खरिदकर्ताले रकम भुक्तानी नगरेपछि सम्राट सिमेन्टको साढे ३ अर्बको खरिदबिक्री सम्झौता रद्द « Eglish Khabarhub

खरिदकर्ताले रकम भुक्तानी नगरेपछि सम्राट सिमेन्टको साढे ३ अर्बको खरिदबिक्री सम्झौता रद्द



काठमाडौं । भुक्तानी विवादले सम्राट सिमेन्टको खरिदबिक्री प्रक्रिया अवरुद्ध भएको छ ।

२०७७ चैत ३ गते बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४.२५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४.२५ प्रतिशत सेयर अनिल रुङगटाले किन्ने सम्झौता गरेका थिए।

सम्झौताअनुसार खरिदकर्ताले २०७८ वैशाख २० भित्रै रकम चुक्ता गर्नुपर्थ्यो । खरिदकर्ताले तोकिएको समयमा रकम भुक्तानी नगरेपछि खरिदबिक्री प्रक्रिया अवरुद्ध भएको हो ।

चौधरी ग्रुप र अनिल रुंगटाले सम्झौताबमोजिम रकम भुक्तानी नगरेको भन्दै सम्राट सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमल्सीनासहित छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले संयुक्तरुपमा बैंकलाई पत्र लेख्दै सम्झौता रद्द भएको जानकारी गराउँदै कारोबार तथा खाता रोक्का गर्न आग्रह गरेका छन् ।

सिमेन्टमा चौधरी ग्रुप ‘बिग प्लेयर’को रुपमा आउदै, साढे ३ अर्बमा सम्राटको सेयर किन्यो

साढे ३ अर्ब रुपैयाँमा चौधरी ग्रुपले सम्राट सिमेन्टको ३० प्रतिशत सेयर किन्ने सम्झौता गरेको थियो । कम्पनीका ठूला लगानीकर्ताबीच विवादा बढेपछि सम्राटका सबैभन्दा ठूला लगानीकर्ता तिमल्सिनाले चौधरी ग्रुपलाई सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए ।

तिमल्सिनासहितका लगानीकर्ताहरुले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक बागबजार शाखालाई पत्र लेख्दै सेयर खरिदकर्ताले सम्झौता अनुसार रकम भुक्तानी नगरेको जानकारी गराउँदै सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का गर्न आग्रह गरेकोपत्र क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

सम्झौताअनुसार रकम भुक्तानी गर्नुपर्ने भाका नाघेको ६० दिन वित्दा पनि खरिदकर्ताले कुनै रेस्पोन्स नगरेको भन्दै यही असार २३ गते खाता रोक्का गर्न बैंकलाई पत्र लेखिएको हो ।

‘सम्राट सिमेन्टको सेयर खरिद तथा बिक्री सम्झौतामा तोकिएबमोजिमको समय तथा सर्तबमोजिम सेयर खरिद बिक्री तथा भुक्तानीसम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसकेकाले यस बैंक तथा सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुसँगका सम्पूर्ण कारोबारसँगै उक्त कम्पनीका नाममा रहेका खाताहरुसमेत रोक्का गरी पाऊँ,’ पत्रमा भनिएको छ ।

तिमल्सिनाको समूहले ०७७ चैत ३ गतेको सम्झौता बमोजिम गठन भएको सञ्चालक समिति पनि भंग भएको जानकारी बैंकलाई गराएका छन् । उक्त मितिमा भएको सहमति अनुसार बिक्रीकर्ता र खरिदकर्ताका तर्फबाट २/२ जना सञ्चालक रहँदै आएका थिए ।

बैंकलाई पत्र पठाएको भोलिपल्ट अर्थात् असार २४ गते तिमिल्सिना अध्यक्ष रहेको पूरानै सञ्चालक समितिको बैठक बसेर ०७७ चैत ३ गतेको सम्झौता रद्द गर्ने निर्णय गरिएको छ ।

उक्त निर्णयमा छुतेन लामा, प्रज्ञात तिमिल्सिना, सुधिरप्रसाद तिमल्सिना र अध्यक्ष मुकुन्द तिमल्सिनाको हस्ताक्षर छ । खरिदकर्ताका तर्फबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष अनिल रुंगटा र सञ्चालक भोजराज पाण्डेय बैठकमा अनुपस्थित छन् ।

बैंकलाई पठाइएको पत्र र सञ्चालक समितिको माइन्यूट क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

यस्तो छ माइन्यूट

कम्पनीका सेयरधनीले कम्पनीको सेयर बिक्री तथा व्यवस्थापन हस्तान्तरण सम्बन्धमा मिति २०७७/१२/०३ गते सम्पन्न गरेको सम्झौताका शर्त तथा व्यवस्थाहरु कार्यान्वयन नभएको तथा मिति २०७८/०१/२१ हिमालयन बैंक लिमिटेडमा खोलिएको यस कम्पनीको खातामा सम्झौतामा तोकिए बमोजिम भुक्तानीसमेत नभएकाले सेयर खरिदबिक्री सम्बन्धी सम्पूर्ण सम्झौताहरु कार्यान्वयन हुन नसकेको निर्णय गरियो । साथै कम्पनीका सम्पूर्ण सेयरधनीहरुको हकहित संरक्षण गर्नका निम्ति कम्पनीका बैंक खाताहरु सञ्चालनका लागि बैंकहरुको चेक तथा अन्य बैंकिङ कागजातहरुमा अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिना र सञ्चालक छुतेन लामाको संयुक्त हस्ताक्षर अनिवार्य प्रयोग गर्नुका साथै कम्पनीको छाप प्रयोग गर्ने निर्णय गरियो । साथै, यस निर्णय बमोजिम हस्ताक्षर परिवर्तन नभएसम्मका लागि कम्पनीको नाममा रहेका सम्पूर्ण बैंक खाताहरु तथा सम्पूर्ण बैंकिङ कारोबार हालका लागि रोक्का गर्ने र सो सम्बन्धमा बैंक तथा सम्बन्धित पक्षहरुलाई जानकारी गराउने निर्णय गरियो । सो सम्बन्धी सम्पूर्ण काम कारबाही गर्नका लागि यस कम्पनीका अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनालाई अख्तियारी दिने निर्णय गरियो ।

नोटः मिति २०७७ चैत ३ गते सम्पन्न गरेको सम्झौतामा बिक्रीकर्ता पक्षका दुई तथा खरिदकर्ता पक्षका दुई गरी जम्मा ४ जनाको सञ्चालक समिति रहने तथा कम्पनीको सम्पूर्ण व्यवस्थापन खरिदकर्ता पक्षका सञ्चालकहरुले हेर्ने गरी सहमति भएकोमा आजका मितिमा उक्त सम्झौताका व्यवस्था तथा शर्तहरुको परिपालना नभएकाले सो मिति अघिको सञ्चालक समितिलाई शुचारु गरि उल्लेखित निर्णय गरिएको समेत जानकारी गराई आजका मितिबाट कम्पनीको सम्पूर्ण कारोबार तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण निर्णय यसै सञ्चालक समितिले गर्ने निर्णय गर्यो ।

कम्पनीका बारेमा

दाङको सम्राट सिमेन्ट २०६९ सालमा दर्ता भएको कम्पनी हो । १ अर्ब २० करोड चुक्ता पुँजी रहेको यो कम्पनीमा १६ अर्ब रुपैयाँको हाराहारीमा लगानी रहेको छ । ४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् ।

लमही नगरपालिका, वडा नम्बर ७, कमानपुर दाङमा रहेको उद्योगले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गरेको छ । उद्योगसँग प्रतिदिन ४५,००० टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्ने क्षमता छ ।

Publish on: