काठमाडौं । कोरोना भाइरस महामारीले लामो समय प्रभावित भएको आयात माघसम्ममा आइपुग्दा सामान्य अवस्थामा फर्केको छ ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनाको भन्सार विभागको तथ्याङ्क हेर्दा आयात गत वर्षको सोही अवधिमा आयात भएको वस्तु तथा सेवा बराबर भएको छ ।
तर, लामो समयपश्चात आयात सामान्य भएता पनि निर्यात भने अझै सहज हुन सकेको छैन । आन्तरिक बजारले कोरोनाको समयमै पनि गत वर्षको तुलना बढी निर्यात गर्न सफल भएको छ ।
कोरोनाले आयातमा कठिनाई भएसँगै आन्तरिक बजारले उत्पादन भइरहेको वस्तु तथा सेवाले आपूर्ति गर्दै आएसँगै निर्यात पनि बढेकाले उत्पादन गर्ने उद्योग व्यवसायीमा उत्पादन गर्नको लागि प्रोत्साहन मिलेको बताएका छन् ।
तर, आयात–निर्यातमा ठूलो योगदान रहेको चीनमा भने नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा झन्डै ५० प्रतिशतले कमी आएको छ ।
चालु आवमा सात महिनाको अवधिमा ७.६२ प्रतिशतले निर्यात बढेको छ । एकातिर नेपालमा उत्पादन हुने वस्तु तथा सेवामा निर्यात बढेको छ भने अर्कोतर्फ आयात निर्यातमा ठूलो योगदान रहेको चीनमा निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ को माघ मसान्सम्ममा नेपालले १ अर्ब ६ करोड ५१ लाख ४० हजार बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
तर, चालु आवको सोही अवधिमा नेपालले ५५ करोड ७१ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ४७.६९ प्रतिशतले कमी हो ।
चीनतर्फको नाकाबाट निर्यात शून्य
नेपाल र चीनको सबैभन्दा बढी आयात निर्यात हुँदै आएको नाकाबाट चालु आवमा भने कुनै वस्तु तथा सेवाको निर्यात नभएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
गत वर्ष चीनसँग जोडिएको रसुवा नाकाबाट २६ अर्ब २३ करोड ३६ लाख मूल्य बराबरको वस्तु तथा सेवा सेवा आयात हुँदा नेपालबाट ५८ करोड २३ लाख ५४ हजारको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
त्यस्तै, चीनसँगै जोडिएको अर्को नाका तातोपानी नाकाबाट गत वर्ष सात महिनाको अवधिमा ४ अर्ब ८८ करोड २२ लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट १३ करोड ७६ लाख ७९ हजारको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
आवको सात महिनाको अवधिमा रसुवाबाट ७ अर्ब १२ करोड ४५ लाख रुपैयाँ र तातोपानी नाकाबाट २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात भएको थियो ।
तर, उक्त दुई भन्सारबाट आयात उल्लेखनीय भएता पनि निर्यात भने शून्य अवस्थामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।
विगतको दिनमा चीनतर्फ विभिन्न सार्वजनिक कार्यको लागि आवश्यक पर्ने मेसिनरी, हातले बनाएको पेन्टिङ अत्याधिक मात्रामा निर्यात हुँदै आएकोमा चालु आवमा भने गलैंचा बढी निर्यात भएको छ ।
त्यस्तै अन्य विधानहरु, फार्मेसिका सामानहरू, हातले बनाएको पेन्टिङहरु निर्यात भएको छ । यस्तै चालु आवको ७ महिनाको अवधिमा नेपालले १३ करोड २८ लाख ९९ हजार रुपैयाँको कार्पेट तथा गलैंचा निर्यात गरेको भन्सार विभागलको तथ्याङ्ले उल्लेख गरेको छ ।
SHARE YOUR THOUGHTS