उद्देश्यबाट विमुख भएर नाफा कमाउँदै बैंकहरु « Eglish Khabarhub

उद्देश्यबाट विमुख भएर नाफा कमाउँदै बैंकहरु



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुख्य उद्देश्य निक्षेप लिने र त्यही पैसा लगानी गरी त्यसैबाट प्राप्त ब्याजबाटै आम्दानी गर्नु हो । अर्थात्, बैंक पैसाको व्यवसाय गरी त्यसबाटै आम्दानी गर्ने संस्था हो ।

तपाईं हामी आफूसँग भएको पैसा बैंकमा राख्छौँ भने त्यसबापत बैंकले निश्चित प्रतिशत ब्याज दिन्छ । र, कुनै व्यापार-व्यवसाय गर्न, घरजग्गा, सेयर वा अन्य कुनै प्रयोजनका लागि बैंकले निश्चित प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छ । जुन निक्षेपमा दिने ब्याजदरभन्दा बढी हुन्छ ।

यसरी निक्षेप र कर्जामा लिने ब्यादरको अन्तर (स्प्रेडदर) कायम गरी आम्दानी गर्नु नै बैंक तथा वित्तीय संस्थाको उद्देश्यअनुरुपको व्यवसाय हो ।
तर, पछिल्लो समय बैंकहरुको लगानी र आम्दानीको विवरण हेर्दा यसबाट विमुख हुँदै गएको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ब्याज आम्दानी घट्दा पनि अन्य कारोबारबाट हुने आम्दानीको वृद्धिदर धेरै छ । जसका कारण ब्याज आम्दानी घटेका बैंकहरुको पनि खुद नाफा बढाएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा गत आवमा २.४५ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गर्दा अन्य सञ्चालन आम्दानी भने २०९.०८ प्रतिशतले वृद्धि गरेका छन् ।

अघिल्लो आवमा वाणिज्य बैंकहरुले १ खर्ब २८ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । जुन गत आवमा आइपुग्दा ३ अर्ब ४४ करोड रुपैयाँले थप भइ १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेकोमा गत आवमा आइपुग्दा यस्तो आम्दानी ८ अर्ब ३८ करोड ६५ लाख रुपैयाँले थप भएर १२ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा १५ वटा वाणिज्य बैंकको खुद ब्याज आम्दानी घटेको छ । तर, खुद ब्याज आम्दानी घटेका १४ वटा बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ । अन्य सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा बढाएका बैंकमध्ये १० वटा बैंकको भने खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा वृद्धि भएको छ ।

के हो अन्य सञ्चालन आम्दानी ?
बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीबाहेक अन्य प्रकारका कारोबारबाट गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानी भनिन्छ । जसमा बैंक तथा वित्तीय संस्थाले गरेको विदेशी विनिमयको पुनरमूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारको दोस्रो बजारबाट गरिएको सेयर खरिद बिक्रीको नाफा नोक्सानका साथै यसवापत प्राप्त नगद लाभांश र लगानी सम्पत्तिको फेयर भेल्लुको नाफा नोक्सानी समावेश गरिएको हुन्छ ।

साथै, लगानी सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान समावेश अन्य सञ्चालन आम्दानीमा गरिएको हुन्छ ।

किन बढ्यो अन्य आम्दानी ?
बैंक तथा वित्तीय संस्थाको स्प्रेड मुख्य आम्दानी भएपनि अन्य क्षेत्रमा समेत लगानी तथा व्यवसाय गरी आम्दानी गर्न सक्छन् । तर, सेयर बजार जस्ता अल्पकालीन लगानीमा बैंकहरु केन्द्रित हुनु भनेको आफ्नो उद्देश्यबाट विमुख भएको मानिने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।

‘बैंकहरुले कोर विजनेशभन्दा नन् कोर विजनेशबाट बढी आम्दानी गर्नु भनेको बैंकहरु आफ्नो उद्देश्यबाट विमुख हुँदैछन् भनेर बुझ्नु पर्ने हुन्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘अन्य क्षेत्रहरु जस्तैः विदेशी विनिमयको पुनरमूल्यांकन, एलसी खोल्दा बैंक ग्यारेन्टी, लिज आम्दानी, सुन चाँदीलगायतका अन्य क्षेत्रमा लगानी गरी आम्दानी गर्न पाउँछन् । तर, सेयर बजारमा ट्रेडिङ गरेर ब्याज आम्दानीभन्दा बढी बढाउनु कमाउनु राम्रो होइन ।’

कोरोना भाइरसका कारण अपेक्षाकृत नयाँ कर्जा लगानी बिस्तार हुन सकेको छैन भने कर्जाको ब्याजदर समेत अघिल्लो आवको तुलनामा घटेको छ । जसका कारणले गर्दा ब्याज आम्दानी घटी सञ्चालन आम्दानी भने बढेको उनको भनाइ छ । यद्यपि नन इन्ट्रेष्ट इन्कम बढ्दा बैंकहरुको कर्जाको ब्याजदर घट्ने उनले बताए ।

‘बैंकहरुले अन्य कारोबारबाट जति बढी कमाउन सक्छन् त्यति नै कम स्प्रेड कायम गरी कर्जा लगानी गर्न सक्छन् । जसले गर्दा कर्जाको ब्याजदर कम हुन्छ,’ उनले भने, ‘बैंकहरुको नन इन्ट्रेष्ट इन्कम बढी भएका कारणले राष्ट्र बैंकले ४.४ प्रतिशत कायम गर्नुभन्दा पनि कतिपय बैंक ३.७ प्रतिशत कायम गरी व्यवासाय गरिरहेका छन् ।’

बैंकहरुले कर्जा लगानी मात्रै नभइ लगानीलाई अन्य क्षेत्रमा विविधिकरण गर्दा जोखिम समेत कम हुन्छ । तर उद्देश्य विमुख भइ लगानी गरेमा राष्ट्र बैंकले नियमन तथा नियन्त्रण गर्ने उनको भनाइ छ ।

उद्देश्य विमुख हुने बैंकहरुलाई नियमनको अंकुसले भविष्यमा पर्ने असर
पछिल्लो एकवर्षदेखि सेयर बजार बुलिस ट्रेण्डमा छ । बैंक तथा वित्तीय संस्थाले व्यवसाय बढाउनेभन्दा सेयर बजारबाट आउने आम्दानीमा ध्यान केन्द्रित गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरिसकेको छ । बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबार गर्नका लागि राष्ट्र बैंकले गत जेठमा रोक नै लगाएको थियो ।

गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि त्यसको कार्यान्यवनका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद बिक्रीमा कडाइ गरेको थियो ।

जसपछि बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने छन् । कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् भनि राष्ट्र बैंकले सो निर्देशनमा प्रष्ट उल्लेख गरेको छ ।

खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने निर्देशन राष्ट्र बैंकले सो समय बैंक तथा वित्तीय संस्थालाई दिएको हो । उक्त निर्देशनले अल्पकालीन प्रकृतिको सेयरमा गर्ने लगानीलाई लगाम लागाएको प्रष्ट हुन्छ ।

उक्त निर्देशनभन्दा अघि अर्थात् २०७८ जेठ १० गतेसम्म लगानी गरेका सेयर समेत ०७९ असार मसान्तभित्र बिक्री बैंक तथा वित्तीय सस्थाले बिक्री गरी सक्नु राष्ट्र बैंकको निर्देशन छ भने वाणिज्य बैंक विकास बैंक र वित्त कम्पनीले समेत लघुवित्तको सेयर खरिद गर्न पाउँदैनन् । यदि सोअघि खरिद गरेको भएमा पनि ०७८ पुस मसान्तभित्र बिक्री गरिसक्नु पर्नेछ ।

उक्त व्यवस्था राष्ट्र बैंकले बैंकहरु आफ्नो कोर विजनेसभन्दा नन् कोर विजनेसमा बढी गएकै कारणले ल्याएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘चैतसम्मको तथ्यांक हेर्दा बैंकहरु स्प्रेडबाट आम्दानी गर्नुभन्दा सेयर बजारमा लगानी गरेर आम्दानी गर्न केन्द्रित भएको देखियो, संस्था स्थापनाको उद्देश्यअनुसार व्यवसायमा केन्द्रित होउन भनेर सो सर्कुलर ल्याएका थियौ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले जति सेयर बजारमा लगानी गरेर कमाए त्यो अन्तिम हो, अब चालु आवमा सेयर बजारको आम्दानी शुन्य हुन्छ । अब बैंकहरुको नाफा भनेको लागानी आम्दानीबाट मात्र हुन्छ ।’

साउन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको १ प्रतिशत सेयरमा लगानी गरेको भएपनि १ वर्षसम्म बिक्री गर्न नपाउने भनेको हुँदा चालु आवमा बैंकहरुको ट्रेडिङ इन्कम शुन्य हुने उनको भनाइ छ ।

पुँजी बजार र बैंकिङ क्षेत्रलाई एकअर्कामा जोड्दा भविष्यमा कुनै एक क्षेत्रका संस्थामा समस्या आउँदा सम्पूर्ण क्षेत्रनै जोखिममा जाने हुन्छ । बैंकले आफ्नो लगानी सेयर बजारमा गर्दा वा सेयर खरिद बिक्रीबाटै मुख्य आम्दानी गर्दै यसले चेन इफेक्ट हुने जानकारहरु बताँउछन् ।

किन गरे बैंक तथा वित्तीय संस्थाले उद्देश्य विपरीत लगानी ?
अघिल्लो आवको माघ र फागुन महिनाबाटै कोरोना भाइसरको असर अर्थतन्त्रमा पर्दा बैंकमा नयाँ कर्जाको माग थिएन । बैंकहरुले सो अवधिमा कर्जा मागको नभएपछि नाफामा नकारात्मक असर नपार्न सेयर बजारमा लगानी गरी आम्दानी बढाएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘गैरबैंकिङ सम्पत्ति बिक्री, विदेशी विनिमयको कारोबार र सुन चाँदीको कारोबारबाट आउने आम्दानी यो अवधिमा न्यून नै देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘लकडाउनपछि जब सेयर बजार खुल्यो बैंकहरुले लगानी सम्बन्धी व्यवस्थामा तोकिएको दायरा पूरा हुने गरी नै सेयर बजारमा लगानी गरेका छन् ।’

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको १ प्रतिशत बराबरको रकम सेयर बजारको दोस्रो बजारमार्फत् सेयर कारोबार गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो प्रकारको लगानी अघिल्लो आवसम्म कतिपय बैंकहरुले ०.५ प्रतिशतभन्दा कम गरेको भएपनि गत आवको असार मसान्तसम्म १ प्रतिशत कै हाराहारीमा लगानी पुर्याएका छन् ।

‘वित्तीय विवरणमा अन्य सञ्चालन आम्दानी राख्दा त्यसमा समावेश हुने आम्दानीमा सबैभन्दा बढी सेयर बजार खरिद बिक्रीबाट आएको आम्दानी र त्यसवापत प्राप्त नगद लाभांशको हिस्सा छ,’ एक चार्टर्ड एकाउन्टेन्टले क्लिकमाण्डूसँग भने, ‘१/२ वर्ष अघिसम्म ब्यालेन्ससिट तयार गर्दा अन्य सञ्चालन आम्दानी अधिंकांश बैंकहरुको एक लाख रुपैयाँ पनि नपुग्नेमा अहिले अर्बौ रुपैयाँ सञ्चालन आम्दानी गरिरहेका छन् ।’

बैंकहरुको अन्य सञ्चालन आम्दानी बढ्न थालेपछि राष्ट्र बैंकले सेयर कारोबारमार्फत्को आम्दानीलाई छुट्टै विवरण बनाएर वित्तीय विवरण सार्वजनिक गर्न आन्तरिक निर्देशन समेत दिइसकेको उनले जानकारी दिए ।

तर केही बैंकहरुले यसमा अपठ्याराहरु औलाउँदै असहमति जनाएका कारण अगामी वर्षदेखिमात्रै सो निर्देशन कार्यान्वयन हुनसक्ने उनको भनाइ छ ।

उद्देश्य उन्मुख बैंकको आम्दानी कति ?
बैंकहरुको वित्तीय विवरण हेर्दा २४ वटा बैंकहरुको अन्य सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ०.२३ प्रतिशतदेखि २ हजार ५०१.१८ प्रतिशतसम्मले बढेको छ । तर, सोही अवधिमा ३ वटा बैंकको भने अन्य सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा १५ वटा वाणिज्य बैंकको ब्याज आम्दानी घटेको छ भने १२ वटाको मात्र बढेको छ । सो अवधिमा बैंकहरुको ब्याज आम्दानी ०.२७ प्रतिशतदेखि २९.१४ प्रतिशतसम्मले घटेको छ । ब्याज आम्दनी घटेपनि अन्य सञ्चालन आम्दानी बढाएर १० वटा बैंकले अघिल्लो आवको तुलनामा खुद नाफा समेत बढाएका छन् ।

ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढाएर नाफा बढाउने बैंकहरु
अघिल्लो आवको तुलनामा गत आवमा ०.२७ प्रतिशतदेखि २९.१४ प्रतिशतसम्मले ब्याज आम्दानी घटेपनि सञ्चालन आम्दानी बढाएर १० वटा बैंकले खुद नाफा वृद्धि गरेका छन् ।

जसमा एनसीसी, सिद्धार्थ, सिभिल, नेपाल इन्भेष्टमेण्ट, कृषि विकास र लक्ष्मी बैंक छन् । साथै, नेपाल बंगलादेश, सनराइज, बैंक अफ काठमाण्डू र हिमालयन बैंक छन् ।

Publish on: