाषण गरेरर एक छिन सुन्नेलाई रमाइलो प्रदान गर्छन् ।

यो उनको शैली नै हो । त्यसदिन पनि त्यसै गरे उनले ।

प्रधानमन्त्रीले राष्ट्रिय विषयलाई छाडे । बरु उनले रेल र पानीजहाजको टिकट काट्नका लागि तयार रहन आग्रह गरे ।

ओलीले विगतमा रेल र पानीजहाज ल्याउँछुभन्दा आफूलाई खिल्ली उडाउनेहरू अहिले हो रहेछ भन्ने थालको समेत बताउन भ्याए ।

प्रधानमन्त्री ओलीले त्यसदिन भनेका थिए ‘अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ ।’

उनले त्यत्तिमात्रै भनेनन् । समृद्धिको सपना देखेर कुनै गल्ती नगरेको पनि दोहोर्याए ।

‘बजेट र नीति कार्यक्रमको अर्धवार्षिक समीक्षामा छौं । सरकार बनेको १० महिना अवधिको पनि समीक्षामा छौ। वैज्ञानिक विधिबाट सरकार सफल भयो कि भनेर सूचकका आधारमा मूल्यांकन गर्छौं । समृद्धिको सपना देखेर कुनै गल्ती गरेनौं,’ उनले भनेका थिए ।

ओलीले दोलाघाटबाट पानीजहाज चल्ने र टिकट काट्न तयार भएर बस्न प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुलाई आग्रह गरे । काँग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्रीले पानीजहाजको नाममा हुँदै नहुने सपना बाँडेको आरोप लगाएका थिए । थापाको प्रश्नमा उत्तर दिने क्रममा ओलीले पानीजहाजको टिकट काट्न तयार हुन भनेका थिए ।

३ वर्षपछि अर्थात् अहिले

यो ३ वर्ष पहिलेको कुरा थियो । अब अहिले के छ हेरौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकाअनुसार पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री ओलीले सरकारको रणनीतिक योजना भन्दै हल्ला मच्चाए । उनले उक्त योजनालाई ‘फ्ल्यागसिप’ कार्यक्रमको संज्ञासमेत दिएका थिए ।

केही समय पहिले बसेको राष्ट्रिय विकास समस्या समाधान उप-समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखाएको छ । जुन आफैंमा विरक्तको कथा बनेको छ । प्रधानमन्त्रीलाई खिल्ली उँडाएको छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको मन्त्रालयको विवरण अनुसार पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत मात्रै छ ।

समग्रमा मन्त्रालयले वित्तीय प्रगति ४०.४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको विवरण प्रस्तसत हुँदा ओलीले टिकट काट्न भनेको आयोजनाको कामको अवस्था दुरुहपूर्ण रहेको छ । दास्रो त्रैमासमा समेत भौतिक र वित्तीय प्रगति पहिलोको भन्दा फरक नहुने अवस्था कायम नै छ । किनकी कुनै काम नै भएको छैन पानीजहाजमा ।

यस्तै, ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा रहेको सडक विभागको कार्यालयमा पानीजहाज कार्यालय उद्घाटनसमेत गरेका थिए ।

पानीजहाज कार्यालयको उदघाटन गर्दै उनले त्यसदिन पनि अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका थिए । उनले आफ्ना पार्टीभित्र र बाहिरका विरोधीलाई संकेत गर्दै भनेका थिए ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’

उनले त्यसदिन अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको तर्क गरेका थिए ।

आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्दै व्यांग्यात्मक शैलीमा भनेका थिए ‘पाँच/सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन खोजिएको होइन ।’

तर, विडम्बना मुलुकको प्रधानमन्त्रीको भनाइ पूरा हुन सकेन । पानीजहाज कार्यालयको अवस्था उनले भनेजस्तै नै छ । ५/७ जना कार्यकर्तालाई जागिर खुवाउने शिवाय अरु केही हुन सकेन ।

काठमाडौं चक्रपथ सुधार योजनाको ११ कोठे भवनलाई कार्यालय भनिएको छ । नाम पानीजहाज कार्यालय भएपनि कार्यालयमा पानीसमेत उपलब्ध छैन ।

सहसचिवस्तरका रजिस्ट्रारसहित १६ जना कर्मचारी दरबन्दी कायम गरिएको सो कार्यालयमा हाल सहसचिव नै छैनन् । उपसचिवस्तरका कर्मचारी छन् । अन्य कर्मचारी पनि कोही प्राविधिक छैनन् ।

सरकारले उक्त कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको थियो । कार्यालयमा न त कर्मचारी, न त अध्ययन, न त बजेटको अवस्थामा छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी यसबारेमा प्रतिक्रिया दिन नै डराउँछन् । उनीहरु कोही पनि बोल्न तयार छैनन् ।

पानीजहाज कार्यालयले कोसीमा यसअघि नै सञ्चालनमा आएका स्टिमर दर्ता गरेर बसेको छ । यस्तै, चितवनको नारायणी नदीमा चलाइएको स्टिमरलाई पानी जहाज चलाएको भन्दै रमाएको छ । डुंगा तथा स्टिमर दर्ता गर्न ल्याउन आह्वान गरेको छ ।

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिएका थिए । तर, पानीजहाज कार्यालय भने नीति, योजना र कार्यक्रमबिहिन अवस्थामा छ ।

यतिखेर पनि ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ ?’ भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सोध खोज गर्नेको संख्या उस्तै रहेको छ । पछिल्ला दिनमा ओलीले अवस्था बुझेर हो वा काम हुँदैन भन्ने लागेर हो, पानीजहाजको कुरा गर्न छाडेका छन् ।

भौतिक पूर्वाधारका जानकार तथा विज्ञहरुका अनुसार पानीजहाज कार्यालयको उदघाटन भएपनि त्यसलाई चाहिने साधन स्रोत र कर्मचारी उपलब्ध हुन सकेको छैन ।

नेपालको कोशी तथा गण्डकी नदीमा पानीजहाज चलाउने विषयमा अध्ययन गरेका माधव बेल्वासे, खानेपानी मन्त्रालयका सचिव छन् । उनले तत्कालीन समयमा आफूहरुले अध्ययन गरेर प्रतिवेदन बुझाएको भएपनि अहिले कुन अवस्थामा छ आफूले भन्न नसक्ने बताउने गरेका छन् । उनको केही समयपछि अवकाश हुन लागेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता हुँदै वाराणसीसम्म ल्याएको पानी जहाजसमेत चल्न सकेको छैन । वर्षायामममा केही दिन चलाइए पनि हिउँदमा पानीजहाज बालुवामा धसिएका कारण चलाउन समस्या भएको भारतीय सञ्चारमाध्यमले समाचार विवरण सार्वजनिक गरेका थिए ।

वनारसमा बालुवामा धसियो

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको थियो । सोही आधारमा प्रधानमन्त्री ओलीले पनि कोसी र नारायणीमा जहाज चलाउन सकिने भन्दै संसदमा उभिएर टिकट काटन तयार भएर बस्न भनेका थिए ।

उता नचलेपछि यता चल्ने करा नै भएन । त्यसकारण पानीजहाज कार्यालय पानी नै नपाएर तिर्खाएर बसेको छ ।

प्रधानमन्त्री ओलीले भारतले गण्डकमा आफ्नोतर्फ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भइसकेको बताएका थिए । तर, जानकारहरुले भने बालुवामा जहाज धसिएपछि भारतले पनि तत्कालका लागि पानीजहाजको योजना स्थगित गरेको बताएका छन् ।

राज्यको कार्यकारी व्यक्तिले कुन हदसम्म गलत र पूरा नहुने विषयलाई उचालेर भाषण गर्दा रहेछन् भन्ने तथ्य पानीजहाजले स्थापित गरिदिएको छ । उनीहरुको भनाइ र गराइबीचको अन्तर आकाश जमिनको जस्तै रहेको देखिन्छ ।

प्रधानमन्त्रीजस्तो सम्मानित पद धारण गरेका व्यक्तिले दिएको गलत भाषण कार्यान्वयन हुन सकेको छैन । बोली र काम गराईमा ताादम्य मिलाउने भनिएका कम्युनिस्ट प्रधानमन्त्री आज ३ वर्षपछि आफैंले टिकट काट्न आउन भनेकालाई कहाँ लगेर पानीजहाज चढ्लाउन भन्ने प्रश्न खडा भएको छ ।

पूरा नहुने झूटको आयू कति होला ? प्रधानमन्त्रीले टिकट काट्न आउनु भनेका नागरिकलाई उत्तर दिन पनि चाहेका छैनन् । झुटको पर्दा उध्रिएको समेत उनलाई पत्तो छैन ।

मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रदर्शनीमार्गमा उभिएर उनै ओलीलाई सोधेका थिए ‘कमरेड ओली कहाँ पुग्यो पानीजहाज ? कहाँ पुग्यो घर-घरमा ग्यासको पाइपलाइन ?’

कहिले आउला त टिकट काट्ने दिन ?

२०७५ असार १४ गते प्रधानमन्त्री ओलीले सरकारले पानी जहाज सञ्चालनको व्यापक गृहकार्य गरिरहेको बताएका थिए । यस्तै सोही सालको पुस १६ गते सप्तरीको पुरानो सदरमुकाम हनुमानगर आउन निम्तो नै दिएका थिए । आज निम्तो दिएको पनि ठ्याक्कै २ वर्ष पूरा भएको छ ।

तर, हनुमान नगरमा न त पानीजहाज छ । न त काठमाडौंमा ओलीको दुई तिहाईको सत्ता नै । संविधान विपरित विघटन गरिएको प्रतिनिधिसभाका सदस्यसमेत नरहेका प्रधानमन्त्री केवल कामचलाउ मात्रै छन् ।

प्रधानमन्त्रीले भनेको अर्को भाषण पनि हेरौं । उनले भनेका थिए ‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ । अहिले सन् २०१८ हो । सन् २०१९ को शुरूमै जहाज चल्छ । पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ । सबैलाई निम्तो छ ।’

तथ्य परिक्षण गरौं । ओलीले गरेको भाषणको । यतिखेर न त हनुमाननगरमा स्टिमर छ । स्थानीयले आफनो दैनिक जीवन चलाउन तयार पारेको काठको डुंगा भन्दा अरु केही पनि छैनन् हनुमाननगरमा ।

भारतबाट ल्याइएको रेल पनि मीनपचासको ठिही तापेर बसिरहेको छ, धनुषामा । रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराई ओली विरोधी खेमालाई सामाजिक सञ्जालमा गाली गरेर बसिरहेका छन् । रेल चलाउनेतर्फ उनको कुनै ध्यान छैन ।

प्रधानमन्त्री ओलीले नेपालको पानीजहाजलाई पुस १६ गते कलकत्तामा स्वागत गरिने बताएका थिए । बिहिबार आज पुस १६ गते नै हो । कही कतै पानीजहाजको स्वागत गरिने समाचार आएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्रेष्ठले पानीजहजाको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय योजना आयोगको समिक्षा बैठकमा बताएका थिए ।

उनले धेरै अध्ययन तथा लगानी आवश्यक पर्ने समेत बताएका थिए । पानीजहजाको विषय सुन्दै आएका सचिव मधुसुदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव छन् ।

ओलीले निम्तो दिएको अघिल्लो पुस पनि त्यत्तिकै बित्यो । यस वर्षको पुस पनि त्यत्तिकै बित्नेवाला छ । तर पानीजहाज चल्नु त कता हो कता, कार्यालयले समेत कर्मचारी पाएको छैन ।

संसद र सार्वजनिक कार्यक्रममा विरोधीलाई गिल्ला गर्दै भाषण गरेका प्रधानमन्त्री ओली यतिखेर आफैं गिल्ला र हाँसोको पात्र बनेका छन् । विगतमा विपक्षीले पूरा नहुने सपना भन्दा उनीहरु विरुद्ध खनिएका प्रधानमनत्री यतिबेला के भन्दा हुन् ? आम जनताको चासो छ ।

पानीजहाजको विषयमा अध्ययन गरेका एक सचिवका अनुसार नेपालका नदीमा पानीजहाज चल्न सक्छन् कि सक्दैनन् ? भन्ने नै थाहा नपाउने प्रधानमन्त्रीको सनकमा सो कार्यक्रम अगाडि सारियो ।

नेपालका नदीमा स्टिमर चलाउने हो कि पानीजहाज ? भन्नेमा कोही कसैलाई पनि थाहा छैन । जलयातायात विज्ञ पनि नेपालमा छैनन् ।

रमाइलोका लागि स्टिमर चलाउन त सकिन्छ । तर कहाँको स्टिमर, कहाँको पानीजहाज, आकाश जमिनको फरक छ । जानकारहरुले नदीमा जलसतह कम भएको र गहिराइसमेत कम भएकाले नेपालका नदीमा पानीजहाज चलाउन नसकिने बताउँदै आएका छन् ।

पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘केही महिनाभित्रै पानीजहाज सञ्चालन गर्न सक्नेगरी आवश्यक जनशक्ति र योजना बनाइन्छ ।’

तर, उनले भनेको केही महिना कहिले आउने हो, कुनै ठेगान छैन । बरु पानीजहाजको कार्यालयसँग एउटा बोर्ड छ । केही कर्मचारी छन् । मिनपचासको जाडोमा घाम ताप्छन् । देशको राजनीतिको बारेमा गफ गर्छन् । बरु उल्टै प्रधानमन्त्री ओलीको कुरा काट्छन् । अनि खाजा खाएर घर फर्कन्छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार ००:००  ११ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping