निर्वाचन घोषणापछि पनि घटेको सेयर बजारको लय कहिले फर्केला ? « Eglish Khabarhub

निर्वाचन घोषणापछि पनि घटेको सेयर बजारको लय कहिले फर्केला ?



काठमाडौं । निर्वाचन घोषणाले सेयर बजार हरियो हुन्छ भन्ने सेयर लगानीकर्ताका लागि यसपटक भने निराश बनाएको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि नेप्से परिसूचक ओरालो लागेसँगै लगानीकर्ता निराश बनेका हुन् ।

निर्वाचन आउन ४५ दिन रहँदासम्म पनि सेयर बजारमा हरियाली छाउने संकेत छैन ।

चैत लागेयता मात्रै परिसूचक १२३.३९ अंकले घटिसकेको छ । चैत १ गते २६५०.९७ अंकमा रहेको बजार मंगलबारको कारोबार सकिँदासम्म २५२७.५८ बिन्दुमा झरिसकेको छ ।

परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटिरहेको छ । जसले लगानीकर्तालाई निराश बनाएको छ । तर जानकारहरु भने बजारमा तुरुन्तै सुधार नदेखिए पनि केही समयपछि बजार बढ्ने तर्क गर्छन् ।

इतिहासिक विन्दु छोइरहँदा धितोपत्र बोर्ड, राष्ट्र बैंकका कारण बजार घटेको भन्ने इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनीयार वैशाखमा ब्याजदर बढ्ने तथा तलरता अभाव नहुने हो भने बजार पक्कै बढ्ने दाबी गर्छन् ।

तरलतामा केही सहजता आएपछि बजारले नयाँ गति लिने उनको बुझाइ छ ।

९ महिनाअघि अर्थात् असार १ गते धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि बजारप्रति गिरेको लगानीकर्ताको मनोबललाई मौद्रिक नीतिले पनि सहयोग गरेको रौनियारको दाबी छ ।

‘धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गर्यो । त्यसले नियामक निकायको बजारप्रतिको बुझाइ कस्तो छ भन्ने थाहा पाएर लगानीकर्ता त्रसित भए,’ उनले भने, ‘जसको असर अहिले पनि छ । नियामक निकायले कुन दिन के गर्ने हो, लगानीकर्ता निकै त्रासमा छन् । त्यो बेलाबाट नियामक निकाय र बजारप्रतिको लगानीकर्ताको बुझाइ अझै बलियो हुन सकेको छैन । जसको असर बजारमा कायमै छ ।’

धितोपत्र बोर्डको नीतिका कारण त्रसित बनेका लगानीकर्ता राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले झनै त्रसित बनेको र त्यसको असर अझै पनि कायमै रहेको रौनियारको भनाइ छ ।

‘मौद्रिक नीतिले पुँजी–कर्जा–निक्षेप अनुपातलाई हटाएर कर्जा–निक्षेप अनुपात मात्रै राख्ने व्यवस्था गर्यो, त्यसले गर्दा बैंकमा पैसा अभाव हुँदै गयो, ब्याज पनि बढ्यो,’ उनले भने, ‘मौद्रिक नीतिमा नै ४÷१२ को नीतिपछि लिँदा बजारप्रति लगानीकर्ताको मनोबल गिर्यो, जसको असर अहिले पनि कायमै छ ।’

सोही समयमा बैंकले माइक्रोफाइनान्सले सेयर किन्न नपाउने नीति राष्ट्र बैंकले लिएको, सूचीकृत संस्थाको पहिलो र दोस्रो त्रैमासको रिपोर्टले पनि लगानीकर्ता आकर्षित गर्न नसकेका कारण लगानीकर्ता बजारप्रति सकारात्मक बन्न नसकेको असर अहिले दैनिक गिरावट आएको रौनियारको तर्क छ ।

नेपालको सेयर बजार सेन्सेटिभ भएको जान्दै जान्दै पनि नियामक निकाय, राष्ट्र बैंकले लिने अपरिपक्व निर्णयले गर्दा लगानीकर्ताको करोडौको सम्पत्ति गुमेको रौनियारको तर्क छ ।

‘लगानीकर्ताको मनोलब अझै कमजोर नै छ । निर्वाचनले केही बलियो बनाउँछ कि भन्ने अपेक्षा पनि छ,’ उनले भने, ‘नियामक निकयाले अनावश्यक बजारलाई हस्तक्षेप गर्नु भएन ।’

सरकारले वैशाखमा स्थानीय तहको निर्वाचन सरकारले घोषणा गरेको भएपनि त्यो समयमा निर्वाचन हुने हो की होइन भन्ने अन्यौलमा लगानीकर्ता परेका कारण बजार बढ्न नसकेको रौनियको भनाइ छ ।

अहिले बीमा समितिले जीवन, निर्जीवन बीमा कम्पनीको पुँजी बढाउने निर्णय गरेको छ । यसलाई पनि बजारको बढोत्तरीसँग नहेरिएको भने होइन । तै पनि यसले बजारलाई आकर्षित बनाउन सकेको छैन ।

‘बीमा कम्पनीको पुँजी बढाउने कुरा नयाँ होइन, समितिका फत्तबहादुर केसी हुँदादेखि नै यसको चर्चा भएको थियो,’ उनले भने, ‘अहिले बीमा समितिले पुँजी बढाउने नीति लिएको छ । लामो समय चर्चा भयो, पुँजी बढला कि नबढ्ला भन्दा भन्दै बढ्ने भयो । तर यसमा पनि विभिन्न अन्यौतलाका कारण बढ्न सकेको छैन ।’

बैंकको ब्याज नबढेको बेला बजार १०० अंकले बढेको स्मरण गराउँदै रौनियारले नियामक निकायले बनाउने नीति स्थिर हुने हो भने सेयर बजारले राम्रो लय लिने दाबी गर्छन ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पैसा अभाव भएका कारण बजारमा गिरावट आएको दाबी गरिन् ।
‘बैंकका लगानीयोग्य रकम (तरलता) अभाव छ,’ उनले भनिन्, ‘बैंकमा पैसा नभएसम्म बजारले गति लिने सम्भावना छैन । पैसा नै नभएपछि बजार बढ्दैन, सरकारले पुँजीगत खर्च बढाउने हो भने पनि केही सहज हुने थियो ।’

बजारमा तरलता अभाव हुने र केही व्यक्तिले पैसा पार्किङ गरेर राखेको कारण सेयर बजारमा असर परेको उनको तर्क छ ।

पार्किङ गरेर राखेको पैसा बाहिर आउने हो भने बजारले गति लिने पोखरेलको भनाइ छ । सेयर बजारलाई निर्वाचनको वर्ष शुभ हुने भएपनि तरलता अभावको कारण अहिले अवस्था सहज नभएको पोखरेलको बुझाइ छ । यस्तै नियामक निकायले समय समयमा लिने नीतिका कारण पनि बजारमा सकारात्मक बन्न नसकेको उनको बुझाइ छ ।

यता सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि विभिन्न कारण लगानीकर्ताको मनोबल खुम्चिँदा बजार उकालो लाग्न नसकेको बताउँछन् ।

अहिले सेयर बजारका लागि कुनै पनि नयाँ कुरा नआएको, हरेक स्थानीय तहसम्म बजार पुर्याउने भनेपनि त्यो हुन नसकेको, ब्रोकरको दायरा बढ्न नसकेका कारण पनि बजार उकालो लाग्न नसकेको उनको भनाइ छ । यस्ता विषयले कुनै न कुनै रुपमा बजारमा असर पार्ने गरेको फुलेलको तर्क छ ।

केन्द्रीय बैंकले बैंैंक तथा वित्तीय संस्थालाई लगाएको लगामका कारण बजारले गति लिन नसकेको उनको बुझाइ छ ।

‘बैंक तथा वित्तीय सस्थालाई लगाम लगाएका कारण बजारले गति लिन नसकेको हो,’ उनले भन, ‘राष्ट्र बैंकले लगानीकर्तालाई सिधै लगाम लगाएको होइन, बैंक तथा वित्तीय संस्थालाई लगाएको लगामको असर लगानीकर्तामा परेको छ । अहिले आफूसँग भएको सम्पत्ति राखेर पनि लोन लिन सक्ने अवस्था छैन ।’

अर्थमन्त्री जनार्दन शर्माले पनि साना लगानीकर्ताको हितमा काम गर्छु भन्ने गरेको तर कुनै पनि काम गर्न नसक्दा बजारले सधै प्यानिक बनिरहेको उनले दाबी गरे ।

बजारमा तरलता सहज हुनासाथ इन्डेक्सले नयाँ गति लिने र आगामी दिनमा लगानीकर्ता निरास हुनुनपर्ने उनको बुझाइ छ । अहिलेको समयमा लगानीकर्ताले धैर्यता गुमाउन नहुने फुलेलले बताए ।

Publish on: