![](https://internal.appharu.com/wp-content/uploads/2021/07/sebon-nepal-768x433.jpg)
काठमाडौं । सरकारले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र फ्रन्टलाइन नियमन गर्ने निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सेबोनमा यसअघिका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरी पदबाट हटाएपछि यतिबेला पद खाली छ भने नेप्सेका सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि पद खाली छ ।
धितोपत्र बोर्ड करिब साढे ५ सय सूचीकृत संस्थाको नियमन गर्ने निकाय हो । त्यस्तो निकायमा आउने व्यक्ति पारदर्शी, इमान्दार, नैतिकरुपमा उच्चचरित्र भएको हुनुपर्छ भन्ने मान्यता छ ।
हिजोका दिनमा ढुंगानाले यो चरित्र पालना गर्न नसक्दा आलोचित मात्रै भएनन् उनी बर्खास्त समेत हुनु पर्यो । उनले सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन गर्नु अघि ओटिसी मार्केट (ओभर दि काउन्टर) बाट छोरीको नाममा प्रतिकित्ता २५० रुपैयाँ खरिद गरेको तथ्य बाहिरिएपछि उनी आलोचित बने ।
सोही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले श्रीमतिको नाममा २५० रुपैयाँको दरले १० हजार कित्ता सेयर किनेको खुलासा भएपछि राजीनामा दिएका थिए ।
साउँदले राजीनामा दिएपछि ढुंगाना भने पदमा अड्डी कसेर बसिरहे । बरु आफूलाई गलत सावित गर्न चुनौती दिइरहे । ढुंगानालाई सरकारले पछि बर्खास्त गरेको थियो । ढुंगाना बर्खास्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुद्दाको टुंगो अझै लागेको छैन ।
यस अवधिमा नेप्सेभन्दा बढी विवादित र आलोचित धितोपत्र बोर्ड बन्यो । बोर्डमा अध्यक्ष रहँदा ढुंगानाले करोडौ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत पर्यो ।
ढुंगानाले बोर्डमा रहँदा अजोड इन्स्योरेन्समा भित्री कारोबार भएको भन्दै बोर्डमा उजुरी परेको र त्यस उजुरी उपर छानविन नगरी कम्पनीका अध्यक्ष आजाद श्रेष्ठसँग ३ करोड रुपैयाँ घुस खाएर कम्पनीलाई क्लिन चिट दिएको आरोप छ ।
असार १ गते ५१ वटा अवस्था खराब भएका कम्पनीको नाम सार्वजनिक गर्दा ३५ करोड रुपैयाँ ठूला खेलाडीबाट उठाएको, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स रोक्न प्रतिब्रोकर २ करोड रुपैयाँको दरले आर्थिक लाभ लिएको आरोप लागेको छ । उक्त आरोपसहित आयोगमा उजुरी परेको भएपनि आयोगले कुनै छानविन नगरेपछि अर्थमन्त्रालयले मिहीनरुपमा अनुसन्धान गरेको थियो ।
ढुगानाले गरेको यस्ता कुकृत्यले गर्दा पनि बोर्डमा अब आउने नेतृत्व उच्च नैतिक चरित्रवान भएको हुनुपर्ने, आर्थिकरुपमा पारदर्शी भएको हुनुपर्ने सबैको अपेक्षा छ । तर अहिले धितोपत्र बोर्डमा निजी क्षेत्रको आँखा लागेको छ ।
राजनीतिक दललाई आगामी निर्वाचनका लागि खर्च उठाउनुपर्ने छ । त्यसले गर्दा बोर्डमा अब आउने नेतृत्वले कस्तो आउने हो कसरी काम गर्ने हो सबैको चासोको विषय बनेको छ ।
अहिले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउनका लागि विभिन्न व्यापारिक समूह स्वार्थपूर्णरुपमा लागिपरेका छन् । बोर्डमा अध्यक्ष आफू अनुकुल व्यक्ति ल्याउन पाएको खण्डमा निजी क्षेत्रको स्टक एक्सचेञ्ज ल्याउने आफूले लाइसेन्स पाउने, कमोडिटी बजार सञ्चालनका लागि आफूले लाइसेन्स पाउनेलगायतका स्वार्थका साथ बोर्डमा अध्यक्ष ल्याउन लागि परेका छन् ।
यता हाल सञ्चालनमा रहेको ब्रोकर कम्पनीहरु यतिबेला बोर्डमा आउने अध्यक्षले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्न सकून र ब्रोकरको संख्या बढाउन पहल गर्ने खालको अध्यक्षको खोजीमा छन् ।
बोर्डको अध्यक्षका लागि १२ जना र नेप्सेको सीइओ बन्न ११ जना आकांक्षी देखिएका छन् ।
धितोपत्र बोर्डमा जानका लागि शुरुमा २५ करोडबाट शुरु भएको डिल अन्तिम समयमा आएर ८ करोडसम्म घटेको एक प्रतिष्पर्धीले बताए ।
अहिले बोर्डमा जानेले ८ करोड तयार पार्नुपर्ने छ ।
उक्त रकम बुझाउन सक्ने जो पनि बोर्डमा जान सक्ने अवस्था आएको ती व्यक्तिको भनाइ छ ।
शुरुमा नेपाली काँग्रेसको भागमा धितोपत्र बोर्ड र माओवादीको भागमा नेप्से परेको थियो । माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्ड चाहिन्छ भनेर भनेपछि काग्रेस बोर्ड माओवादीलाई दिने की भन्ने पक्षमा पुगेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/chiranjibi-nepal-governor-nrb.jpg)
बोर्डमा जानका लागि राजनीतिक दललाई प्रभावमा पार्ने र व्यवसायीको स्वार्थमा लाग्नेले इमान्दार भएर काम गर्न नसक्ने बोर्डका पूर्वअध्यक्ष डा. चिरञ्जिवी नेपालको भनाइ छ ।
नियामक निकायमा काम गर्ने व्यक्ति कुनै कम्पनीमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत (सीइओ) जस्तो नभएर नियामक निकायको प्रमुख जस्तो भएर काम गर्न सक्ने व्यक्ति आउनुपर्ने बताए ।
धितोपत्र बोर्डमा आउने व्यक्तिले बजारमा अप्ठयारो भयो भने सजिलो बनाउने र बजार उछृंखल भएको बेला सहज बनाउन सक्ने क्षमता भएको व्यक्ति आवश्यक रहेको धारणा राखे ।
बोर्डमा आउने हो भने स्वार्थलाई बाहिरै राखेर भित्र जानुपर्ने डा. नेपालको सुझाव छ । बोर्डमा पुगेपछि स्वार्थ बाँझिन थाल्यो भने इमान्दार भएर काम गर्न नसकिने भन्दै स्वार्थबिहीन र परिपक्व भएर जानुपर्ने डा. नेपालको सुझाव रहेको छ ।
अहिले बोर्डमा जानेका लागि विभिन्न राजनीतिक दल, व्यवसायीक घरानाको नाम जोडिएर चर्चा भएपनि सरकारले सबै कुरामा दक्ष, क्षमतावान व्यक्तिलाई नियुक्त गरेको खण्डमा पुँजी बजारको भविश्य अझै सुन्दर हुने डा. नेपालको भनाइ छ ।
पुँजी बजार नबुझेको, कुनै स्वार्थमा लागेको व्यक्तिलाई नियुक्त गर्दा त्यसले कसैको हित नहुने भन्दै बोर्ड, नेप्सेमा लगानीगर्दा दक्षता भएका, क्षमता भएका, इमान्दार, उच्च नैतिकता भएका व्यक्ति आउनुपर्ने डा. नेपालको सुझाव छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/surbir.jpg)
यस्तै बोर्डका पूर्वअध्यक्ष शुरविर पौडेल पनि सेबोन र नेप्सेमा आउने व्यक्ति कुनै स्वार्थ समूहमा लागेर आएको खण्डमा त्यसले पुँजी बजार मात्रै नभएर समग्र अर्थ व्यवस्थामा नै असर पर्ने बताउँछन् ।
बोर्डमा राम्रो मान्छे पठाउने काम अर्थमन्त्रालयको पनि भएका कारण यसमा अर्थले बढी ध्यान दिन आवश्यक रहेको उनले बताए । यसअघिका घटना हेरेर अब बोर्डमा पठाउने व्यक्ति उच्च नैतिकवान आवश्यक देखिएको छ ।
‘बोर्डमा जाने मान्छेमा कार्यदक्षता, कार्य कुशलता आवश्यक पर्छ’ उनले भने ‘अब बोर्डमा जाने व्यक्तिमा सम्बन्धित विषयको ज्ञानका साथै नैतिक इमान्दारिता पनि उत्तिकै चाहिन्छ ।’
धितोपत्र बोर्ड कुनै कम्पनी जस्तो नभएर पुँजी बजारको नियामक भएका कारण यो विशिष्ट क्षेत्र भएका कारण यसको नेतृत्व गर्ने मानिस सोही प्रकारको क्षमता भएको आवश्यक पर्ने र क्षमतावान व्यक्तिलाई पठाउन पौडेलको सुझाव छ ।
बोर्डमा काम गर्न धेरै विषयमा विज्ञता हासिल गरेको व्यक्ति आवश्यक पर्ने भएकाले सोही क्षमता भएको व्यक्तिलाई नेतृत्व गर्न पठाउनुपर्ने उनको सुझाव रहेको छ ।
‘धितोपत्र बोर्डको अध्यक्ष भनेको सरकारलाई पुँजी बजारको विषयमा सुझाव दिने निकाय पनि हो,’ पूर्वअध्यक्ष पौडेलले भने, ‘सरकारलाई सुझाव दिने निकायमा जाने व्यक्तिको भएका कारण सोही अनुसारको क्षमता भएको, उच्च नैतिक, चरित्रवान भएकोले मात्रै काम गर्न सक्छन् । त्यस्तो व्यक्त सरकारले बोर्डमा पठाउनुपर्छ ।’
बोर्डमा गएर लोभ लालच गर्ने, मुख मिठ्याउने काम गर्न नहुने भन्दै त्यसले समस्या सिर्जना गर्ने उनको बुझाइ छ ।
कुनै स्वार्थ समूह, व्यापारिक समूहको स्वार्थमा बोर्डमा कुनै व्यक्ति पुग्यो भने नेपालको पुँजीबजारमा निकै असर पर्ने पौडेलको बुझाइ छ ।
बजार विकासका लागि आउने व्यक्ति कुनै समूहको स्वार्थमा, कसैलाई थैली चढाएर आउने हो, सोहीअनुसार नियुक्त गर्ने हो भने नेपालको पुँजी बजार डुब्ने उनको तर्क छ ।
उनका अनुसार सरकारले वित्तीय क्षेत्रका साथै सबै खाले नियुक्तीमा स्वार्थ बाझिने खालको काम गर्न नहुने यसले बिकृती ल्याउने भन्दै यस्तो परिपाटीलाई रोक्न आग्रह गरे ।
‘भेटी चढाएर आउने व्यक्तिले उसको घरखेत बेचेर ल्याएर दिने त होइन,’ उनले प्रश्न गरे, ‘त्यो पैसा उठाउनुपर्छ, पैसा उठाउन परेपछि कसरी उच्च नैतिक भएर काम गर्न सक्छ ?, कसरी सेयर बजार र लगानीकर्ताको हितमा काम गर्न सक्छ ?’
अहिले विभिन्न ठाँउमा यस्तो खाले समस्या देखिन थालेको भन्दै यसलाई रोक्न सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया