![](https://internal.appharu.com/wp-content/uploads/2017/10/Milk-1024x683.jpg)
काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने दुधमा प्रतिलिटर ६.५२ रुपैयाँ बढाउँदा उद्योगीको मूल्य २.४८ रुपैयाँ बढाएको छ । सरकारले गत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर ६.५२ रुपैयाँ बढाएको थियो ।
किसानले उत्पादन गरेको दुधको मूल्य एक हप्ता अगाडि बढाए पनि उद्योगीले पाउने मूल्य बढ्न सकेको थियो । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को सञ्चालक समितिको बैठकले मूल्य वृद्धिबारे छलफल गरेर टुङ्गो लाग्ने जनाएको थियो ।
त्यस्तै, बुधबार बसेको डीडीसीको सञ्चालक समितिले उपभोक्ता मूल्य कायम गरेको छ । जसमा समितिले उद्योगीले पाउने मूल्यमा प्रतिलिटर २.४८ रुपैयाँ मूल्य बढाएर ८५ रुपैयाँ कायम गरेको डीडीसीले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो । सोभन्दा अगाडि किसानले दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
सरकारसँग निजी क्षेत्रका दुग्ध विकास संस्थान, डेरी एशोसिएसनलगायत विभिन्न सम्बन्धित संघसंस्थाले दुधको मूल्य १० रुपैयाँ बढाउने पर्ने माग गर्दै आएका थिए । सोहीअनुसार अध्ययनका लागि समिति गठन भएको थियो । सो समितिले अध्ययन गरेको प्रतिवेदनअनु्सार किसानले पाउने मूल्यमा ६.५२ रुपैयाँ बढाएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै, किसानको मूल्य ६.५२ रुपैयाँ बढेकाले उद्योगीले पनि ३ रुपैयाँ बढाएर १० रुपैयाँ बनाउने पर्ने माग गरेको थियो । तर, उद्योगीले भनेअनुसार भने मूल्य बढ्न नसकेको डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाले बताए ।
‘व्यवसायीहरूले उद्योगीको मूल्य ३ रुपैयाँसम्म बढ्नुपर्ने माग गरेको थियो । तर, अहिले सरकारले २.४८ रुपैयाँ बढाएर ९ रुपैयाँले बढेको छ,’ उनले भने ।
यसभन्दा अगाडि उपभोक्ताले प्रतिलिटर ७६ रुपैयाँ खरिद गर्न सक्ने व्यवस्था थियो । अहिले किसान र उद्योगीको मूल्य गरेर ९ रुपैयाँ बढ्दा अबको दिनमा उपभोक्ताले प्रतिलिटर ८५ रुपैयाँमा दुध किन्न सक्नेछन् ।
SHARE YOUR THOUGHTS