‘कन्जरभेटिभ’ मारवाडी समूदाय अन्तरजातीय विवाहमा कसरी भयो क्रान्तिकारी ? « Eglish Khabarhub

‘कन्जरभेटिभ’ मारवाडी समूदाय अन्तरजातीय विवाहमा कसरी भयो क्रान्तिकारी ?


२ फाल्गुन २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

कठमाडौं । केही दिनअघि शेखर गोल्छाका छोरा अभिमन्युको विवाह झापाका प्रकाश गिरीकी छोरी श्रेयासँग धुमधाम भयो । गोल्छा परिवार आफ्नो छोराको विवाहलाई अझ विशेष बनाउन दुवई पुग्यो ।

अभिमन्यु मारवाडी परिवारका छोरा । गिरी परिवारकी छोरी थिइन् । दुबैले ३ वर्ष प्रेम गरे । र, अहिले विवाहमा परिणत गरे ।

अभिमन्युलाई श्रेयासँग विवाह गर्न खासै सकस भएन । बरु परिवारले नै सहज वातावरण बनाइदियो ।

अभिमन्यु गोल्छा र श्रेया गिरीको विवाह

त्यस्तै, अर्को व्यवसायीक घराना पवन गोल्यानको परिवारले पनि हालैमात्र बस्नेतकी छोरीलाई बुहारी बनाएर भित्र्याएको छ । पवनका छोरा अक्षय गोल्यानले बुद्ध एयरका वरिष्ठ पाइलट देवेन्द्र बस्नेकी छोरी आऐशासँग विवाह गरे । अक्षय र श्रेयाको विवाह पनि दुबईमा धुमधामसँग सम्पन्न भयो ।

अक्षय गोल्यान र आश्रेया बस्नेतको विवाह

अभिमन्यु र अक्षय मारवाडी समुदायमा अन्तरजातीय विवाह गर्ने पछिल्ला उदाहरण हुन् ।

कतिपय अन्तरजातीय विवाहलाई परिवारले सहर्ष स्वीकार नगरिरहेको अवस्थामा गोल्छा र गोल्यान परिवारले धुमधामसँग उत्सव मनाएर स्वीकार गर्यो । अर्थात् कन्जरभेटिभ मानिनेले क्रान्तिकारी उदारता देखायो ।

कडा पारिवारिक संस्कार रहेको मारवाडी परिवारमा पछिल्लो पुस्तामा अभिमन्यु र अक्षयले जस्तै अन्तरजातीय विवाह गर्ने चलन बढ्दो छ । दशकौंदेखि नेपालमा उद्योग व्यवसायमा विशेष स्थान रहेको मारवाडी समुदाय विवाहका लागि यति खुला भएको छ, जुन अघिल्लो पुस्तासम्म सम्भव थिएन ।

व्यापार व्यसायमा मात्र केन्द्रित हुने यो समुदायमा शिक्षाको स्तर बढ्दै गयो । नेपालमा व्यापारको साम्राज्य फैलाइरहेको मारवाडी समुदाय नेपालको मूल संस्कृति, रितिरिवाज, परम्परा र चालचलनमा घुलमिल हुन खोजिरहेको छ ।

यसका लागि सबैभन्दा ठूलो अस्त्र हो अन्तरजातीय विवाह ।

पछिल्लो पुस्तामा यस्ता धेरै उदाहरण देख्न सक्छौं । जस्तो कि, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको घरमा पनि अन्तरजातीय विवाह भइरहेको छ । चौधरीका जेठा छोरा निर्वाण चौधरीले अश्रयता कार्कीसँग विवाह गरे ।

निर्वाण चौधरी र अश्रयता कार्कीको जोडी

त्यस्तै, विनोद चौधरीका भतिजा करण चौधरीले पनि झापाकी विद्यार्थी पोखरेलसँग विवाह गरे ।

आफ्नो सन्तानका साथमा करण चौधरी र विद्यार्थी पोखरेलको जोडी ।

शंकर ग्रुपका प्रबन्ध दिर्नेशक शाहिल अग्रवालको विवाह पनि अन्तरजातीय हो ।

श्रीमति र बच्चाका साथ शाहिल अग्रवाल

चर्चित फेसन डिजाइनर शरद केडियाले पनि चर्चित गायिका इन्दिरा जोशीसँग विवाह गर्ने घोषणा गरेका छन् । केही समयअघि दुबैले आफूहरु प्रेममा रहेको सार्वजनिक गरेका थिए ।

शरद केडिया र इन्दिरा जोशीको जोडी

दीपक मल्होत्राका छोरा डिकेशले पनि पूर्वमिसनेपाल जेनिशा मोक्तानसँग विवाह गरे ।

डिकेश मल्होत्रा र जेनिशा मोक्तानको जोडी

व्यवसायी पवन गोल्यान मारवाडी समुदायमा धेरै परिवर्तनहरु आइरहेको बताउँछन् । भारतबाट आएको यो परिवार नेपाली समाजमा घुलमिल हुनलाई अन्तरजातीय विवाहलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

‘मारवाडी समुदाय पनि नेपाली नै हो तर यहाँको नेपाली समाजसँग अझै पनि पूर्णरुपमा घुलमिल हुन सकेको छैन,’ गोल्यान भन्छन्, ‘यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा मिक्स कल्चर हो ।’

कल्चर मिक्सको लागि अन्तरजातीय विवाह सबैभन्दा राम्रो उपाय हो । अर्को समुदायको छोरीलाई विवाह गर्ने र आफ्नो छोरीलाई अर्को समुदायमा विवाह गरिदिदा चालचलन र संस्कृति घुलमिल हुँदै जाने छ ।

पवन गोल्यान

मारवाडी समुदायले छोरी ल्याउनेमात्र नभएर आफ्नी छोरी पनि दिन थालेका छन् ।

‘जबसम्म छोरी लिने र दिने हुँदैन, तबसम्म मिक्स कल्चर हुँदैन,’ गोल्यान भन्छन् ।

मारवाडीको पुरानो पुस्ताले अन्तरजातीय प्रेम विवाहलाई सहर्ष स्वीकार गर्न गाह्रो थियो । नयाँ पुस्ताले भने अन्तरजातीय प्रेम गर्न थालेका छन् ।

‘नयाँ पुस्तामा प्रेम विवाह गर्ने चलने बढ्दो छ,’ गोल्यान भन्छन्, ‘यसले अन्तरजातीय विवाहलाई पनि बढाएको छ ।’

अबको अर्को पुस्तामा भने प्रेम विवाह र अन्तजातीय विवाह सामान्य हुने उनको बुझाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि मारवाडी समुदाय पहिलाभन्दा खुला संस्कारमा अघि बढेको बताउँछन् । जसरी मुरारकाको पालासम्म अन्तरजातीय विवाह गर्नु निकै गाह्रो थियो, अहिले त्यत्तिनै सजिलो भएको छ ।

पशुपति मुरारका

‘मैले मेरो छोराछोरीले अन्तरजातीय विवाह गर्न चाहेमा रोक्न सक्दिन । र, रोक्दिन पनि,’ मुरारका भन्छन्, ‘जुन कुरा हाम्रो पालामा सम्भव थिएन ।’

केटाकेटीको प्रेम विवाहले अन्तरजातीय विवाहलाई सहज बनाएको छ । मागी विवाहका लागि भने अझै पनि अन्तरजातीय विवाह गर्न गाह्रो पर्ने उनी बताउँछन् ।

मारवाडी समुदाय आफ्नो संस्कार र परम्परामा निकै ‘कन्जरभेटिभ’ मानिन्छ । हरेक परिवारको आफ्नै आचारसंहिता बनाएर घरमूलीको निर्देशनअनुसार काम गर्ने चलन मारवाडी परिवारमा हुन्छ ।

कुनै पनि काम गर्न घरपरिवारको स्वीकृति चाहिने मारवाडी परिवारमा अन्तरजातीय प्रेम गरेर विवाह गर्नु असम्भव जस्तै थियो ।

जस्तो कि शेखर गोल्छाको उदाहरण हेर्न सकिन्छ । गोल्छा आफूले पनि अन्तरजातीय विवाह गरे । ४० वर्षअघि सीमा पन्तसँग प्रेम गरेर विवाह गर्न परिवारमा निकै संघर्ष गर्नु पर्यो । परिवारले दुई वर्षसम्म पनि उनको विवाहलाई स्वीकार गरेन । घरै छोडेर हिड्ने मनस्थितिमा पुगेका थिए गोल्छा ।

आज मारवाडी समुदायमा त्यस्तो परिस्थिति नभएको गोल्छा बताउँछन् ।

शेखर गोल्छा

‘मैले अन्तरजातीय विवाह गर्न जति संघर्ष गरे त्यो मेरो छोराले भोग्नु परेन,’ गोल्छा भन्छन्, ‘मारवाडी परिवारमा अलि खुलापन र परिवर्तनलाई सहर्ष स्वीकार गर्ने चलने बढ्दो छ ।’

पहिला मारवाडी समुदाय धेरै नै कन्जरभेटि भएको र शैक्षिकस्तर पनि तुलनात्मक रुपमा कमजोर थियो । शिक्षामाभन्दा पनि व्यापार, व्यवसायमा उनीहरको फोकस हुन्थ्यो । अहिले यो समुदाय संसारकै गुणस्तरीय शिक्षा लिने वर्गमा पर्ने गोल्छा बताउँछन् ।

‘पछिल्लो १५-२० वर्षमा माडवारी समुदायमा शिक्षामा अत्यन्तै ठूलो क्रान्ति भएको छ,’ गोल्छा भन्छन्, ‘ अहिले यो समुदाय संसारकै गुणस्तरीय शिक्षा लिने वर्गमा पर्छ ।

यसको अर्थ के हो भने व्यवसायका लागि शिक्षा अपरिहार्य छ भन्ने बुझाइको विकास भइसकेको छ ।

गोल्छाको दुई पुस्तामै अन्तरजातीय विवाह धेरै सहज भइसकेको छ । अन्तरजातीय विवाहको लागि गोल्छाले जति संघर्ष गर्नुपर्यो उनका छोरा अभिमन्युले गर्नु परेन ।

उदार समाज, शिक्षा, सोचमा परिवर्तनसँगै अन्तरजातीय विवाह सामान्य बन्दै गएको व्यवसायी दीपक मल्होत्रा बताउँछन् । मल्होत्रा परिवारमा भने मारवाडी समुदायमा जस्तो कडा संस्कार भने पहिलादेखि नै थिएन ।

अन्तरजातीय विवाहले मल्होत्राको परिवार समावेशी बनेको छ । मल्होत्राका बुबाले नेवार विवाह गरे । त्यसपछि दीपकले पनि नेवार । क्षेत्री र तामाङका छोरी पनि मल्होत्राका परिवारमा आएपछि सामावेशी परिवार बनेको मल्होत्रा बताउँछन् ।

दीपक मल्होत्रा

दीपकका छोरा डिकेशले पूर्वसिम नेपाल जेनिशा मोक्ताङ तामाङसँग विवाह गरेका छन् । त्यस्तै, मल्होत्राकी छोरी, दुई बहिनीहरुको पनि प्रेम विवाह गरेका छन् ।

मल्होत्राको परिवारमाजस्तै सबैले स्वतन्त्रता खोज्न थालेका छन् । मन पर्ने मान्छेसँग प्रेम र विवाह गर्ने चलन बढ्दो छ । समाज अझ धेरै स्वतन्त्र र शिक्षित बन्दै गएपछि अन्तरजातीय विवाह सामान्य बन्दै गएको मल्होत्रा बताउँछन् ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाई आजको युगमा माडवारी समूदायमा प्रेम विवाह सामान्य भइसकेको बताउँछन् ।

रामचन्द्र संघाई

‘जब प्रेम विवाह हुन्छ, त्यहाँ जातभात हेरिँदैन,’ संघाई भन्छन्, ‘हाम्रो परिवारमा पनि थुप्रै अन्तरजातीय विवाह भएका छन्, धेरैजना विदेशी बुहारी र ज्वाँईं भइसके ।’

अबको पुस्तालाई प्रेम र अन्तरजातीय विवाह गर्न परिवारले रोक्न नसक्ने उनको भनाइ छ ।

‘अब अन्तरजातीय विवाहलाई रोक्ने होइन, सहर्ष स्वीकार गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘यो आजको पुस्ताको माग हो, उनीहरु हुन चाहन्छन्, अभिभावकले सहयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ००:००  ४ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping