दुबईबाट फर्केर नवराजले १ करोड लगानीमा खोले ‘सेफ गार्ड’ प्याड, दैनिक १८ हजार उत्पादन « Eglish Khabarhub

दुबईबाट फर्केर नवराजले १ करोड लगानीमा खोले ‘सेफ गार्ड’ प्याड, दैनिक १८ हजार उत्पादन



काठमाडौं । कसैलाई विदेश जानु रहर हुन्छ भने कसैलाई बाध्यता । पोखराका नवराज लामिछानेलाई बाध्यता थियो ।

अलिकति कमाउँ, घर बनाऊ र परिवारलाई खुसीले राखू ।

१० वर्षअघि दुबई हानिए उनी ।

दुबई उड्नुअघि घरमा कुखुरा पालन व्यवसाय थियो । नयाँ काम गर्यो भनेर धेरैले प्रशंसा पनि गरे । उनकै पाइला पछ्याउँदै अरु धेरैले खुकुरा पाल्नतिर लागे । लामिछाने भने व्यवसायमा टिक्न सकेनन् । उनलाई त्यसपछि रुची पनि घट्दै गयो ।

‘देशमै बस्ने रहर हुँदाहुँदै पनि बाध्यताले विदेशिनु पर्यो,’ उनले भने ।

दुबईमा कमाइ राम्रै थियो । मासिक १ लाख बराबरको आम्दानी गरेका लामिछानेलाई भने परिवारको साथमा बसेर केही गर्नुपर्छ भन्ने लागिरहेको थियो ।
१० वर्षपछि घर फर्किए उनी । सो अवधिमा सवारी चालकको काम गरेका लामिछानेलाई स्वदेशमा भने केही फरक काम गर्ने मन थियो ।

‘विदेशमा सवारी चालक भए पनि नेपालमा केही नयाँ गर्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ लामिछाने सुनाउँछन्, ‘त्यो सानैदेखिको रहर पनि हो ।’
के गर्ने भन्नेमा भने उनी अलमलमा थिए ।

‘मैले १० वर्ष ड्राइभरको रुपमा काम गरे । नेपाल फर्केर व्यवसाय गर्ने सोच बनाए,’ उनले भने ।

हुन त उनीसँग कुखुरा पालनको अुनभव थियो । त्यो व्यवसाय एक दशकमा व्यापक भइसकेको थियो । कुखुरा पालन नै गर्नु नयाँ काम भएन ।
लामिछानेले फेसबुकका भित्ता, युट्युबका भिडियोहरुमा चहार्न थाले । केही नयाँ आइडिया फुर्छ कि भनेर अध्ययन गरिरहे ।
धेरैको लागि सामाजिक सञ्जाल मनोरञ्जन र समय बिताउने माध्यम बनेको छ । लामिछाने भने यहीबाट केही नयाँ आइडिया निकाल्न सकिन्छ भनेर लागिपरे ।

सामाजिक सञ्जाल हेर्दाहेर्दै लामिछानेसँग एउटा उद्योगमा मन अडियो–सेनिटरी प्याड उद्योग ।

‘अन्य धेरै व्यवसाय हेरें तर प्याड उद्योग नेपालको लागि नौलो व्यवसाय हो भन्ने लाग्यो,’ लामिछानेले सुनाए, ‘सेनिटरी प्याड उद्योग खोल्ने निर्णयमा पुगें ।’
छोराको नामबाट कम्पनी दर्ता गरे ‘आरम्ब प्याड उद्योग’ र प्याडको ब्रान्ड नाम राखे ‘सेफ गार्ड’ ।

उनलाई साथ दिएकी छन् उनीकी श्रीमती लक्ष्मी पौडेलले । लक्ष्मी शिक्षिकाका थिइन् । श्रीमानले प्याड उद्योग खोल्ने भनेपछि पढाउने जागिर छोडेर पूर्णरुपमा यसैमा लागेकी छिन् उनी पनि ।

सामाजिक संजालको माध्यमबाट नै उनले उद्योगका लागि आवश्यक कच्चा पदार्थ, मेसिनकाबारे जानकारी बटुले ।

एक दशकअघि उनले जसरी कुखुरा पालन गर्दा पोखराको लागि नौंलो उद्योग बनेको थियो, आज प्याड उद्योग पनि पोखराको लागि नौंलो नै बनेको छ ।
‘बजारको अध्ययनपछि मैले उद्योग सञ्चालनमा ल्याएको छु,’ उनले खुसी हुँदै भने, ‘हालसम्म पोखरामा प्याड उद्योग नै दर्ता भएको रहेनछ ।’
पोखरामा नौलो किसिमको उद्योग खोल्न पाउँदा खुसी छन् उनी ।

शुरुवाती चरणमा उद्योगमा १ करोड लगानी गरिसकेका छन् उनले । जग्गाजमिन आफ्नै भएपनि प्याड उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, मेसिन भारतबाट ल्याएका छन् ।

‘नेपालमा व्यवसाय शुरु गर्न कच्चा पदार्थदेखि अन्य उपकरण बाहिरबाटै ल्याउनु पर्ने स्थिति छ । यो नयाँ उद्योग खोल्नेको लागि निकै गाह्रो हुँदोरहेछ,’ उनले सुनाए ।

उद्योग स्थापनापछि १५ दिनमा ५० हजार प्याड उत्पादन गरे । दैनिक १८ हजार उत्पादन गर्नसक्ने क्षमता भए पनि आन्तरिक बजारमा खपतको अध्ययन गर्न १५ दिनमा ५० हजार प्याड उत्पादन गरेको उनको भनाइ छ ।

‘नेपालमा पाइने अधिकांश प्याड आयातित छ । त्यसैले, नेपाली उत्पादनले बजार कत्तिको लिन्छ भनेर सीमित संख्यामा उत्पादन गरिरहेका छौं,’ उनले भने ।
हाल आरम्ब प्याड उद्योगले दैनिक ५ हजार प्याड उत्पादन गरिरहेको छ ।

शुरुमा आफ्नो प्याडको बारे जानरकारी गराउन निःशुल्क बाँडे । धेरैको राम्रो प्रतिक्रिया आयो । तर कपितयले भने नेपालमै उत्पादन भएको भनेपछि नाम खुम्चाएको देख्दा दुःख लागेको उनी बताउँछन् ।

मुखले राम्रो भन्ने तर प्रयोग गर्न भने आनाकानी गर्ने नेपाली उपभोक्ताको बानी रहेको उनी सुनाउँछन् ।

‘प्रयोग गर्न दिएका सेवाग्राहीलाई प्याडबारे प्रतिक्रिया लिँदा सबैले राम्रो भन्छन्,’ उनले सुनाए, ‘बजारमा किन्न जाँदा विदेशी प्याड नै किन्ने प्रचलन रहेछ ।’
विदेशी प्याड नै बजारमा हाबी हुँदा नेपाली प्याडको उत्पादन तथा बिक्रीमा निकै समस्या रहेको उनको अनुभव छ । विभिन्न समस्याका बाबजुद कम्पनीले उत्पादन गरी बजारीकरण गरिरहेको छ ।

विगतका दिनमा बजारमा निकै समस्या भएपनि पछिल्ला दिनमा खपत तथा माग उच्च रहेको छ । ‘शुरुमा बजारीकरणमा निकै समस्या थियो,’ उनले भने, ‘अहिले प्याडको माग उच्च छ ।’

हाल कम्पनीले नेपाली बजारलाई सुहाउँदो ७० रुपैयाँको ७ वटा पिस पाउने प्याड उत्पादन गरिरहेको छ । जसमा कम्पनीले बजारमा बिक्री गर्न व्यवसायीलाई ५० रुपैयाँमा उपलब्ध गराएको छ । कम्पनीले ५० रुपैयाँमा प्याड बिक्री गर्दासमेत नाफा भने नरहेको उनी बताउँछन् ।

‘अहिले हामीलाई नाफा केही पनि छैन,’ उनले भने, ‘हामीले नाफाभन्दा पनि कसरी बजारीकरण गर्ने भन्नेमा केन्द्रित भएका छौं ।’

हाल कम्पनीले ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीको बजार अहिले कास्की जिल्लामा मात्रै रहेकाले आगामी दिनमा चितवन, बुटवल, भैरहवा, दाङलगायतका जिल्लामा विस्तार गर्र्नेे उनको योजना छ ।

नेपालमै व्यवसायी मिलेर प्याड उद्योगलाई आत्मनिर्भर बनाउन सकिन्छ र यसको लािग सबै मिल्नु पर्ने उनको सोच छ ।

Publish on: