![](https://internal.appharu.com/wp-content/uploads/2021/12/sanchi-balm1.jpg)
काठमाडौं । अत्यधिक आयातले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । उच्च आयात हुनुको प्रमुख कारण आफ्नै देशको उत्पादनलाई नचिन्नु पनि हो ।
न त सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतमा राखेर बजारीकरण गरेको छ, न त उपभोक्ताले नै स्वदेशी वस्तुको प्रयोगलाई महत्व दिएका छन् ।
उच्च गुणस्तरको भएर पनि यस्तै समस्याले गर्दा पछाडि परेको एक स्वदेशी उत्पादन हो– सञ्चो बाम ।
सञ्चो बाम जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीपीसीएल)ले निकालेका पाँच उत्पादनमध्ये एक हो । सरकारी कम्पनी एचपीपीसीएलले उत्पादन गरेको सञ्चो निकै लोकप्रिय छ ।
त्यही कम्पनीले सञ्चो बामका नाममा निकालेको भिक्सले भने ठूलो बजार लिन सकेको छैन । यस उत्पादनलाई बृहतरुपमा लैजान नयाँ योजना बनाइरहेको कम्पनीले जनाएको छ ।
‘सञ्चो बाम भिक्सलाई हाम्रो मुख्य उत्पादनको रुपमा स्थापित गराउन नयाँ योजनाका साथ लागिपरेका छौं,’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले भने, ‘यसले २५ प्रतिशत बजार हिस्सा लिनेगरी काम गरिरहेका छौं ।’
वि.स. २०७३ देखि उत्पादन शुरु भएको सञ्चो बाम सन्तोषजनक प्रगति नभएको अवस्थामा कम्पनीले यसको उत्पादन बढाउनेगरी काम गरिरहेको छ । कम्पनीको उत्पादन क्षमता र आवश्यक मेसिनको अभावका कारण यसको उत्पादन राम्रो हुनसकेको थिएन ।
पछिल्लो वर्षदेखि भने यसको उत्पादन बढ्न थालेको कार्कीले बताए । चालु आर्थिक वर्षमा ३ लाख गोटा सञ्चो बाम भिक्स उत्पादन हुने उनले जानकारी गराए ।
‘अर्को वर्ष यसको उत्पादन तेब्बर हुन्छ,’ कार्कीले भने, ‘त्यो बेलासम्म कम्पनीको उत्पादन क्षमता वृद्धि हुनेछ ।’
कम्पनीको उत्पादन क्षमता वृद्धि गर्न नयाँ भवन बनेको छ भने यसको कामलाई अटोमेसन बनाउने काम भइरहेको छ । कम्पनी अटोमेसनमा गइसकेपछि यसको उत्पादन क्षमता वृद्धि हुनेछ ।
‘म्यानुअली’ उत्पादन गर्दा वार्षिक ३ लाख गोटा उत्पादन भइरहेको अवस्थामा अटोमेसन हुँदा दोब्बर, तेब्बर उत्पादन गर्न सहजै हुने कार्कीको विश्वास छ ।
‘तीन वर्षमा कम्पनीको मुख्य उत्पादनको रुपमा भिक्सलाई बनाउने छौं,’ कार्कीले भने, ‘हाम्रो लक्ष्य भारतबाट आयात भइरहेको भिक्सलाई प्रतिस्थापन गर्ने हो ।’
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/sanchi-balm.jpg)
नेपालमा प्रयोग हुने अधिकांश भिक्स भारतबाट आयातित छ । कार्कीका अनुसार ९९ प्रतिशत भिक्स भारतबाट आयात भइरहेका छन् ।
त्यसमध्ये सबैभन्दा धेरै आयात हुने भिक्स झन्डु बाम हो । उनका अनुसार नेपालमा हरेक वर्ष झन्डै ५५ करोड रुपैयाँको झन्डु बाममात्रै आयात हुन्छ ।
नेपालमा भारतबाट आयात हुने झन्डु बामजस्ता भिक्सको प्रयोग अत्यधिक भइरहेको छ । सञ्चो बामले भारतबाट आयात भइरहेको ठूलोमात्राको झन्डु बामजस्ता भिक्सलाई प्रतिस्थापन गर्न सके हरेक वर्ष बाहिरिने करोडौं रुपैयाँ बचत हुनेछ ।
यस कम्पनीले सञ्चो बामजस्ता वस्तु खेती र जंगलबाट संकलन गरिएका जडिबुटीबाट उत्पादन गरिरहेको छ । कम्पनीले तामागढी, मोरङ, सुनसरीलगायतका तराई जिल्लाका ८ सय बिगा जमिनमा जडिबुटी उत्पादन गरिरहेको छ ।
यसबाहेक पनि कम्पनीले देशभरका जंगलबाट जडिबुटी संकलन गरेर तेल उत्पादन गर्छ । सञ्चो बाम भिक्स उत्पादन गर्न ७ प्रकारको यस्तो तेल प्रयोग हुने उनले बताए ।
‘सञ्चो बाम पूर्णरुपमा प्राकृतिक उत्पादन हो,’ कार्कीले भने, ‘यसमा सेन्थेटिक प्रयोग हुँदैन ।’
बजारमा विभिन्न थरीका भिक्स पाइन्छन् । यस्ता भिक्स प्राकृतिक तेलभन्दा पनि ल्यावबाट उत्पादन गरिने कार्कीले बताए ।
बजारमा सञ्चो बाम जस्तो जडिबुटी तेलबाट बन्ने भिक्स थोरैमात्र उपलब्ध हुन्छन् ।
कम्पनीले अहिले तीन प्याकमा सञ्चो बाम उत्पादन गरिरहेको छ । सञ्चो बाम ५ ग्राम, १० ग्राम र २५ ग्रामका प्याकमा उपलब्ध छ ।
कम्पनीले हाल सञ्चो बामसहित पाँच प्रकारका वस्तु उत्पादन गरिरहेको छ । जसमा सबैभन्दा धेरै लोकप्रिय भनेको सञ्चो हो । त्यस्तै, कम्पनीले अहिले सेनिटाइजर, सिलाजित र पिडानासक तेल उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया