नेदरल्याण्डबाट ल्याएका मेसिनले पुराना नोटबाट ब्रिक्रेट बनाइँदै, नोटको आगो ताप्न पाइने « Eglish Khabarhub

नेदरल्याण्डबाट ल्याएका मेसिनले पुराना नोटबाट ब्रिक्रेट बनाइँदै, नोटको आगो ताप्न पाइने



काठमाडौं । हामीले प्रयोग गर्ने नोट पुरानो, भुक्रो, मैलो तथा च्यातिएमा बैंकले साटेर नयाँ अथवा सुकिलो चलन चल्तीमा प्रयोगमा आउने नोट साटिदिन्छ । तर, हामीसँग साटेको पुरानो, भुक्रो, नोट बैंकले के गर्छ धेरैलाई थाहा नहुन सक्छ ।

त्यस्ता नोट बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक बैंकिङ विभागमा सटही गर्छ । उक्त नोटलाई केन्द्रीय बैंकले बजारमा चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई हालसम्म जलाएर नष्ट गररहेको छ ।

तर, अब जलाएर खरानी बनाइने नोटलाई मेसिनले टुत्राएर ब्रिकेट बनाइ इन्धनको रुपमा राष्ट्र बैंकले पुनः प्रयोगमा ल्याउने भएको छ । यसरी ब्रिकेट बनाइसकेपछि आमसर्वसाारणले नोटबाट बनेको ब्रिकेटको आगो ताप्न तथा उद्योग कलकारखानमा समेत प्रयोग हुनेछ ।

जसका लागि नेदरल्याण्डबाट नोट सेडिङ मेसिन ल्याइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘एक साता अघि ल्याइएको सो मेसिनको टेस्टिङ गभर्नर साब र डेपुटी गभर्नर मिश्रले गरिसक्नु भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘परीक्षण गर्दा ५ सय बण्डल नोटलाई स्रेडिङ गरिएको हो, मेसिनले नोटलाई धुलो बनाएर इन्धनको रुपमा प्रयोग गर्न सकिने सानो सानो गोलो बनाएर बाहिर निकाल्छ ।’

राष्ट्र बैंकले गत वर्ष माघमै नेदरल्याण्डको कस्पर इञ्जिनियरिङ कम्पनीसँग ३० लाख ५२ हजार ८६९ युरोमा ८ वटा मेसिन खरिदको सम्झौता गरेको थियो ।

बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबीएस) नामक सो मेसिनलाई राष्ट्र बैंकले प्रतिगोटा ३ लाख ८१ हजार ६१२ युरो अर्थात् सम्झौता गरिएको दिनको विदेशी विनियमदर अनुसार करिब ४ करोड रुपैयाँमा खरिद गरेको हो ।

मेसिनको पहिलो भागले चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई धुलो बनाएर टुक्राउँछ । मेसिनको अर्कोे भागले धुलो भएको नोटको टुक्रालाई बिक्रेट सानो सानो गोला बनाएर निकाल्छ । सो बिक्रेटलाई इँट्टाभट्टामा इन्धनको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता ढकालले जानकारी दिए ।

यस्तो प्रकारको ब्रिकेट जाडोयाममा आगो ताप्न समेत प्रयोग हुने बताइएको छ । तर हालसम्म नोट धुल्याएर बनाइउको ब्रिकेटका गोलालाई के गर्ने विषयमा भने राष्ट्र बैंकले कुनै निणर्य नगरेता पनि भविष्यमा त्यस्ता ब्रिकेटको माग अनुसार मूल्य निर्धारण गरी बिक्री गरिने प्रवक्ता ढकालको भनाइ छ ।

हालसम्म राष्ट्र बैंकले काठमाडौंसहित प्रादेशिक कार्यालय नेपालगञ्ज, विराटनगर र विरगञ्जमा नोट सेडिङ मेसिन जडान गरिसकेको छ । भदौ महिनामा पोखरा, धनगढी, भैरहवा र जनकपुरमा नोट सेडिङ मेसिन जडान गरी नोट धुल्याएर ब्रिकेट बनाउने कार्य शुरु गर्ने बताइएको छ ।

राष्ट्र बैंकले प्रादेशिक रुपमा संकलन भएका पुरानो, भुक्रो, मैलो तथा च्यात्रिएका नोटलाई सोही प्रदेशमा अवस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमै परम्परागत भट्टीमा आगो लगाएर जनाउने गरेको थियो ।

यसरी राष्ट्र बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् प्राप्त ५ खर्ब ४८ अर्ब रुपैयाँ बढी चलनचल्तीमा पठाउन नमिल्ने झुत्रा नोट आगो लगाएर जलाइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

तर, यसरी आगो लगाएर जलाउँदा प्रक्रिया झन्झटिलो हुनुका साथै वातावण मैत्री समेत नहुने भएकाले नोट सेडिङ मेसिन मेसिन प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

‘हालसम्म राष्ट्र बैंकले परम्परागत रुपमा चलनचल्तीमा पठाउन नमिल्ने झुक्रा नोटलाई नोट जलन नियमअनुसार आगो लगाएर भट्टीमा जलाउने गरिएको थियो,’ उनले थपे, ‘यसले वातावरण प्रदुषण हुने, प्रक्रिया झन्झटिलो हुनुका साथै धेरै जनशक्ति खर्चिनु पर्ने हुन्थ्यो, त्यसैले राष्ट्र बैंकले नोट जलन कार्यलाई आधिुनिकीकरण गर्दै नोट टुक्राएर ब्रिकेट बनाउने मेसिन प्रयोगमा ल्याएको हो ।’

नोट प्रमाणिकरण गर्ने मेसिनले चलनचल्तीमा पठाउन मिल्ने नोट, झुत्रो नोट र सक्कली नक्कली नोट छुट्याएपछि झुत्रो नोटलाई उक्त मेसिनमा राखेर टुक्र्याएर ब्रिकेटमा परिणत गरेर इन्धनको रुपमा पुनः प्रयोगमा ल्याइने उनले बताए ।

नोटलाई ब्रिकेट बनाउने यस्तो छ प्रक्रिया
हाल बजारमा ६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नोट बजारमा चलनचल्तीमा छन् । साथै, करिब १० अर्ब रुपैयाँ जलनयोग्य रकम राष्ट्र बैंकमा छ ।

नोट सेडिङ एण्ड ब्रिकेटिङ मेसिनलाई एक वर्षको अवधिमा १ हजार घण्टा चलाउने योजना राष्ट्र बैंक छ । उक्त मेसिनले एक पटकमा २ सय बण्डल अर्थात् करिब २० लाख थान नोट भुत्रो बनाउँछ । सो नोटलाई धुल्याएर ब्रिकेट बनाउन मेसिनले २ घण्टा लगाउँछ ।

काठमाडौंमा रहेको नोट सेडिङ मेसिनको टेस्टिङमा ५ सय बन्डल नोट धुल्याएर ब्रिकेट बनाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नोट शतप्रतिशत कटनद्वारा निर्माण हुने भएकाले यसलाई टुत्राएर ब्रिक्रेट बनाइ इन्धनको स्रोतका रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता ढकालको भनाइ छ ।

Publish on: