काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा-पुँजी-निक्षेप अनुपात(सीसीडी रेसियो)खारेज गरी कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कार्यान्वयनमा ल्याएको छ ।
सो व्यवस्था अनुसार हाल बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशत सीमाभित्र रहेर कर्जा लगानी गर्न पाउँछन् ।
जसले गर्दा समस्याबाट मुक्त भएका फाइनान्स कम्पनीहरुले अप्ठ्यारोमा परेको बताएका छन् ।
लिक्विडिटी रेसियो ४०/५० प्रतिशतको हाराहारीमा रहने तर सीडी रेसियोको कारणले गर्दा कर्जा लगानी गर्न नसक्ने अवस्थाले ती फाइनान्स कम्पनीहरु अप्ठ्यारोमा परेका हुन् ।
समस्याबाट मुक्त भएका कम्पनीहरु बिस्तारै सुधारोन्मुख हुँदैछन् । भर्खर समस्याग्रस्त अवस्थाबाट मुक्त भएका कम्पनी भएकाले यी कम्पनीसँग निक्षेप धेरै छैन ।
त्यस्ता वित्तीय संस्था भएकाले निक्षेप संकलनका लागि निक्षेपकर्ताले विश्वास गरिहाल्ने अवस्था पनि छैन ।
निक्षेपको स्रोत धेरै नभएको र नयाँ निक्षेप संकलन गर्न पनि गाह्रो हुने भएकाले यी कम्पनीहरुमा समस्या थपिएको हो ।
नेपाल फाइनान्स, बेष्ट फाइनान्स र समृद्धि फाइनान्स नेपाल राष्ट्र बैंकले राखेको समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट मुक्त भएका फाइनान्स कम्पनी हुन् ।
नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी यी फाइनान्स कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो ।
यी संस्थाहरु केही समयअघि मात्र क्रमिक रुपमा समस्याग्रस्तबाट मुक्त भएका हुन् ।
सुधार प्रक्रियामा रहेका फाइनान्स कम्पनीहरुले पुँजी वृद्धि गरिरहेका छन् । जसले गर्दा पुँजी कोष भने ठूलो हुने अवस्था छ ।
पुँजी भए पनि सीडी रेसियोले गर्दा लगानी गर्न पाउदैनन् । जसले गर्दा समस्या देखिने कम्पनीहरुको भनाइ छ ।
अर्कातिर पुँजी थपिँदै छ । थपिँदै गएको पुँजी पनि लगानी गर्न नसकिने वातावरण बन्दै गएको कम्पनीहरुको भनाइ छ ।
जसका लागि निमायक निकायसँग सहजीकरण गरी दिन आग्रह गर्दै आएको कम्पनीहरुले बताएका छन् ।
‘एक दुई अर्ब रुपैयाँ भएको संस्थालाई गाह्रो पर्ने रहेछ । लिक्विडिटी रेसियो ४०÷५० प्रतिशतको हाराहारीमा रहने तर सीडी रेसियोको कारण लगानी गर्न नसक्ने अवस्थाले हामीलाई गाह्रो पर्छ,’ नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले भने, ‘हामीसँग पुँजी थपिँदै छ । त्यो पुँजी पनि हामीले लगानी गर्न नसक्ने वातावरण बन्दै छ ।’
जसका लागि सहजीकरण गर्न राष्ट्र बैंकसँग आग्रह गरेको उनको भनाइ छ ।
समृद्धि फाइनान्सको हकमा पनि यस्तो अवस्था देखिन्छ । समृद्धि फाइनान्सले पनि हकप्रदबाट पुँजी वृद्धि गरेको छ ।
हकप्रद जारी गरेर पुँजी संकलन गरेको छ । तर, राष्ट्र बैंकले तोकेको सीडी रेसियोको अनुपात नाघिसकेको छ ।
थपिएको पुँजी कहाँ लगानी गर्ने भन्ने वातावरण सिर्जना भएको उनको भनाइ छ ।
नेपाल फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
हकप्रद निष्कासन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।
उनका अनुसार नेपाल फाइनान्सको लिक्विडिटी रेसियो ४०/४२ प्रतिशत छ । नियामक निकायले तोकेको अनुपातभन्दा सीडी रेसियो बढेर ११० प्रतिशत पुगेको छ ।
यस्तो छ समस्याग्रस्त अवस्थाबाट मुक्त फाइनान्सको वित्तीय अवस्था
आन्तरिक रुपमै ऋण परिचालन गरेको, धितो मूल्यांकनभन्दा बढी ऋण दिएको लगायतका कारण देखाउँदै नेपाल फाइनान्सलाई राष्ट्र बैंकले २०७० सालमा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।
समस्याग्रस्त उक्त फाइनान्सलाई केन्द्रीय बैंकले २०७६ मंसिर महिनामा समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो ।
समस्याग्रस्तबाट मुक्त भएको नेपाल फाइनान्स कम्पनीको चुक्ता पुँजी ४९ करोड ३५ लाख रुपैयाँ छ । समस्याग्रस्त घोषणा हुनुअघि कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख रुपैयाँ थियो ।
सो समयमा कम्पनीको पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक थियो । हाल कम्पनीको पुँजी कोष धनात्मक छ ।
राष्ट्र बैंकका अनुसार कम्पनीले एक अर्ब ९० करोड निक्षेप संकलन गरेको छ । एक अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ
समस्याग्रस्त मुक्त भएपछि खराब कर्जा अनुपात सुधारोन्मुख अवस्थातर्फ गएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले जानकारी दिए ।
समस्याग्रस्त घोषणा हुनु अघि फाइनान्सको शतप्रतिशत कर्जा खराब कर्जा थियो । उक्त कम्पनीबाट प्रवाह भएका शतप्रतिशत कर्जा खराब कर्जा थियो ।
उनका अनुसार हाल कम्पनीले खराब कर्जा अनुपात १६ प्रतिशतमा ल्याउन सफल भएको छ । सो अनुपात पनि घट्दो क्रममा रहेको उनको भनाइ छ ।
कम्पनीले चुक्ता पुँजी पुर्याउनका लागि हकप्रद निष्कासनका प्रक्रिया समेत अघि बढाएको छ ।
माघ महिनासम्ममा कम्पनीले ३२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।
नेपाल फाइनान्स समस्याग्रस्त घोषणा हुनुअघि दुई वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको थियो । भने हाल कम्पनीले १० वटा शाखा कार्यालय र २ वटा एक्टेन्सन कार्यालयबाट सेवा दिँदै आएको छ ।
नेपाल फाइनान्स समस्याग्रस्तबाट मुक्त भएपछि ललितपुर फाइनान्सलाई किनेको छ । त्यस्तै, फाइनान्सले दुई वटा शाखा कार्यालय थप गर्ने तयारी गर्दै छ
नेपाल राष्ट्र बैंकले २०७० वैशाख ५ गतेदेखि समृद्धि फाइनान्सलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीमा राखेको थियो ।
राष्ट्र बैंकले २०७६ साउन ७ गतेको निर्णय अनुसार उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको थियो ।
उक्त कम्पनीले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटेपछि समृद्धि फाइनान्सको नामबाट कारोबार शुरु गरेको हो ।
राष्ट्र बैंकले फाइनान्सलाई समानुपातिक चुक्ता पुँजी कायम गर्न नसकेको र पुँजी कोष ऋणात्मक भएको भन्दै समस्याग्रस्त घोषणा गरेको थियो ।
त्योबेला समृद्धि फाइनान्स कम्पनीको पुँजी कोष ४२.०६ प्रतिशतले ऋणात्मक थियो । अहिले कम्पनीको पुँजी कोष धनात्मक छ ।
खारब कर्जा अनुपात पनि ५ प्रतिशतभन्दा तल झार्न सफल भएको छ ।
हाल समृद्धि फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५९ लाख रुपैयाँ छ । कम्पनीले माघ महिनासम्ममा एक अर्ब ५९ करोड ८४ लाख निक्षेप संकलन गरेको छ ।
फाइनान्सले १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । समृद्धिले केन्द्रीय कार्यालयसहित ६ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।
यस्तै, राष्ट्र बैंकबाट समस्याग्रस्त मुक्त भएको अर्को फाइनान्स हो बेष्ट फाइनान्स । राष्ट्र बैंकले २०६८ सालमा वेष्ट फाइनान्सलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो ।
संस्थाको पुँजी कोष १६.८३ प्रतिशतले ऋणात्मक थियो । बेष्ट फाइनान्सको पुँजी कोष धनात्मक छ ।
राष्ट्र बैंकले उक्त कम्पनीलाई २०७३ मंसिर २७ गतेदेखि समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाउने निर्णय गरेको थियो ।
सो कम्पनीले समस्याग्रस्तबाट मुक्त भएपछि नाम परिवर्तन गरेर बेष्ट फाइनान्सको रुपमा कारोबार शुरु गरेको थियो ।
बेष्ट फाइनान्सको चुक्ता पुँजी ८२ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीले चालु आवको माघ महिनासम्ममा तीन अर्ब २१ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । भने यस अवधिमा कम्पनीले १३ करोड रुपैयाँ नाफा कमाएको छ ।
फाइनान्सले १५ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।
पुँजी पुर्याउन हकप्रद
समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट मुक्त भएका फाइनान्सले पुँजी वृद्धिका लागि हकप्रदको बाटो रोजेका छन्
समृद्धि फाइनान्स र नेपाल फाइनान्सले हकप्रद निष्कासनको बाटो रोजेका हुन् । समृद्धि फाइनान्सले हाल चुक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको २ः१ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गरेको थियो ।
हकप्रद निष्काशनपछि समृद्धिको चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्ने छ ।
यस्तै, नेपाल फाइनान्सले पनि फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
हकप्रद निष्कासन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।
हकप्रद निष्कासनका लागि फाइनान्सले धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डबाट भने स्वीकृत हुन बाँकी छ ।
SHARE YOUR THOUGHTS